Thursday, June 9, 2011

नेपाली स्वाभिमानको खिल्ली उडाएवापत् ग्यालेक्सी स्कूललाई ५ हजार जरिवाना - mysansar

हाम्रो राष्ट्रिय पंछी मयुर,
हाम्रो राष्ट्रिय जनावर बाघ र,
हाम्रो राष्ट्रिय फूल कमल।
सहरका सम्भ्रान्तहरुका सन्तान पढ्ने ग्यालेक्सी स्कूलको एक कक्षामा पढ्ने नेपाली बालकको मस्तिष्कमा घुसाउने गरी यस्तो पढाएवापत् २४ सय विद्यार्थी भएको भन्ने राजधानीको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूललाई सरकारले बल्ल कारबाही गरेको छ।
कारबाही जिल्ला शिक्षा कार्यालयमार्फत् भएको छ। उसले ग्यालेक्सीलाई स्वीकृति बिना भारतीय पाठ्यपुस्तक पढाएकोमा दोषी ठहर गरेको छ।
अनि कारबाही ? पाँच हजार रुपैयाँ जरिवाना !
ग्यालेक्सीले विद्यार्थीबाट उठाउने लाखौँ रुपैयाँबाट पाँच हजार रुपैयाँ जरिवानाको रुपमा तिर्नुपर्नेछ। त्यसपछि ग्यालेक्सी यो दोषबाट कानुनी रुपमा मुक्त हुनेछ।


यो स्कूलले कक्षा एककै अर्को विषय गणितमा पनि नेपाली विषयवस्तुहरु समावेश गरेको थिएन। ‘पैसे’ भनेर नेपालीलाई नोट चिनाइएको थियो। रुपये भनेर गान्धीको टाउको भएको आईसी चिनाइएको थियो। र, त्यसैलाइ जोडा मिलाउ भनेर अभ्यास दिइरहेको थियो।
स्कूलहरुले कुनै पनि किताब कक्षामा पढाउनुअघि पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिनुपर्छ। ग्यालेक्सीले त्यसो गरेको थिएन।
यससम्बन्धी समाचार मिडियामा खासगरी न्युज२४ टिभीमा आएपछि शिक्षा मन्त्रालयले पाँच सदस्यीय स्वीकृत पाठ्यपुस्तक कार्यान्वयन समिति गठन गरेको थियो। यो समितिले अनुगमनको क्रममा ग्यालेक्सी स्कूलाई दोषी ठहर गरेपछि सो रकम जरिवाना गरिएको हो।
सम्बन्धित ब्लगहरु
ग्यालेक्सी पब्लिक स्कुलकी अध्यक्ष गीता राणाको भनाइ बेग्लै छ र चित्त दुख्दो छ। भन्छिन्- नेपाली किताबमा विषयवस्तु नै कम छन् अनि इन्डियन किताब पढाउनु परेन? यो कस्तो तर्क हो ? के यस्तो स्वभाविक छुट छ यो गणतन्त्रमा? मस्तिष्कमा अमीट छापको सुरुवात हो कक्षा एक। तर, तिनलाई नेपाली पहिचानबारे गलत ज्ञान दिइयो भने त्यसको असर कति भयानक हुन्छ होला? अनि यो ग्यालेक्सी पब्लिक स्कूल के राष्ट्रिय चिन्हहरु जान्दैन? नत्र, के सिकाएको त्यस्तो? (पूरा पढ्न क्लिक गर्नुस् नेपाली स्वाभिमानको खिल्ली उडाउने स्कूल)
गीता मिस, तपाईको प्रतिष्ठित स्कुलको सम्मानमा चोट नपुगोस् भन्नेमा चिन्तित हुनुहुन्छ भने सरकारी नियम र कानुनलाई पनि सम्मान गर्नुस् र त्यो तपाइँको टाइम टू राइट भन्ने पुस्तकलाई कोर्सबाट हटाइएको जानकारी दिइदिनुस्। अनि त्यसअघि पढाइएका बालबालिकाहरु जो तपाइँको त्यही स्कुलमा छन् तिनीहरुसामू माफी मागेर फेरि एकपटक तिनीहरुलाई पढाइदिनुस् कि नेपालको राष्ट्रिय फूल लालीगुरास हो, नेपालको राष्ट्रिय जनावर गाई हो र नेपालको राष्ट्रिय पंक्षी डाँफे हो।