Saturday, June 11, 2011

महराले प्रधानमन्त्रीलाई भनेः अपराधी बुझाउनुस् - onlinekhabar

२९ जेठ, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री झलनाथ खनाललाई भेटी विराटनगरका पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने युथफोर्स कार्यकर्तालाई एमाले नेताहरुले नै संरक्षण गरेकोमा असन्तुष्टि जनाएका छन् ।
महराले आज बिहान प्रधानमन्त्री खलाललाई बालुवाटारमा भेटेर त्यस्तो असन्तुष्टि जनाएका हुन् । स्रोतका अनुसार पत्रकार ढकालमाथि आक्रमणमा संलग्न युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेतलाई एमाले नेता केपी ओलीले संरक्षण गरेको भन्दै महराले अपराधीलाई प्रहरीको जिम्मा लगाउन प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।
‘प्रहरीको जासुसीबाट पनि बस्नेत राजधानीमै रहेको खुल्न आएको छ, सञ्चारमाध्यमबाट पनि त्यही समाचार आइरहेका छन्’ महराले प्रधानमन्त्रीलाई भनेको भन्दै स्रोतले भन्यो ‘प्रहरीले धुइंपत्ताल खोजिरहेको छ तर, राजनीतिक संरक्षणका कारण अपराधी पक्राउ गर्न गृह प्रशासनलाई अप्ठ्यारो भइरहको छ ।’
जवाफमा खनालले अपराधी जो सुकै भएपनि उसले उन्मुक्ति पाउन नसक्ने भन्दै सम्पूर्ण शक्ति लगाएर पक्राउ गर्न महरालाई निर्देशन दिएको बताइएको छ ।
प्रधानमन्त्री खनालले एमालेका महरासँग केही नेताले बस्नेतलाई संरक्षण दिएको भन्ने समाचार आफूले पनि सञ्चारमाध्यमहरुबाट सुनेको भन्दै बुझ्न बाँकी नै रहेको बताएका थिए ।
पत्रकार ढकाललाई आफुविरुद्ध समाचार लेखेको आरोपमा २२ जेठमा युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेतको निर्देशनमा निर्घात कुटपिट गरिएको थियो ।