

नेपालका पचहत्तरै जिल्लाका सिडीओहरु (आफ्नै मन्त्रालयका सहकर्मीहरु न परे!) तथा अन्य सम्बन्धित कार्यालयका हाकिममार्फत ‘पुस सेल’ गरेरै उनले रेकर्ड तोड्ने जमर्को गरेका रहेछन्। यथार्थ बल्ल खुल्दैछ। ढकालको चरित्र थाहा पाउँदा अहिले मलाई उनका सबै पुस्तकप्रति मोह हुन छाडेको छ।
‘रातो पासपोर्ट’को भ्रष्टाचार काण्डमासमेत ढकालको संलग्नता रहेको प्रसंगले झनै वितृष्णा जागेको छ। उनी कानुनको नजरमा एक फरार अभियुक्त हुन्। उनीसमेत संलग्न रहेको भनी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। मुद्दामा संलग्न दुई सभासद र अध्यागमनका एक कर्मचारी धरौटीमा छुटिसकेका छन्। तर अध्यागमनका हाकिम ढकाल भने फरार छन्। भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित नभए अभियोग स्वीकारेको ठहर्छ। उनको सरकारी पदसमेत अहिले निलम्बनमा छ।

बरु अब उनले ‘मेची पनि काली पनि’ को सट्टामा ‘साहित्य पनि भ्रष्टाचार पनि’ भन्ने एउटा नयाँ पुस्तक लेख्दा सुहाउला। मलाई लाग्छ, उनको त्यस कृतिले नेपालमा पुस्तक बिक्रीको थप नयाँ रेकर्ड बनाउने निश्चित छ। त्यसपछि त झन् नेपाली छापामा ‘रातो पासपोर्ट सभासद्’हरुबाटै स्पोन्सर गरिएका ठूल्ठूला विज्ञापनले पाना भरिनेछन्। रेकर्डका भोका ढकाललाई यसभन्दा ‘महान् रेकर्ड’को अर्को अवसर कमै आउला!
नेपालमा पदमा बस्दा छिट्टै ‘माथि’ पुग्ने साहित्यकार र कलाकार थुप्रै छन्, केही समय खुब चम्कन्छन्, अनि ‘रिटायर्ड’ भएपछि सदाका लागि सेलाउँछन्। पदमा बस्दा नै उनीहरु थुप्रै सम्मान, पुरस्कार लत्याउन पनि सफल हुन्छन्। तर तिनका कृतिहरुले यथार्थमा नेपाली आमपाठकको मन जितेकै हुँदैनन्। कतिपय पत्रपत्रिकाहरु पनि त्यस्ता पदवाला व्यक्तिको महिमागान गर्न निकै आतुर देखिन्छन्। त्यसतर्फ सचेत रहन म सबैलाई आग्रह गर्न चाहन्छु।
सञ्चिता नेपाली ‘शान्ति’
बुटवल, हालः बुद्धनगर, काठमाडौँ



