Tuesday, June 28, 2011

को हुन् शम्भु भारती ? - Nepal Saptahik


-उपेन्द्र पोखरेल


माइकल राइडर र रूबेल चौधरी मिलेर मलाई फसाए, मैले अहिलेसम्म कमिसनबापतको रकम पनि पाएको छैन," बहुचर्चित सुडान घोटाला प्रकरणमा ठेकेदार कम्पनीका स्थानीय एजेन्ट शम्भु भारतीले आफ्नो मौनता तोडे। पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव हर िढुंगानामार्फत उनका ज्वाइँ रूबेललाई र रूबेलमार्फत ठेकेदार कम्पनीका प्रतिनिधि राइडरसँग परचिय भएको खुलासा पनि उनले गत साता गरे।

को हुन् त ती शम्भु भारती ? राजनीतिको उपल्लो तहमा गठिलो सम्बन्ध बनाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा हतियार एवं बन्दोबस्तीका सामग्री खरदिको ठेक्का लिने व्यापारी हुन्। सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको टोलीलाई उनी संलग्न अस्योर्ड रस्िक कम्पनीमार्फत खरदि गरिएका आर्मर्ड पर्सनल क्यारयिर -एपीसी) खरदिमा भएको भ्रष्टाचार प्रकरणबाट भारती एकाएक चर्चामा आएका हुन्। अस्योर्ड रस्िक कम्पनीको स्थानीय प्रतिनिधि भगवती ट्रेडर्सका मालिक हुन् भारती।

उनलाई नजिकबाट चिन्ने नेपाली कांग्रेसका एक नेताको भनाइमा २०५०/५१ सालदेखि उनी स-सानो दरभाउपत्र -कोटेसन)मार्फत ठेक्कापट्टामा सहभागी हुन थालेका हुन्। त्यतिबेला भारती एकदेखि पाँच लाख रुपियाँसम्मको कोटेसनको काम लिने गर्थे। जस्तो : नापी विभागको तीन लाख रुपियाँको कोटेसन उनले तत्कालीन मन्त्री बलबहादुर राईनिकट एक युवा नेतामार्फत पाएका थिए। चन्डोलस्थित एक साहित्यकारको घरमा भेला हुने कांग्रेसका केही युवा नेतासँगको सम्बन्धबाट उनलाई सानातिना कोटेसनको काम लिन सहज पनि थियो।

भारतीको ठेक्कापट्टामा संलग्नता भने पुरानै हो। ०४५ सालमा एसएलसी दिएर बसेका बेला उनले आफ्ना जेठा दाजु महादेवसँग मिलेर डडेल्धुराको दहस्थित नेपाली सेनाको ब्यारेकमा निर्माण कार्यबाट ठेक्कापट्टामा हात हालेका हुन्। उनलाई ठेक्कापट्टा सिकाउने पनि जेठा दाजु महादेव नै हुन्। दाजुभाइ मिलेर डोटीको मुडभरामा खानेपानी योजनालगायत त्यस क्षेत्रमा केही समय ठेक्कापट्टाको काम गरेका थिए।

एसएलसी पास गरेर काठमाडौँ आएपछि पनि उनी ठेक्कापट्टाबाट टाढा रहन सकेनन्। सुरुका दिनमा हाल एसएसपी रहेका बैतडीतिरका एक प्रहरी अधिकृतले भारतीलाई प्रहरीका स-साना काम दिलाइदिएका थिए। स-साना कोटेसनको काम गर्दागर्दै उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निकटस्थ नेताहरूको सम्पर्कमा पुगे। त्यही माध्यमबाट उनी सेनाको स-साना ठेक्कापट्टा हुँदै हतियार र बन्दोबस्तीका सामान आपूर्ति गर्ने हैसियतमा पुगेको उनीनिकट एक व्यवसायी बताउँछन्।

प्यारजंग थापा प्रधानसेनापति हुँदाताका उनले सेनाको ठेक्कापट्टामा प्रवेश पाएका हुन्। त्यो क्रम अहिलेसम्म पनि निरन्तर छ। माओवादीविरुद्ध सेनाले 'मुभ' गरेको, देशमा संकटकाल लागेको तथा शाही शासन सुरु भएको अवस्था भारतीका लागि फलिफापपूर्ण भयो। स-साना काम गर्ने क्रममा यिनी सेनाको सूचीकृत ठेकेदार बनिसकेका थिए। सामरकि महत्त्वका सामान आपूर्तिमा भारतीले पाएको अवसरबाट उनी धनाढ्य व्यापारीको रूपमा परिणत भए। शाही शासनलाई असहयोग गर्ने रणनीतिमा भारतले नेपाललाई दिँदै आएको सैन्य सहयोग बन्द गरििदयो। त्यसले सेनामा गोलीगठ्ठाको अभाव सिर्जना भयो। उनका सहकर्मी एक व्यवसायीका अनुसार अप्ठ्यारो परेका बेला भारतीले सेनालाई इन्सास राइफलको गोली आपूर्ति गरेर गुन लगाएका थिए। त्यसले सेनामा भारतीलाई स्थापित बनाइदियो। उनको आन्तरकि मात्र नभई बाह्य सम्पर्क पनि बलियो बनिसकेको यस घटनाबाट पुष्टि हुन्छ।

एकपटक सेनाले खोलेको नाइटभिजन वाइनाकुलर र अन्य केही उपकरणको करबि १९ करोड रुपियाँको खरदि प्रकरणमा भारती समस्यामा परे। सेनाका प्राविधिकले उक्त ठेक्का रोकिदिएपछि उनी तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला-पुत्री सुजाता निकटस्थहरूको सम्पर्कमा पुगे। र, उनले रोकिएको १९ करोडको ठेक्का पाए। त्यही विन्दुबाट सुजातासँग उनको उठबस प्रारम्भ भएको दाबी स्रोतको छ।

शाही शासनका बेला सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कृष्णमोहन श्रेष्ठको माओवादीले हत्या गरेपछि सहवीर थापा महानिरीक्षक बने। शक्ति केन्द्रहरूसम्म आफ्नो राम्रो पहुँच कायम गरसिकेका भारतीले त्यतिबेला थापालाई महानिरीक्षक बनाउन 'लबिङ्' पनि गरेका थिए। त्यही भएर थापाको कार्यकालमा उनले सशस्त्र प्रहरीमा ठूलै काम पाए। पछि तिनै थापाको बूढानीलकण्ठस्थित घर कम्पाउन्ड यिनै भारतीले किनेका थिए।

सम्बन्धको व्यापकताका साथमा भारती साथीभाइमाझ एक चलाख व्यापारीका रूपमा चिनिन्छन्। राजा ज्ञानेन्द्रले '१९ माघ'को कदम चालेपछि थुनामा परेका आफ्ना साथीभाइ रहेको नक्सालस्थित नेपाल प्रहरीको एक नम्बर गणमा पुगेका भारतीले त्यहाँ थुनिएका साथीभाइलाई नै नचिनेको व्यवहार गरे। तिनैमध्येका एक कांग्रेस युवा नेता रामहरि खतिवडा भन्छन्, "हामीले भारतीजी भनेर बोलाउँदा नचिनेको व्यवहार गरे, खुला भइसकेपछि भेट्दा परििस्थतिले बोल्न अप्ठ्यारो भयो भने।"

सुडान प्रकरणमा भारतीको संलग्नताको रोचक कथा छ। नेपाल प्रहरीलाई सुडान मिसनका लागि प्रस्ताव आइरहे पनि बन्दोबस्तीका सामान खरदि गर्न बजेट थिएन। आपूर्तिकर्ताको सूचीमा रहेका ठेकेदारहरूमध्येबाट तत्कालीन महानिरीक्षक ओमविक्रम राणाले दुई वर्षका लागि उधारोमा सामान आपूर्ति गर्न सक्ने कम्पनी खोजे। यसमा अरू सबै ठेकेदार पछाडि हटे, भारती अघि सरे। खासमा प्रहरीले गर्ने ४० प्रतिशत भुक्तानीबाट अरू ६० प्रतिशत सामान पनि किन्नुपर्ने थियो। "भारतीले त्यो काम ४० प्रतिशतबाटै पूरा गरििदए, थप ६० प्रतिशत बाँडचुँडमै सकियो," राणासँग निकट एक ठेकेदार भन्छन्। उनका अनुसार सरकारी निकायले उधारोमा सामान किनेको त्यो घटना पहिलो थियो।

भारतीनिकट एक कारोबारीका अनुसार सुडान प्रकरणले अझै पाँच वर्ष सेना/प्रहरीमा रहेको भारतीको वर्चस्व हटाउन सक्ने छैन। किनभने, प्रत्यक्ष र परोक्ष रूपमा उनीसम्बद्ध र्फममार्फत सेनामा आधा दर्जनभन्दा बढी ठेक्का चलिरहेका छन्। प्रहरीले सुडानकै लागि खरदि गरेको नयाँ एपीसीमा पनि अप्रत्यक्ष रूपमा उनकै संलग्नता रहेको स्रोतको दाबी छ। "शम्भुले कमाएको सम्पत्तिको मूल स्रोत संकटकालमा सेनामा हतियार र बन्दोबस्तीका सामान आपूर्तिबापत आएको कमिसन हो," उनलाई नजिकबाट चिन्ने एक कांग्रेस नेता भन्छन्। यसपछि उनले सशस्त्र प्रहरी र नेपाल प्रहरीका ठेक्कापट्टाबाट पनि मनग्य आम्दानी गरे। "शम्भुलाई अब सेना/प्रहरीको ठेक्का नपाए पनि पुग्छ," उनका एक मित्र भन्छन्, "उनले अरू नै व्यवसायमा हात हालिसकेका छन्।" स्रोतका अनुसार तरला इन्टरनेसनलबाट नेपाल बंगलादेश बैँकमा आएको १० लाख अमेरकिी डलर, जो हालै सरकारले जफत गरेको छ, भारतीकै थियो। उनको अरू कुनै कामबापत आएको कमिसन थियो त्यो।

आठ वर्षअघिसम्म यामाहा कम्पनीको आरएक्स मोटरसाइकल चढ्ने उनी अहिले नवधनाढ्य भएका छन्। कति छ त उनको सम्पत्ति? भारतीजस्तै कारोबारमा संलग्न उनीनिकटका एक व्यवसायीको अनुमानमा, उनको सम्पत्तिले अर्बको आँकडा छुन्छ। भन्छन्, "कति कमाएका छन्, कताकता लगानी गरेका छन्, अन्दाज गर्न गाह्रो छ।" अहिले उनी ललितपुरको भैँसेपाटीमा रहेको घरमा बस्छन्। राजधानीमै उनको अरू धेरै अचल सम्पत्ति पनि छ।

सेना र प्रहरीमा हतियार र बन्दोबस्तीका सामान खरदिको टेन्डर आह्वान भयो भने धेरै फारम भारती, उनका नातेदार र साथीहरूको नाममा रहेका र्फमका हुने गर्छन्। रणनीतिक रूपमा भरनिे यस्ता फारमहरूमध्ये एक न एकलाई टेन्डर पर्छ नै। जस्तो : सुडानको एपीसी प्रकरणमा पनि १४ वटा फारम भारती, उनका नातेदार र साथीका नाममा रहेका र्फमका थिए। तीमध्ये सबैभन्दा कम मूल्यको फाइल सदर भएको एक उच्च प्रहरी अधिकृत बताउँछन्।

तर, यी सबै गर्नका लागि उनको पार्टी नेता र सुरक्षा निकायका उच्चपदस्थहरूसँगको सम्बन्धले नै काम गरेको छ। जस्तो : पूर्वगृहमन्त्रीहरूलगायत विभिन्न पार्टी नेताहरूसँग उनको सम्बन्ध गाढा छ। उनका एक व्यावसायिक मित्र भन्छन्, "उनी त व्यापारी हुन्, आफ्नो फाइदा हेर्ने नै भए। बिगार्ने त नेता, प्रशासक र सुरक्षा निकायका अधिकारीहरू नै हुन् नि !"

भारतीको पारिवारिक पृष्ठभूमि

डडेल्धुराको रूपाल गाविस-४, भट्टानी गाउँमा रहेको पुख्र्यौली घरबाट भारती परिवार विसं २०३५ मा बसाइँ सरेर कञ्चनपुरको सुडा गाविस-३, शिशैयामा आएको हो। पूर्वपश्चिम राजमार्ग किनारको करबि चार बिघा जग्गामा बसेको भारती परिवार हालसम्म सगोलमै छ।

भारती परिवार पुख्र्याैली घर रूपालमा समेत आर्थिक दृष्टिले खान पुग्ने राम्रै अवस्थाको परिवार मानिन्थ्यो। उनका बूढाबाजे रामी भारतीको उतिबेला कञ्चनपुरको ब्रह्मदेवमण्डीदेखि डडेल्धुरा र छिमेकी जिल्ला बैतडी सलेनासम्म कपडाको व्यापार थियो। त्यसैले आर्थिक दृष्टिकोणले यस परिवारको रूपालमा राम्रै व्यवस्था थियो।

शम्भुका जेठा दाजु महादेवका अनुसार शम्भुले एसएलसी घरनजिकैको घटाल मावि, सुडाबाट गरेका हुन्। करबि दुई वर्षअघि निधन भएका पदम भारतीका पाँच छोरामध्ये ४२ वषर्ीय शम्भु काइँला छोरा हुन्। एसएलसी पास गरेपछि ठेक्कापट्टाको कामसँगै काठमाडौँ गएर पढ्न थाले। काठमाडौँमै विवाह गरेर शम्भु उतै बस्न थाले। उनी काठमाडौँमा बसेर विभिन्न ठेक्कापट्टा र कमिसन एजेन्टका रूपमा काम गर्दै आएको उनका दाजुभाइलाई जानकारी छ। "तर, यसपटक भने सुडानको कुराले निकै बबाल मच्चिइरहेको खबरले हामीलाई पनि चिन्तित बनाएको छ," जेठा दाजु महादेव भन्छन्।

शम्भु पछिल्लोपटक गत असोजमा बुबाको वाषिर्कीमा कञ्चनपुर आएका थिए। उनले दुई वर्षअघि आफ्ना बुबा पदम भारतीका नाममा सुडा गाविसको रेडक्रस उपशाखालाई एम्बुलेन्स पनि दिएका थिए, जो अहिले सञ्चालनमै छ। यस्तै, आफ्नो पुख्र्यौली थलो रूपालको भागेश्वर मन्दिर निर्माणमा पनि शम्भुले आर्थिक सहयोग गरेका थिए।