Thursday, June 2, 2011

रामदेवको भोक हडताल भारतीय सरकारका लागि टाउको दुखाई ! - nagariknews

काठमाडौं, जेठ १९ (एजेन्सीहरु)- विश्वप्रख्यात् योगस्वामी रामदेवले शनिबारदेखि गर्ने भोक हड्ताल अहिले भारतीय सरकारका लागि ठूलो टाउको दुखाई भएको छ। भ्रष्टाचारविरुद्ध कडा कानुन ल्याउनुपर्ने र विदेशमा अवैधतवरले राखिएका भारतीयको पैसा फिर्ता गर्नुपर्ने प्रमुख माग रामदेवको छ।
यी कार्य गराउन दबाब दिनका लागि रामदेवले भोक हड्ताल घोषणा गरेका हुन। जसमा करिब १ करोड मानिस सहभागी हुने दाबी आयोजकको छ। प्रत्येक दिन १ लाख मानिसले भोक हड्तालमा सहभागिता जनाउने जानकारी पनि आयोजकले दिएका छन्। खासगरी साधु सन्तको यो हड्तालमा प्रभावकारी समर्थन लिन रामदेव सफल भएका छन्।

अन्ना हजारेले केही समयअघि भोक हड्ताल गरेर सरकारलाई जन लोकपाल नामक भ्रष्टाचार विरोधी विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्न बाध्य पारेका थिए। जसमा भ्रष्टाचार गर्ने प्रधान मन्त्री र प्रधान न्यायाधीशमाथि पनि छानबिन हुने प्रावधान रहने उल्लेख छ। तर रामदेवले भने त्यसप्रति विरोध जनाएका छन्। यही कारण उद्देश्य उही हुँदाहुँदै पनि यो विषयमा रामदेव अन्नासँग असहमत रहेका छन्।

रामदेवको भनाई छ कि प्रधान मन्त्री र प्रधान न्यायाधीशले नै भ्रष्टाचार गर्छन् भनेर सोच्ने हो र उनीहरुमाथि कर्मचारीले छानबिन गर्ने हो भने यो मुलुकमा कोही पनि चोखो रहने विश्वास गर्न कठिन हुनेछ। यही तर्कका आधारमा रामदेवले यी दुई व्यक्ति १ अर्ब २१ करोड मानिसका नेता भएकाले उनीहरु भ्रष्टाचार ऐनभन्दा माथि हुनुपर्छ।

त्यसो त प्रधान मन्त्री मनमोहन सिंहले भोक हड्ताल फिर्ताका लागि रामदेवलाई आग्रह नगरेका पनि होइनन् तर उनले प्रधान मन्त्रीको आग्रह अस्वीकार गरेपछि सरकार थप दबाबमा परेको छ। भयङ्कर सहभागिता हुने र सन्त तथा धार्मिक जमातको ब्यापक समर्थन हुने भएकाले सरकार रामदेवको भोक हड्तालसँग तर्सिएको हो। उसै त विभिन्न भ्रष्टाचार काण्डका कारण चर्को आलोचना खेपिरहेको मनमोहन सरकार यो दबाबमूलक कार्यक्रमपछि थप आलोचनाको सामना गर्न तयार हुनुपर्ने देखिएको छ।

औषधी र योग सिकाईबाट रामदेवले नामसँगै थुप्रै धनसमेत कमाएका छन्। अहिले रामदेवको स्वामित्वमा करिब ११ अर्बको सम्पत्ति रहेको अनुमान छ। दैनिक ३ करोड मानिसले उनको योग प्रत्यक्ष/अप्रत्यक्ष हेर्ने गरेको अनुमान छ। त्यसैगरी उनको र उनी समर्थित विद्वानहरुको प्रवचन सुनेर लठ्ठै पर्नेहरु पनि करोडौं छन्। उनको यही लोकप्रियताका करण उनले गर्न लागेको हड्तालपछि सरकार अत्तालिन लागेको हो।

रामदेवको भोक हड्तालमा भाग लिन निकै टाढाबाट समेत मानिसहरु ओइरिइरहेका छन्। भोक हड्तालमा आउनेलाई खानाको व्यवस्था गर्नु नपरेकाले उनलाई केही सहज भएको छ भने पानी र बस्ने स्थान (पाल) को व्यवस्था भने मिलाइसकिएको छ।

प्रधान मन्त्रीले समेत रामदेवको यो कार्यक्रम व्यक्तिगत नभएको र यसमा आफूलगायत् सबैको समर्थन भएको बताइसकेका छन्। विपक्षी दलहरुले त सरकारविरुद्ध हुने कार्यक्रमलाई सघाउने नै भइहाले। त्यसैले पनि साधुहरुको उल्लेख्य सहभागिता र समर्थन हुने रामदेवको भोक हड्तालले विश्वव्यापी ध्यान खिच्नेमा शङ्का छैन। सर्वसाधारणको बढी सहभागिता यो कार्यक्रमको अर्को विशेषता हुनेछ। त्यसैले यी विभिन्न कारणले सरकारलाई रामदेवको यो दबाबमूलक कार्यक्रम निकै महङ्गो सावित हुने निश्चित छ।

भोक हड्ताल दिल्लीको रामलीला मैदानमा हुनेछ। जहाँ बस्नेका लागि पाल र पिउने पानीका लागि बोरिङको व्यवस्था भइसकेको छ।