Sunday, June 5, 2011

रामदेवलाई प्रहरी लगाएर हटाइयो - onlinekhabar

२२ जेठ, काठमाडौँ । भ्रष्टाचार र कालोधन विरुद्ध आमरण अनसनमा बसेका चर्चित भारतीय योग गुरु बाबा रामदेवलाई त्यहाँको सरकारले प्रहरी लगाएर उक्त स्थानबाट हटाएको छ ।
आफ्ना हजारौं शुभचिन्तकहरुका साथ राजधानी नयाँदिल्लीस्थित रामलिला मैदानमा हिजोदेखि आमरण अनसन थालेका रामदेवलाई आज बिहान करिब पौने दुई बजेतिर प्रहरीले बल प्रयोग गरी सो स्थानबाट हटाएको हो ।
सरकारको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै रामदेव भ्रष्टाचार विरुद्ध अनसनमा बसेका थिए । अनसन सुरु गर्नुअघि हिजो आफ्ना शुभ चिन्तक र उत्तराधिकारीहरुलाई सम्बोधन गर्दै रामदेवले सरकारले विदेशी बैंकमा लुकाएर राखिएका कालो धन स्वदेश नफर्काएसम्म अनसन जारी रहने घोषणा गरेका थिए ।
रामदेवका अनुयायीहरुले आफूहरुलार्य धर्ना स्थालबाट लाखापाखा लगाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै अपमानपूर्ण व्यवहार गरेको बताएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्ली प्रहरीका कमिस्नर विके गुप्ताले बाबा रामदेवलाई नियन्त्रणमा लिइएको नभई सुरक्षित स्थानमा सारिएको प्रतिक्रिया दिएका छन् ।
रामदेवलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र उनका समर्थकबीच केहीबेर झडपसमेत भएको थियो । झडपका क्रममा रामदेवका झण्डै पचास जना समर्थक घाइते भएका छन् ।
पक्राउ परेपछि केही समय स्थानीय प्रहरी चौकीमा राखिएका रामदेवलाई प्रहरीले हरिद्वार पुर्‍याएर छोडिदिएको छ । शान्तिपूर्ण अनसन भाँडेका कारण भारतभर सरकारविरोधी भावना फैलिएको छ ।
यसैबीच प्रमुख विपक्षी भारतीय जनता दलले भ्रष्टाचारविरोधी अनसन तोडेकोविरोधमा आज सााझ सात बजेदेखि मुलुकभर २४ घण्टे धर्ना दिने बताएको छ ।
सो पार्टीका अध्यक्ष विनित गडकरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाको निन्दा गरेका छन् । पत्रकार सम्मेलनका उनले घटनाका लागि राष्ट्रपति प्रतिभावेदी पाटिल र प्रधानमन्त्री मनमोहन सिंहले माफी माग्नुपर्ने बताए ।
यसअघि प्रधानमन्त्री मनमोहन सिंहले मागप्रति सरकार गम्भीर रहेको भन्दै अनसन बसेर मुलुकको छविमा आँच आउने काम नर्गन रामदेवलाई आग्रह गरेका थिए ।
भारत विश्वका २ सय मध्ये भ्रष्टारचार हुने मुलुकको ८७ औं स्थानमा छ ।