Tuesday, June 28, 2011

हाउजिङ सञ्चालक चौधरी संविधान सभाबाट घरभाडा बुझ्दै - mysansar

-रामप्रसाद पुडासैनी-

उपत्यकामा घर भएका विभिन्न हाउजिङ कम्पनी र उद्योग सञ्चालक समेत संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक छ हजार रुपैयाँ घर भाडा बुझ्दै आएका छन्। आफ्नो घरमात्र नभई विभिन्न हाउजिङ कम्पनी चलाएका विनोदकुमार चौधरीलगायत व्यवसायी विमलकुमार केडिया, मोतिलाल दुगड, श्रवणकुमार अग्रवाल, जिपछिरिङ लामा शेर्पा, जुलीकुमारी महतो तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायत सभासदले घर भाडा लिँदै आएका छन्। उपत्यकाबाट निर्वाचन जित्ने र घर भएका प्रायः सबै सभासदले घरभाडावापतको सुविधा लिँदै आएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।
संसद सचिवालय स्रोतका अनुसार प्रकाशमान सिंह, ईश्वरीप्रसाद दाहाल, पद्यज्योति, मधुसूदन अग्रवाल, राजेन्द्रकुमार खेतान, रामनाथ ढकाल, डा रामशरण महत र सुनिलबाबु पन्तले मात्र सुरुदेखि नै घर भाडावापतको छ हजार पाँच सय रुपैयाँ सुविधा बुझेका छैनन्। अरु सबै सभासदले उक्त सुविधावापतको रकम बुझ्दै आएका छन्।
उपत्यकाबाट निर्वाचन जित्ने नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, नरहरि आचार्य, नारायणमान बिजुक्छे, वर्षमान पुन, चक्रबहादुर ठकुरीलगायत सबै सभासद्ले अहिलेसम्म पनि घरभाडा लिन छाडेका छैनन्।
चौधरी विभिन्न उद्योगको अलावा माउन्ट भ्यु रेसिडेन्स र काठमाडौँ रेसिडेन्स नामक हाउजिङ कम्पनीका मालिक हुन्। आफ्नो घरमात्र नभई घर बनाएर अरुलाई बिक्री गर्ने काम गर्दै आएका चौधरीले संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक घरभाडा पनि बुझ्दै आएका छन्। चौधरीले संसद्‍बाट लिने तलब र सुविधा बैँकमार्फत् पनि लिएका छैनन्। बैँकिङ च्यानलबाट रकम बुझ्दा पारदर्शी हुने भए पनि अधिकांश पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर र उद्योगपति तथा व्यवसायी पृष्ठभूमिका सभासदले आफ्नो तलब र सुविधाबाट प्राप्त हुने रकम संसद सचिवालयबाट सीधै चेक लिएर बैँकमा लाइन लागेर तलब बुझ्ने सभासदको संख्या २१० छ।
संसद सचिवालय स्रोतका अनुसार सभासद् चौधरीले असार महिनामा घरभाडासहित ४५ हजार ६७३ रुपैयाँको चेक बुझेका छन्। मासिक तलब २६ हजार दस रुपैयाँ, स्वकीय सचिववापतको १३ हजार ९१०, बैठक भत्ता छ हजार चार सय, धारा बिजुलीको एक हजार २४८, टेलिफोन २ हजार, मसलन्द १३ सय र घरभाडा छ हजार पाँच सयसहित ५७ हजार ४४८ मध्ये चौधरीको ११ हजार ७७५ रुपैयाँ कर कट्टीमा खर्च हुन्छ। त्यसमध्ये ७ हजार रुपैयाँ त पार्टीलाई मासिक लेबी बुझाउने गरेका छन्।
चौधरी नेकपा एमालेका सभासद् हुन्। एमालेले आफ्ना पार्टीबाट सभासद बनेकाहरुबाट मासिक सात हजार रुपैयाँ लेबी लिँदै आएको छ भने माओवादीले १० हजार र कांग्रेस, मधेसी जनअधिकार फोरम लगायत दलहरुले प्रति सभासद तीन हजार र केही साना दलहरुले भने लेबी उठाउने गरेका छैनन्। चौधरीले संसद्को विवरणमा स्थायी लेखा नम्बर प्यान पनि उल्लेख गरेका छैनन्।
असार महिनामा घरभाडा सुविधा नलिने सभासद्हरुमा इसलाममियाँ धोबी, कर्णजीत बुढाथोकी, खोभारी राय, गगन थापा, चन्द्रबहादुर गुरुङ, चिरञ्जीवी राम थारु, जगतबहादुर ताजपुरिया, जयप्रकाश यादव, तिलकबहादुर थापामगर, दिवाकर गोल्छा, नारायणीदेवी घिमिरे अर्याल, पासाङ शेर्पा, प्रदीपकुमार ज्ञवाली, बबिना मोक्तान तामाङलगायतका केही सभासद छन्। केहीले भने अग्रिम लिइसकेका कारण असार महिनाको रेकर्डमा नदेखिएको सचिवालय स्रोतले जानकारी दिएको छ।
घर भएका सभासदले घर भाडा मात्र होइन, खाता खोल्नुपरछ भनेर अर्ति उपदेश दिने सभासदहरुले पनि बैँक खाता संसद सचिवालयलाई उपलब्ध नगराउँदा व्यक्तिगत रुपमा चेक काट्न समस्या परेको छ भने रकम पारदर्शी गराउन पनि समस्या परेको छ। (साभारः आर्थिक दैनिक)