Friday, June 10, 2011

पत्रकार कुट्ने युथफोर्स कार्यकर्ता ओली निवासमा - onlinekhabar

२७ जेठ, काठमाडौँ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने युथफोर्स कार्यकर्ता पर्शुराम बस्नेतलाई एमाले नेता खड्ग ओलीले संरक्षण दिएका छन् ।
आक्रमणकारी बस्नेतलाई कारवाही गर्न चौतर्फी दबाब बढिरहेका बेला उनी भने भक्तपुरको बालकोटस्थित ओली निवासमा रहेको स्रोतले जनाएको छ ।
एमालेमा ओली पक्षीय मानिने बस्नेतलाई विराटनगरबाट मंगलवार राति नै निजी गाडीमा राखेर काठमाडौँ ल्याइएको थियो ।
विराटनगरमा बस्नेत असुरक्षित भएको भन्दै ओलीको निर्देशनमा बस्नेतलाई काठमाडौं ल्याइएको स्रोतले बताएको छ । ओलीले बस्नेतलाई कार्वाही नगर्न आफ्नै अध्यक्ष झलनाथ खनाललाई दबाब दिइरहेको बुझिएको छ ।
पत्रकार ढकालमाथि आक्रमण गर्ने तीन युथफोर्स कार्यकर्तामध्ये रोहित कोइरालालाई मात्र प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पत्रकारलाई आक्रमण गरेर फरार रहेका एमाले कार्यकर्तालाई छिट्टै पक्रने प्रतिबद्धता जनाएपनि उनीहरु राजनीतिक नेतृत्वको संरक्षणमा रहेकाले पक्राउ गर्न असजिले भएको उच्च प्रहरी स्रोतले जनाएको छ ।
घटना छानबिनका लागि पत्रकार महासंघले गठन गरेको मिशन टोलीले घटनाको पाँच दिन बित्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको काम गराई शंकास्पद देखिएको बताएको छ ।