Thursday, June 9, 2011

रामदेवविरुद्ध राजद्रोहको अभियोगमा मुद्दा दायर - nagariknews

आज उनले सम्पत्ति सार्वजनिक गर्ने-
पटना, जेठ २६ (एजेन्सी)- सशस्त्र मिलिसिया गठन गर्ने अभिव्यक्ति दिएको भन्दै सत्तारुढ कङ्ग्रेसका एक नेताले आज बिहारको अदालतमा योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध राजद्रोहको अभियोगमा मुद्दा दर्ता गरेका छन्।  विनयकुमार सिंहले पटना सिभिल कोर्टमा मुद्दा दर्ता गरेका हुन्।

रामदेवले बुधबार ११ हजार जनाको सशस्त्र फौज निर्माण गर्ने घोषणा गरेका थिए। ४० वर्षमुनिका पुरुष-महिला रहने संगठनका सदस्यलाई हतियार चलाउने तालिम दिइने उनले बताएका थिए। आवश्यक परे ११ लाखको फौजी संगठन तयार पार्ने उनको भनाइ थियो। उनको भनाई गैरकानुनी रहेको जिकिर रिटमा गरिएको छ।
रामदेवले बिहीबार भने आफ्नो भनाईको प्रतिरक्षा गरेका छन्। उनले माओवादी वा आतंकवादीलाई प्रशिक्षण दिन लागेको नभएर राष्ट्रवादीहरुलाई प्रशिक्षण दिन लागेको बताए। 'प्रयोग गरिएका शब्दको सन्दर्भ बुझ्नुपर्छ,' रामदेवले भने, 'मैले यस्तो फौज बनाउने कुरा गरेको हुँ जसले कसैलाई पिट्ने छैन र कसैबाट पिटाइ पनि खाने छैन। सौर्य बारे कुरा गर्दा के हानी वा गल्ती हुन्छ ?'

सम्पति सार्वजनिक गर्दै-
आफू मातहतका फर्म र ट्रस्टको पारदर्शितामा सवाल उठ्न थालेपछि रामदेवले आज आफ्नो सम्पति सार्वजनिक गर्ने भएका छन्। उनको ११०० करोडको साम्राज्य अहिले आयकर विभागको अनुसन्धानमा परेको छ। ३० भन्दा बढी कम्पनी उनी मातहत छ। अधिकांश कम्पनीका निर्देशक आचार्य बालकृष्ण छन्।

बालकृष्णले पतन्जली योगपिठ र आफ्ना सबै कम्पनीहरुको आर्थिक विवरण बिहीबार सार्वजनिक गर्ने र त्यसलाई आफूहरुको वेबसाइटमा पनि अपलोड गर्ने बताए।