Wednesday, June 15, 2011

नोकिया र एप्पलबीचको विवाद सल्टियो, रकम तिर्न एप्पल तयार - onlinekhabar

अमेरिकी अन्तराष्ट्रिय ब्यापार आयोग -आइटीसी) मा दायर गरिएको प्याटेन्ट विवादसम्बन्धि मुद्दा फिर्ता लिने निर्णयसँगै नोकिया र एप्पलबीचको कानुनी लडाई अन्त्य भएको छ ।  विश्वकै सबैभन्दा बढी स्मार्टफोन उत्पादक कम्पनी नोकियाले मंगलबार बिज्ञप्ती जारी गर्दै एप्पलसँग गत दुई वर्षदेखिको प्याटेन्ट विवाद सुल्झाउने विषयमा सहमती भएको जनाएको छ । सहमतीअनुसार एप्पल कम्पनीले लाइसेन्स प्रयोग गरेबापत नोकियालाई एकमुष्ट रकम र प्रत्येक वर्ष रोयल्टी तिर्ने भएको छ । यसबाट नोकियाको चौमासिक आम्दानीमा बृद्वि हुने निश्चित छ । ‘सहमतीमा दुई ठुला कम्पनीले आइटीसीमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेकाले प्याटेन्टसम्बन्धि कानुनी द्वन्द्व समाप्त हुनेछ,’ बिज्ञप्तीमा भनिएको छ । सहमतीको पूर्ण विवरण भने अझै सार्वजनिक भैसकेको छैन ।  २००९ मा नोकियाले दश ताररहित प्रविधिसम्बन्धि प्याटेन्ट अधिकारमा अतिक्रमण गरेको भन्दै एप्पलविरुद्व क्षतिपुर्तिको मागसहित मुद्दा हालेको थियो ।  गत २० वर्षमा १० हजार प्याटेन्ट पोर्टफोलियो तयार गर्न गरिएको अनुसन्धान र सफ्टवयर विकासमा ४३ अरब युरो लगानी भैसकेको नोकियाले जनाएको छ । नयाँ सहमतीले नोकियाको आर्थिक स्वास्थ्यमा सकारात्मक असर पार्ने उल्लेख छ । मोटो रकम तिर्नु पर्ने बाध्यात्मक स्थिती आए पनि सहमतीले एप्पलका लगानीकर्ताहरुलाई सकारात्मक परिणाम दिने कानुनविदहरुले प्रतिक्रिया दिएका छन् । ‘प्रतिस्पर्धात्मक दृष्टिकोणबाट हेर्दा एप्पललाई धेरै घाटा हुदैन,’ कानुनविद फ्लोरियन मुलरले बताए, ‘एप्पललाई नोकियाको प्रविधि प्रयोग गरे वापत फाइदा हुने बढी सम्भावना छ ।’  लामो समयदेखि स्मार्टफोन उत्पादनमा नोकियाले विश्व बजारमा अधिपत्य जमाउदै आएको छ । यद्यपी हालै गरिएको जापानी बजार विश्लेषणअनुसार सामसुङ र एप्पलले नोकियालाई यस वर्षको दोश्रो चौमासिक अवधि अन्त्यसम्ममा उछिन्ने अनुमान गरिएको छ । गत वर्ष एप्पलले आम्दानीका आधारमा नोकियालाई निकै पछाडी पार्दै विश्वकै सबैभन्दा ठुलो मोबाइल फोन उत्पादक बन्न सफल भएको थियो ।