Thursday, June 9, 2011

सन् २०१२ मा पृथ्वीमा प्रलय ? - gorkhapatra

सीताराम विलासी 

काठमाडौँ, जेठ २५ गते । ''सन् २०१२ को अन्त्यतिर पृथ्वीमा ठूलो प्रलय आउनेछ, प्रलयले सम्पूर्ण प्राणीजगत्को अस्तित्व समाप्त गर्नेछ, लाखौँ वर्षदेखिको विकसित मानव सभ्यता र संरचनाको ध्वस्त हुनेछ र नयाँ सृष्टिको सिर्जना हुनेछ ।''
यो भविष्यवाणी कुनै ज्योतिष, धर्मभिरु वा वैज्ञानिक अनुसन्धानको होइन । यो हो सयौँ वर्ष पहिले अस्तित्वमा रहेको प्राचिन सभ्यताको हो । मध्यअमेरिकामा विकसित भएको माया (मायान) सभ्यताले विकास गरेको पात्रोको अहिले विश्वभर चासो र चिन्ताको विषय बनेको छ ।
यसअघि मायाले गरेका थुप्रै भविष्यवाणी सत्य सावित भएको भन्दै थुप्रै टेलिभिजन र इन्टरनेटहरूले केही वर्षदेखि सनसनीपूर्ण ढङ्ग समाचार प्रस्तुत गर्दै आएका छन् । माया सभ्यताको रहस्यलाई बुझ्न चाहनेहरूको सङ्ख्या वृद्धि हुँदै गएको छ
गणित र खगोलमा निकै समृद्ध मानिएको माया सभ्यताको पात्रो २१ डिसेम्बर २०१२ मा आएर टुङ्गिएको छ । मायाको पात्रो अनुसार २१ डिसेम्बरपछिको पञ्चाङ्ग नभएकाले सोही दिन पृथ्वी पनि अन्त्य हुने अनुमान गरिएको छ । त्यस्तो अन्त्य खगोलीय पिण्डको ठक्करबाट हुने माया सभ्यताको दाबी छ ।
नडराउनु होस् । मायाको भविष्यवाणीलाई न कुनै ज्योतिषशास्त्र, धर्मदर्शनले सही ठहर्‍याएको छ । न वैज्ञानिक प्रमाण नै फेला परेको छ । यद्यपि माया रहस्य धुरन्धर वैज्ञानिकहरूका लागि टाउको दुखाइको विषय मात्र बनेको छैन मानव समुदायलाई अर्को एक त्रास थपिदिएको छ ।
मायाको भविष्यवाणीलाई पूर्वीय दर्शनले पनि अस्वीकार गर्दछ । नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष डा. माधवराज भट्टराईका अनुसार पृथ्वीमा प्रलय हुने बेला भएको छैन ।
२१ डिसेम्बर २०१२ को आसपास हुनसक्ने भनिएको सम्भावित प्रलयको खोजीमा वैज्ञानिकहरू जुटे पनि हालसम्म त्यस्तो कुनै सङ्केत भेटिएको छैन । खगोलविद् ऋषिविक्रम शाहका अनुसार २१ डिसेम्बरको विषयले विश्वका वैज्ञानिकहरूको ध्यानाकृष्ट गरेको छ, २४सै घण्टा खगोलीय पिण्डहरूको अनुगमन भइरहेको छ, हालसम्म पृथ्वीलाई नोक्सान पुर्‍याउने कुनै वैज्ञानिक आधार भने फेला पर्न सकेको छैन ।
२१ डिसेम्बर २०१२ को विषय केही वर्षदेखि टेलिभिजन, पत्रपत्रिका र इन्टरनेट साइटहरूमा महìवपूर्ण समाचार मात्र बनेका छैनन्, बृत्तचित्र र चलचित्रसमेत बनेका छन् । हलिउड चलचित्र उद्योगले निर्माण गरेको '२०१२ डम्सडे'ले निकै चर्चासमेत पायो ।
सोही विषयलाई लिएर टेलिभिजनहरूले बढी सनसनी फैलाउन थालेपछि भारतीय सरकारले त्यस्ता सामाग्री प्रसारणमा रोक लगायो र टेलिभिजनहरूले पछि त्यसको आफैँले खण्डन पनि गर्न थाले ।
पृथ्वीको भविष्यलाई लिएर गरिएको भविष्यवाणी यो अन्तिम होइन । यसअघि पनि पटक-पटक यस्ता गलत
भविष्यवाणी गर्ने र मानव समुदायमा त्रास सिर्जना गर्ने काम हुँदै आएका छन् । यो अफवाह हो, यस्ता कुराको पछि लाग्नु हुँदैन, पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष भट्टराई भन्नुुहुन्छ ।
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था -नासा) ले पनि २०१२ मा पृथ्वीलाई कुनै अनिष्ट नहुने र चार अर्ब वर्षसम्म पृथ्वी सुरक्षित रहने बताएको छ ।
नासाका वरिष्ठ अनुसन्धान वैज्ञानिक डन योम्यानसले २०१२ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने कुराको सुरुआत निविरु भन्ने कुनै एक पिण्डले पृथ्वीलाई ठक्कर दिँदैछ भन्ने कुराबाट भएको हो, जसले २००३ मा नै ठक्कर दिने भनिएको थियो । त्यसबेला नभएपछि अहिले २०१२ लाई त्यस्तो हल्ला चलाइएको छ भन्नुहुन्छ ।
नासाको आधिकारिक वेबसाइटमा माया क्यालेन्डर २०१२ मा अन्त्य हुन्छ ? भन्ने अर्को प्रश्नमा योम्यान्सले भन्नुभएको छ- २१ डिसेम्बरमा माया पात्रोको लामो गणना अन्त्य हुनेछ तर त्यसपछि जसरी तपाइँको क्यालेन्डर जनवरी १ बाट सुरु हुनेछ, त्यसैगरी माया पात्रोको पनि अर्को लामो गणना यात्रा सुरु हुनेछ ।
खगोलविद् ऋषिविक्रम शाह २१ डिसेम्बरमा सत्यता नभएका चारवटा कारण प्रस्तुत गर्नुहुन्छ । उहाँका अनुसार २१ डिसेम्बर २०१२ मा नै कुनै पिण्ड पृथ्वीलाई ठक्कर दिन आउने हो भने अहिलेसम्म देखिनुपर्ने हो, विश्वका विभिन्न देशबाट चौबीसै घण्टा अनुगमन भइरहेको छ त्यस्तो कुनै सङ्केत देखिएको छैन ।
माया पात्रो शिला र धातुहरूमा लेखिएकोले सयौँ वर्षको अन्तरालमा २१ डिसेम्बरपछिको पात्रोको अवशेषहरू नष्ट भएका वा हराएका वा उत्खननमा नभेटिएका हुनसक्छन् । शाह सौर्यमण्डलमा कुनै वाइनरी स्टार छ र त्यसले पृथ्वीलाई ठक्कर दिन्छकि भन्ने कुरा हो भने त्यसको पनि प्रमाण भेटिएको छैन भन्नुहुन्छ ।
माया सभ्यतामा २१ डिसेम्बर २०१२ मा पृथ्वी नष्ट हुने कुनै वैज्ञानिक कारण नभएकोले आत्तिनु नपर्ने बताउनुभयो तर शाहले माया पात्रो तारा र नक्षत्रलाई हेरेर तयार गरिएको भने स्वीकार गर्नुभयो ।
कुनै पनि कुराको भविष्यवाणी गर्न सकिँदैन तर कल्पना नै नगरेको कुरा जस्तो सुनामी, ज्वालामुखी, भूकम्प आयो भने त्यसलाई सहन गर्नसक्ने क्षमता मानवमा छ, उहाँ भन्नुहुन्छ- त्यस्ता कुराहरू भयो भने कसरी कम क्षति गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ, विज्ञानले पनि बचाउने प्रयास गर्छ ।
भौतिकशास्त्री प्रा. उदयराज खनाल २१ डिसेम्बरको भविष्यवाणीमा कुनै आधार छैन भन्नुहुन्छ । उहाँका अनुसार कुनै पनि कुराको भविष्यवाणी गर्न सक्ने क्षमता अहिलेसम्म छैन, अनुमान गर्ने कुरा मात्र हो ।
पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष डा. भट्टराई भविष्यवाणी तपस्वीले मात्र गर्न सक्छ भन्दै पूर्वीय मान्यता अनुसार कलियुगको अन्त्यमा मात्र प्रलय हुने बताउनुहुन्छ । कलियुग अहिले पाँच हजार वर्ष भएकोले यो युग बिताउन अझै त्यसको कयौँ गुना बाँकी छ भन्नुहुन्छ ।
ज्योतिष लोकराज पौडेल ग्रहहरू पृथ्वी छेउछाउ आउने जाने नियमित प्रक्रिया हो भन्दै हाम्रो पात्रो अनुसार २०१२ मा अनिष्टको कुनै सम्भावना देखिँदैन भन्नुहुन्छ ।
के हो माया सभ्यता ?
माया सभ्यता अमेरिकाको ग्वाटेमाला, म्याकसिको, होण्डुरस प्रायदीपको कला एवं संस्कृतिमा पाइने विकसित मानव सभ्यता हो । कोलम्बस अमेरिका पुग्नु सयौँ वर्ष अगाडि नै यो सभ्यता नष्ट भइसकेको थियो ।
तीन हजार एक सय चौध वर्ष पहिले संसारको उत्पत्ति भएको विश्वास गर्ने यो एक मात्र पूर्ण विकसित लिखित भाषा भएको सभ्यता थियो । यसलाई कला, वास्तुशिल्प, गणित एवं खगोल विज्ञानमा सम्बृद्ध सभ्यताको रूपमा पनि चिन्ने गरिन्छ ।
यसको सम्बृद्ध कार्यकाल ईश्वी संवत् सन् २५० देखि ९०० बीच रहेको मानिन्छ । १९औँ शताब्दीमा उत्खनन् गरी माया सभ्यताको बारेमा अध्ययन थालिएको हो । पुरातात्विक वैज्ञानिकहरूका अनुसार दिन, महिना, वर्ष, ऋतुहरूको जानकारी गणितीय र खगोलीय आधारमा राख्ने गर्दथे ।
उत्खनन्मा फेला पारिएका पिरामिड, मन्दिर, मूर्तिहरूमा कलात्मक संस्कृति र विज्ञानका जानकारीहरू पाइएको बताइन्छ । कृषिप्रधान भएकोले मायाहरूले मौसम र प्रकृतिको बारेमा जानकारी राख्न पात्रोको विकास गरेका थिए ।
मायाले विकास गरेको पात्रोे निकै चुस्त रहेको बताइन्छ, जुन आजका सुपर कम्प्युटरले पनि त्यसको गणना शून्य दशमलब शून्य छसम्म मात्र फर्मुला निकाल्न सक्ने बताइन्छ ।