Wednesday, June 15, 2011

पर्शुरामविरुद्ध मुख खोल्ने बल्ल निस्किए - nagariknews

किरण भण्डारी, विराटनगर, असार १- अदालत परिसरमा बन्दी अभिषेक गिरीमाथि आक्रमणका योजनाकार पर्शुराम बस्नेतलाई प्रहरीले यसअघि पनि दर्जनौं घटनामा छुटकारा दिँदै आएको तथ्य फेला परेको छ।
  अदालत काण्डमा जस्तै पर्शुरामको आदेश पालना गर्ने सहायकहरूले मात्र सामान्य मुद्दा मामिला खेपेको भेटिएको छ। विभिन्न अपराधिक क्रियाकलापमा सरिक भएर केही वर्षमै 'डन' बनेका उनको दादागिरी विगतदेखि नै राजनीतिक र प्रहरी प्रशासनको संरक्षणमा हुर्किएको ती घटनाले पुष्टि गरेको छ। उनले ज्यानै लिन खोज्दा पनि प्रहरीले पीडितको किटानी जाहेरीसमेत लिन नमानेको कयौं दृष्टान्त फेला परेको छ। पर्शुरामका सहायकविरुद्ध उजुरी लिए पनि उनीहरू केही दिन हिरासतमा बसेर छुट्ने गरेका छन्।
नागरिक संवाददाता खिलानाथ ढकाललाई निर्घात कुटपिट गराएर फरार भएका पर्शुरामविरुद्ध मोरङका पत्रकार र राजनीतिक दलका युवा आन्दोलित भएपछि पीडितमध्ये केहीले उनको विपक्षमा देखिने हिम्मत गरेका छन्।

पर्शुराम समूहबाट तरबार, खुकुरी, छुरी, भाला खाएको डाम शरीरभरि बोेकेर उनीहरू जुलुस र धर्नामा समेत सामेल भएका छन्। बुधबार कांग्रेस, माओवादी, मधेशवादी तथा एमालेको संस्थापन पक्षसहित १३ राजनीतिक दलका युवाले निकालेको जुलुस र प्रशासन कार्यालय धर्ना कार्यक्रममा उनीहरू सरिक भए।
पर्शुराम समूहको आक्रमणबाट बाँचेर पुनर्जीवन पाएकाहरू निर्माण व्यवसायी अशोक हुमागाईं, आजम परवेज, पंकज कट्टेललगायत जुलुसमा सरिक भए। सुशील यादव, एमालेकै अञ्जना अधिकारीलगायत उपस्थित हुन नपाए पनि आन्दोलनमा ऐक्यवद्धता जनाए।

जीउभरि आक्रमणको खाटा बोकेर प्रचण्ड गर्मी पर्वाह नगरी न्यायको खोजीमा सडकमा ओर्लिएका उनीहरूमध्ये केहीले नागरिकसँग पुरानो पीडादायक कथा पनि सुनाए। कतिले पाशविक आक्रमणको कथा सुनाए। केहीले तरबार, खुकुरी प्रहारको पीडादायी कथा सुनाउन हिम्मत नभएर साथीको सहारा लिए।
सबैको कथा उस्तै छ, 'पर्शुरामको योजनामा आक्रमण हुन्छ। प्रशस्त प्रमाण हुँदाहुँदै प्रहरीले उनीविरुद्ध उजुरी समेत लिँदैन। मोरङ युथफोर्सको अध्यक्ष भएपछि उनी झन् 'शेर' भएका छन्।'
पर्शुराम आवद्ध दल एमालेकै जिल्लास्तरीय नेतामाथि आक्रमणको सिकार हुँदा पनि उनलाई कानुन नलागेको जुलुसमा सहभागी पीडितले बताए। एमाले विराटनगर ६ नम्बर वडा कमिटी सचिव पंकज कट्टेलमाथि ४२ महिनाअघि पार्टी कार्यालयको गेटमा एक हुलले तरबार हान्यो। 'म मार्शल आर्टको राम्रो खेलाडी भएर मात्र बाँचेँ,' उनले भने, 'न्याय पाउनु त परको कुरा, प्रहरीले निवेदन दर्ता गर्न नै प्रलय भयो।'
तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले डिआइजीलाई टेलिफोन गरेर हप्काएपछि मात्र जाहेरीसम्म दिन पाएको कट्टेलले सम्भिए। 'प्रहरीले उनलाई पक्रिएजस्तो गर्‍यो, उपप्रधान तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीको टेलिफोनले उनी राति नै छुटे,' उनले भने।
युवा संघ केन्द्रीय समिति बैठकमा भाग लिन काठमाडौं जानुपरेकाले अनुपस्थित हुनुपरे पनि अञ्जना अधिकारीले विरोध कार्यक्रम आयोजकलाई टेलिफोन गरेर ऐक्यवद्धता जनाइन्। दुई वर्षअघि पर्शुराम युवा संघ मोरङको सहसचिव छँदा उनी एउटै कमिटीमा कोषाध्यक्ष थिइन्। माओवादीसँग हतियार भन्दा वैचारिक लडाइँ लड्नुपर्ने धारणा राख्दा उनलाई पर्शुरामले पेस्तोल देखाए।
पार्टीका जिल्ला सचिव विनोद ढकालसहित नेताको सामुन्ने पर्शुरामले गरेको व्यवहार कुनै कारबाहीको विषय बनेन। 'हामीले कारबाहीको माग गर्‍यौं, पार्टीले सम्झौता गर्न भन्यो,' उनले भनिन्।
ढकाल अहिले पार्टी अध्यक्ष छन्। ढकाललाई सभापति बनाउन आर्थिक सहायता र धाँधली गरेर निर्णायक गुण लाएकाले पर्शुरामलाई पार्टीले संरक्षण गरेको आरोप एमालेकै जिल्लास्तरीय नेताले लगाएका छन्। 'अदालतमा आक्रमण र पत्रकारको ज्यान लिन खोजेको आरोप लागेको व्यक्तिलाई किन पार्टीले बोक्नुपरेको?' जिल्ला सदस्य पारुल क्षेत्रीले भने, 'छानबिनै गर्न नदिई जिल्ला अध्यक्ष (ढकालले) उनलाई कसरी निर्दोष भन्न सकेका हुन्?'
अध्यक्ष ढकालले पर्शुराम दोषी नभए पनि तत्कालका लागि पार्टी क्रियाकलापमा सहभागी नगराउने निर्णय भएको बताएका छन्। 'मिडियाले धेरै उछालेको मात्र हो, धेरै आरोप सत्य छैनन्,' उनले भने।
युवा संघले कोषाध्यक्ष निरु पालको संयोजकत्वमा बनाएको छानबीन टोली मंगलबार साँझ विराटनगर आएको छ। तर, त्यसले काम सुरू नगर्दै युवा संघले मंगलबारै विज्ञप्ति निकालेर बस्नेत निर्दोष भएको जिकिर गरेको छ।

'पार्टीका प्रमुख नेताले लाइन मिलाइदिएपछि डिआइजी शारदाभक्त रञ्जित, एसपी योगेन्द्र कटवाल, डिएसपी विद्यानन्द माझी, सइ राजु श्रेष्ठलगायतको संरक्षणमा पर्शुरामलेे चरम ज्यादति गरेका छन्,' विगत कोट्याउँदै क्षेत्रीले भने। उनी २०६३ यता विभिन्न कार्यकालमा मोरङ खटिएका छन्।
एसपी देवेन्द्र सुवेदीले पर्शुरामको दादागिरी तोड्ने प्रयास गरे पनि प्रहरीभित्रैबाट साकार हुन नदिइएको टिप्पणी विराटनगरबासीको छ। प्रायः घटनामा मुकेश बुढाथोकी, मनोज खड्का, मनोज राई, एलिस गुरुङलाई अघि सारेर उनी उम्किन सफल हुँदै आएका छन्।

जिल्ला विकास समितिको टेन्डरमा प्रतिष्पर्धामा सामेल हुन खोज्यो भनी निर्माण व्यवसायी अशोक हुमागाईंलाई पर्शुरामले निर्घात कुटपिट गरे। खुकुरी र छुरीसहितको आक्रमणबाट उनी मरणासन्न भए। कुटाइ खाएको दुई वर्र्ष भैसक्दा पनि उनी तङ्ग्रिएका छैनन्। घटनालगत्तै ढुंगानाले जाहेरी दिनसमेत पाएनन्। 'पर्शुरामविरुद्ध किटानी जाहेरी प्रहरीले लिन मानेन भनी पीडित पार्टीको शरणमा आए, हामीले पनि उनलाई न्याय दिलाउन सकेनौँ,' क्षेत्रीले भने।
रंगेलीरोडमा औषधी पसल चलाएर बसेका सुशील यादवले 'हप्ता' तिर्न नमानेकैले तरबार खानुपर्‍यो। साढे दुई वर्षपहिले भएको उक्त घटनामा प्रहरीले पर्शुरामविरुद्ध जाहेरीसमेत लिन मानेन।
गायक रामकृष्ण ढकालको कार्यक्रममा नक्कली टिकट बनाएर बेचेको आरोपमा आयोजक र पर्शुरामबीच केही वर्षअघि विवाद भयो। काठमाडौं फर्कने क्रममा इनरुवामा खाजा खाइरहेका आयोजक सत्य मानन्धरलाई तरबार हानियो। महिनौंको उपचारपछि उनी तङ्ग्रिए तर बस्नेतमाथि कुनै कारबाही भएन। उनका विश्वासपात्र मुकेश बुढाथोकी सहितलाई प्रहरीले सामान्य मुद्दा चलाए पनि त्यो फास्सफुस्स भएको छ।
केबल एसोसिएसनका अध्यक्ष दिनेश सुवेदीलाई अस्पतालचोकमा बस्नेत आफैं सरिक भएर छुरी हाने। दुई दिन प्रहरी थानामा बसेर छुट्कारा पाए। अक्सर अपराधस्थलमा उपस्थित नहुने पर्शुराम स्वयं हमलामा उत्रेको भए पनि त्यो मुद्दा प्रहरीको प्राथमिकतामा परेन। आफू उम्किनेमात्र हैन, प्रहरीको सहायतामा विरोधीलाई फसाउने ल्याकतसमेत पर्शुरामको भएको धेरैको विश्वास छ।
गिरीलाई पर्शुरामले गत जेठ १८ गते पहिलोपटक आक्रमण गराएका होइनन्। २०६६ कात्तिकमा गिरीलाई मोरङ कारागारभित्रै सांघातिक आक्रमण भयो, गिरीसहित उनको परिवारले पर्शुरामको योजनामा आक्रमण भएको भनी जाहेरी लेखे। वकिलले घटना विवरणसहित कागज तयार गरे। 'मेरी श्रीमती अनिषा धेरैपटक धाइन् तर प्रहरीले पर्शुरामको नाम काटेमात्र दर्ता हुन्छ भनेर फकाइरह्यो,' गिरीले झुम्का कारागारबाट टेलिफोनमा नागरिकसँग भने।