Friday, June 10, 2011

रामदेवको सम्पत्ति सवा चार अर्ब, बालकृष्णलाई सफाइ

नयाँ दिल्ली, जेठ २६ (नागरिक)- गैरकानुनी रूपमा भारतीय राहदानी लिएको आरोपमा योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्णले बिहीबार सफाइ पाएका छन्।

  उत्तरप्रदेशको बरेली प्रशासनले बालकृष्णका कागजात दुई दिनसम्म छानबिन गरेर निर्णय सुनाएको हो। भ्रष्टाचारविरुद्ध अनशन बस्दै गरेका रामदेवलाई शनिबार राति नयाँ दिल्लीको रामलीला मैदानबाट पक्राउ गरेपछि कंग्रेस महासचिव दिग्विजय सिंहले आचार्य बालकृष्ण नेपालमा अपराध गरेर भागेको, नक्कली भारतीय पासपोर्टमा यात्रा गरेको लगायत आरोप लगाएका थिए। रामदेव पक्राउ परेपछि बेपत्ता भनिएका बालकृष्णले मंगलबार हरिद्वारमा पत्रकार सम्मेलन गरी बाबुआमा नेपाली भए पनि आफू भारतीय रहेको खुलासा गरेका थिए।
आचार्यले गैरकानुनी रूपमा हतियार बोकेको आरोपमा भने भारतीय सरकारले छानबिन गरिरहेको छ।
यसैबीच, रामदेवले पतञ्जली योगपीठको सम्पूर्ण सम्पत्ति ४ अर्ब २६ करोड भारतीय रुपैयाँ रहेको बताएका छन्।
रामदेव हरिद्वारस्थित आफ्नै योगपीठमा सात दिनदेखि अनशन बसिरहेका छन्।