Thursday, June 9, 2011

मध्यरातमा पत्रकारको गुहार..गुहार.. - nagariknews


नारायण वाग्ले-

पेशीमा ल्याइएका बन्दी अभिशेक गिरीमाथि आक्रमण गर्न युथफोर्सका कार्यकर्ताहरू ठूलो संख्यामा गत बुधबार मध्यान्ह मोरङ जिल्ला अदालत परिसरभित्र प्रवेश गरे। निजी भ्यानभित्र प्रहरी नियन्त्रणमा रहेका गिरीमाथि ती एमाले युवा कार्यकर्ताहरूले गरेको आक्रमण थेग्न प्रहरीले ११ राउण्ड हवाइ फायर गर्नुपर्‍यो। भिडन्तमा गिरीसहित प्रहरी र केही आक्रमणकारी घाइते भए। जिल्ला र पुनरावेदन अदालत तथा सरकारी वकिलको कार्यालय रहेको परिसर युद्ध मैदान बन्यो।
  मोटरसाइकलको ताँती लगाएर आक्रमण गर्न पठाउने युथफोर्स, मोरङका अध्यक्ष पर्शुराम बस्नेत भने त्यतिबेला आफ्नो कार्यालयमा सर्वपक्षीय बैठक आयोजना गर्दै थिए जसमा प्रहरी निरीक्षक पनि बोलाइएका थिए। अदालतभित्र आक्रमणको अपजस आफूले लिन नपरोस् भन्ने उनको उद्धेश्य थियो।
अदालतमा गोली चलेको थाहा पाएर हाम्रा संवाददाता खिलानाथ ढकाल स्थलगत रिपोर्टिङ गर्न पुगे। भोलिपल्ट उनको नाममा प्रकाशित समाचारमा बस्नेत र गिरीको आपराधिक पृष्ठभूमिसहितको सम्बन्ध उल्लेख थियो। विराटनगरमा ठेक्कापट्टा दिलाउने, विभिन्न स्रोतबाट रकम असुली गर्ने, राजनीतिक नेता-प्रहरी-प्रशासनसँग मिलेमतो र संरक्षणबाट हुर्किँदै एक दसकभित्रै सर्वाधिक सम्पन्न र शक्तिशालीमध्ये बन्न पुगेको ठानिएका बस्नेत समाचारबाट आक्रोशित हुुन पुगे।
युथफोर्स गठन भएदेखि मोरङको नेतृत्व गर्दै आएका बस्नेतले आइतबार चौथौ वार्षिकोत्सव मनाउन वीरेन्द्र सभागृहमा केन्द्रीय एमाले नेता केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउन खोजेका थिए। ओली आउन नसकेपछि पार्टी पोलिटब्युरो सदस्य खगराज अधिकारीको आतिथ्यतामा उनले देशका अन्य ठाउँमा सायद नमनाइएको वार्षिकोत्सव सम्पन्न गरे अनि ती केन्द्रीय नेताका हातबाट दोसल्ला ओढे। केही बेरअघि एमाले पार्टी कार्यालयमा पुगेका संवाददाता ढकाललाई उनले आफ्नो असन्तोष प्रकट गर्दै अदालत-आक्रमण घटनाको समाचारमा आफ्नो र अभियुक्त गिरीबीचको सम्बन्धको प्रसंग खण्डन गर्न दबाव दिए। 'अभिषेकसँगको मेरो सम्बन्ध पुष्टि गर्न सक्नुहुन्छ?' औपचारिकरुपमा विनम्रभाषी र शिष्ट व्यक्तित्वको पहिचान बनाएका बस्नेतले सोधे।
'सक्छु, नत्र किन लेख्थेँ?' ढकालले जवाफ दिए।
'खण्डन गर्नुहोस्,' उनले जोड दिए।
'किन गर्ने? यत्रो अपराध गर्नुभएको छ तपाईंले, अदालतभित्रै मान्छे पठाएर कानुनी दायरामा भएको कैदीलाई किन मार्न खोज्नुभयो?'
'अपराधी छुट्दैछ भन्ने थाहा पाएर दबाब दिन गएका हुन्,' बस्नेतले भने।
'दबाव पनि त्यस्तो हुन्छ?' ढकालले भने।
'मलाई चिन्नुहुन्छ?' बस्नेतले सोधे।
'चिन्छु,'
'के म गुण्डाजस्तो लाग्छ?''
'त्यो त म के भर्नुँ?'
'गुण्डाजस्तो सम्भि्कनुहुन्छ भने त्यस्तै व्यवहार गरूँला,' बस्नेतले भने।
त्यसपछि संवाददाता ढकालको मनमा चिसो पस्यो। उनले हामीलाई काठमाडौंमा सम्पर्क गरेर आफूमाथि धम्की आएको सुनाए। तैपनि उनले पठाएको बस्नेत-गिरी सम्बन्धबारेको फलोअप समाचार हामी छाप्न सम्पादन गर्दै थियौं। उनी राति डेरा फर्केपछि बस्नेतका घनिष्ठ सहयोगी युथफोर्सका नगर इञ्चार्ज रोहित कोइरालाले धेरैपल्ट टेलिफोन गरी केही बेर अहिल्यै भेटिहाल्न जिकीर गरे। आफूले चिनेका र भेट्दा राम्रो व्यवहार गर्ने भएकाले दाइ भन्ने गरेको व्यक्तिले धेरै जोड गर्दा एकछिन भेटिहाल्छु भनेर उनी मोटर साइकलमा ट्राफिकचोकतिर निस्किए। वडा प्रहरी कार्यालयका इन्स्पेक्टर दुर्गा रेग्मीले देखेर रोक्दै सोधे, कहाँ जान निस्केको भाइ?
'रोहित दाइले एकछिन भेट्ने भन्नुभएको छ,' ढकालले भने।
'यस्तो राति, त्यस्तो जँड्याहाले बोलाउँदा नि किन जाने? भोलि भेट्छु भन न,' रेग्मीले भने।
एकैछिन भेट्ने हो भन्दै उनी डरभर नमानी तयार भए, इन्स्पेक्टरले धेरै जोड लगाए। हुनेहुनामी हुने बेला त्यस्तै आत्मबल आउने रहेछ भन्ने थाहा पाउन उनलाई समय लाग्दै थियो। त्यहीबेला इन्स्पेक्टरले आसपासको पान दोकानमा बस्नेतका अर्का दाहिने हात मनोज राईलाई देखे। इन्स्पेक्टरले रक्सीको गन्ध आइरहेको राईछेउ पुगेर सोधे, कता निस्केको?
'पान खान सर,'
'ल गइहाल्,' उनले भने।
इन्स्पेक्टर रेग्मीलाई भने कताकता अस्वाभाविक लागिरहेको हुनुपर्छ, उनले ढकाललाई फेरि सम्झाए, 'अहिले भेट्न नजाऊ।' कोइरालाको फेरि फोन आयो, एकैछिन भेटौं भन्दै। इन्स्पेक्टर आफ्नो कार्यालयअगाडि सडकमा उभिए भन्दा ७०-८० मिटर पर भेट्न जान्छु भनेर ढकाल गए। इन्स्पेक्टर त्यहीँ उभिरहेका थिए। त्यो 'केही बेर' टर्‍यो, उनले एकजना प्रहरीलाई त्यो भेट्ने ठाउँमा हेर्न पठाए। पठाउँदा उनीहरूले थाहा नपाउने गरी यसो हेरेर मात्रै आउनू भन्ने निर्देशन दिए। ती प्रहरी त्यहाँ के पुगेका थिए एउटा मोटरसाइकल स्वाट्ट गुडिहाल्यो। त्यो मोटरसाइकल राईले हाँकेका थिए जसमा संवाददाता ढकाललाई बीचमा राखेर कोइराला पछाडि बसेका थिए।
इन्स्पेक्टर रेग्मीले चासो दिँदै फोन गरे, 'कता हिँडेको? आइहाल्छु भनेको होइन?'
'एकछिन कुरा गर्ने भन्नुभा'छ,' ढकालले जवाफ दिए, 'दस मिनेटजतिमा फर्किहाल्छु।'
'दस मिनेट' गुजि्रँदा पनि ढकाल नफर्केपछि इन्स्पेक्टरले आफ्नो मोबाइलबाट सम्पर्क गर्दा राई र कोइरालाले चाल पाउलान् भनेर सहयोगीको मोबाइलबाट सम्पर्क गर्न लगाए। अनि सहयोगीलाई अर्थ्याए, 'हामी आउनुपर्ने अवस्था छ भने भन्नोस् है, त्यस्तो अवस्था छ? छ?'
ढकालले निर्दोषितापूर्वक 'छैन' भने।
त्यसपछि एक ठाउँ पुगेर मोटरसाइकल रोकियो र कोइराला 'म घर गएर आउँछु' भन्दै हिँडे। राईले ढकाललाई अँगालो बाँध्दै अँध्यारो एकान्ततिर लगे जहाँ उनका मतियारहरू थुप्रिसकेका थिए। उनीहरूले ढकालका दुबै मोबाइल खोसे र मुक्का हान्न थाले। रक्सीको गन्ध ह्वास्स आएका व्यक्तिहरूले घेरा हालेभन्दा केही पर अर्को समूह पनि बसेको देखेपछि उनी आतंकित भए। त्यही बेला कोइरालाले राईलाई फोन गरी 'त्यसलाई सिध्याएर...डम्प गरिदेऊ' भन्ने आबाज आएको ढकालले सुने। त्यसपछि उनले जीवनरक्षाका लागि तिनीहरूलाई ठेल्दै दौडिए। 'गुहार गुहार...' भन्दै हड्फडाउँदै दौडिँदा अँध्यारोमा लड्नपुगे। आक्रमणकारीहरू आएर उनलाई फेरि राईको जिम्मा लगाए। ढाड, छाति, अनुहार, नाक जताततै मुक्का बेहोरिरहेका उनले दुईपल्ट त दुबै हात क्रस पारेर बाँसको भाटा लाग्नबाट टाउको जोगाए। 'पर्शु दाइविरूद्ध लेख्छस्,' भन्दै गालीको वर्षा गर्दै मुक्का हानिरहेको बेला 'अब पर्शुदाइकहाँ लगेर ठीक गरुम्' भनेको पनि सुने। त्यही मेसोमा फेरि एकपल्ट बलिया पाखुराहरूबाट फुत्त चिप्लेर उनी भागे।
आफ्ना सहयोगीले ३५ पल्ट जति गरिसकेको फोन नउठेपछि आत्तिएका इन्स्पेक्टर रेग्मी आफ्ना सहयोगीसहित पहिला मोटरसाइकल गुडेको दिशातिर सडकसडकै दौडिएका थिए। एक ठाउँ पुग्दा त उनले टाढैबाट 'गुहार..गुहार...' भन्दै भागिरहेका ढकाललाई देखे। हिलैहिलो र रगतैरगत भएका उनले इन्स्पेक्टरलाई ग्वालाम्म अँगालो हाल्दै रोए, उनले सम्झाउँदा-सम्झाउँदै गएकामा पश्चाताप गरे तर तात्तिएको र कालको मुखबाट फर्किएको आवेगबीच उनी मुर्च्छा परे। रेग्मीले सेटबाट भ्यान मगाएर उनलाई अस्पताल पठाए अनि राईको डेरातिर गए। नभेटेपछि कोइरालाको घरतिर लागे। पर्दा नलागेको झ्यालभित्र प्रकाशमा कोइराला देखिए, भाग्न सकेनन् र समातेर ल्याए।
आइतबार मध्यरातको यो घटनापछि घाइते ढकाललाई थप सुबिधासम्पन्न भनेर सहकर्मीहरूले नोबेल अस्पताल पुर्‍याए। उनी एकछिन होस्मा आउने, एकैछिनमा बेहोस हुने भइरहेका थिए। सिटीस्क्यान गरियो। भाँच्चिएको नाकभित्र जमेको रगत खोल्न शल्यक्रिया गर्नुपर्ने भयो। हड्डी केही समयपछि जोडिने चिकित्सकले सान्त्वना दिए, धन्य टाउको र मष्तिष्कमा गम्भीर चोट लाग्न पाएन।
भोलिपल्ट बिहान सम्भवतः सबभन्दा पहिलो प्रेस वक्तव्य बस्नेत आफैंले निकाले, घटनाको निन्दा र दोषीमाथि कारवाही माग गर्दै। अनि आफैं अस्पताल पुगेर घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरे। ठीक यसैगरी अदालतमा आक्रमणको एक घन्टाभित्रै पत्रकार सम्मेलन गरेर उनले घटनाको भर्त्सना गरेका थिए। त्यतिले नपुगेर एक हूल सहयोगीहरूका साथ बस्नेतकी पत्नि स्वास्थ्यलाभको कामना गर्न बुधबार अस्पताल पुगिन् तर शल्यक्रिया कक्षभित्र अरुलाई प्रवेश निषेध भइसकेको थियो।