Wednesday, June 22, 2011

मैले यसकारण पिटेँ भुवन केसीलाई - nayapatrika


रस्तुति: लक्ष्मण सुवेदी 
तस्बिर: श्रीधर पौडेल 



image
भुवन केसीले मेरो सुखी परिवारमा आँखा गाडेर मेरो जिन्दगी नै तहस-नहस गरिदियो । उसलाई यो सोझो नेवारको श्राप लाग्छ । यत्तिका वर्ष मसँग बिताएकी शर्मिलालाई पनि मजस्तो सोझो लोग्नेको आँसु लाग्छ ।
रत्नसिंह डंगोल
सुपरस्टार अभिनेता भुवन केसी गत वैशाख ३१ गते कोटेश्वरको बीचसडकमा कुटिएका थिए । सानेपाका ग्यारेज व्यवसायी रत्नसिंह डंगालेकी श्रीमती शर्मिला डंगोललाई आफ्नी 'लेटेस्ट गर्लफ्रेन्ड’ भनेर चिनाउँदै हिँडेका भुवनलाई त्यसदिन उनै 'गर्लफ्रेन्ड’का पति रत्नसिंहले कुटेका थिए । तर, त्यो कुरा भुवनले 'हावादारी’ भएको दाबी गर्दै आएका थिए । नयाँ पत्रिकाले जेठ १ गते छापेको भुवन केसी कुटिएको समाचारले देशविदेशमा तरंग उत्पन्न गरायो । आखिर किन र कसरी कुटिएका भुवन ? भुवनलाई बीच सडकमा पिटेका शर्मिलाका पति रत्नसिंह डंगोलको बयानः
मेरो नाम रत्नसिंह डंगोल हो । घर ललितपुर, सानेपा हो । म ५३ वर्षको भएँ । म गाडीको काम गर्छु । सानेपामा मेरो रत्न अटो वर्कसप छ । मैलै बच्चैदेखि गाडीको काम गरेको हुँ । मैले ०४० सालमा लगनखेलकी शर्मिला डंगोलसँग मागी बिहे गरेको हुँ । हाम्रो २६ र २१ वर्षका दुईवटी छोरी छन् ।
कामको सिलसिलामा म पहिला धेरै समय इन्डिया, इटली र लिबिया बसेँ । पछि काठमाडौंमा ग्यारेज खोलेँ । म हरेक समय काममा व्यस्त हुन्छु । मलाई आफ्नो काम, घरपरिवारबाहेक अरू कुराको हेक्का हुँदैन । केही महिनाअघिसम्म मेरो परिवार निकै सुखद् थियो । म आफ्नी श्रीमतीप्रति गर्व महसुस गर्थें । मैले ग्यारेजको काम गर्ने, उनले कुर्ता पसल चलाउने । जिन्दगी निकै सहजताका साथ बितिरहेको थियो । छोरीहरू पनि हुर्किसकेका, अनुशासित, लगनशील र शिक्षित छन् । यसमा मलाई निकै खुसी लाग्छ । जेठी छोरी आमासँगै कुपण्डोल, कानदेवतास्थानमा रहेको बुटिक चलाउँछिन् । तर, मेरी श्रीमतीले गति छाडिन् । जसकारण मलाई यो बुढेसकाल निकै पीडादायक भएको छ । म कहिल्यै पनि श्रीमतीप्रति शंका गर्ने मान्छे होइन । र, मैले शंका पनि गरिनँ । म श्रीमतीलाई निकै माया गर्थें । २८ वर्षको दम्पत्य जीवनमा मैले कहिल्यै पनि श्रीमतीले भनेको कुरा काटिनँ । उनले जे चाहन्थिन्, मैले पूरा गरेँ । अत्यधिक माया र विश्वासका कारण मैले मेरो सबै सम्पत्ति उनकै नाम राखेँ । मैले जति कमाएँ, सबै रकम, गरगहना पनि उनकै नाममा राखेँ । तर, मैले कहिल्यै सोचेको थिइनँ कि उनले मलाई धोका देलिन् भनेर । 
शर्मिलाले पहिला मंगलबजारमा कुर्ताको दुईवटा पसल गरेकी थिइन् । उनले ती पसल बेचिन् । अनि, कुपण्डोलमा बुटिक खोलिन् । उनले गरेको निर्णयमा मैले कुनै अब्जेक्सन गरिनँ । मलाई लाग्यो, उनले जे गर्न खोजेकी छिन्, राम्रै हुन्छ । छोरीहरूले पनि बुटिक व्यवसाय राम्रो हुने बताए । बुटिक राम्रै चलिरहेको थियो । म हरेक बिहान ९ बजे ग्यारेज पुग्छु । दिउँसो खाना खान एकचोटि घर जान्छु । त्यसपछि फेरि ग्यारेजमै व्यस्त हुन्छु । कामदार छन्, उनीहरूलाई अह्राउने, सिकाउने, गाडी खरिद, बिक्री गर्ने काममै भ्याइनभ्याइ हुन्छ मलाई । राति ८ बजेतिर मात्र घर फर्किन्छु । ववर्षौंदेखि मेरो दैनिकी यसरी नै चलेको हो । सातामा एक दिन भने घरपरिवारमै रमाउने गरेको थिएँ । जिन्दगी रमाइलोसँग बितिरहेको थियो । तर, श्रीमतीले मलाई धोका दिइन् । मैले उनलाई धेरै माया र विश्वास गरेको थिएँ । उनी बुटिकमा व्यस्त हुन्थिन् । उनी ४४ वर्षकी भइन् । मैले कहिल्यै सोचेको थिइनँ कि उनले यो उमेरमा आएर मलाई धोका देलिन् भन्ने । 
वैशाख ३ गते बिहान म एक्कासि झस्किएँ । मलाई मेरो साथीभाइ, आफन्तले शर्मिला भुवन केसी भन्ने हिरोको प्रेममा परेको कुरा सुनाए । मैले विश्वास गर्नै सकिनँ । उनीहरूले पत्रिका देखाए । पत्रिकामा शर्मिला र त्यो हिरोको फोटो छापिएको रहेछ । त्यो हिरोले मेरी श्रीमतीलाई आफ्नो गर्लफ्रेन्ड भनेको रहेछ । म यो कुराले छाँगाबाट खसेझै भएँ । मैले शर्मिलालाई कुरा के हो भनेर सोधेँ । उनले, त्यो हिरो आफ्नो बुटिकमा आइरहने र आफूहरू एउटा कार्यक्रममा गएको वेलामा मिडियाले त्यत्तिकै लेखिदिएको बताइन् । मेरा साथीभाइ, आफन्तले भुवन केसी नेपाली फिल्मको चर्चित हिरो हो भन्थे, तर मैले उसलाई चिनेको थिइनँ । मलाई उसको कुनै फिल्मसिलिममा इन्ट्रेस्ट थिएन र छैन पनि । मैले उसको कुनै फिल्म हेरेको पनि छैन । उसलाई चिनेको पनि छैन । हिरोसँग श्रीमतीको नाम जोडिएर आउँदा मलाई अचम्म लाग्यो । मैले शर्मिलाले भनेको कुरामै विश्वास माने । त्यो कुरा त्यत्तिकै साम्य भयो ।  
तर पछि, एउटा साप्ताहिक पत्रिकामा शर्मिला र भुवन केसीको ठूलो फोटो छापियो । त्यसमा उनीहरू गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड भएको कुरा छापिएको थियो । त्यो कुरा सबैले थाहा पाए । मलाई मेरो सबै आफन्त, साथीभाइ, इष्टमित्रहरूले यो के हो भनेर सोधे । मेरो बेइज्जत भयो । मैले यो कुरा शर्मिलालाई सोधेँ, उनले मिडियाले त्यत्तिकै लेखेको भनेर टार्न खोजिन् । बारम्बार एउटै कुरा आइरहेको छ, मेरो श्रीमतीलाई अर्का मान्छेले आफ्नी गलफ्रेन्ड भन्दै हिँडेको छ । यो कुरा कुनै लोग्नेले पनि सहन सक्दैन । मैले वास्तविकता बुझ्न चाहेँ । तर, शर्मिलाले चर्काचर्का कुरा गरिन् । मसँग झगडा गरिन् । उनको घर आउने, जाने समय पनि अनिश्चित हुन थाल्यो । बुटिक गएकी शर्मिलाको घर र्फकने टुंगो भएन । त्यही कुरामा दिनहुँ डिस्कस हुन थाल्यो । उनी निकै लापरबाही रूपमा प्रस्तुत हुन थालिन् । उनको बुबा, आमा, बहिनी, छोरीहरूले पनि यसो नगर भनेर सम्झाए, तर उनले मानिनन् । त्यतिवेला मेरी जेठी छोरी खुश्बु सिंगापुर गएकी थिइन् । उनले आफू आएपछि आमालाई सम्झाउने भनिन् । उनी मसँग बोल्न छाडिन् । मेरो फोन रिसिभ गर्न पनि छाडिन् । निकै तनाब भयो । अति भएपछि मैले उनलाई पुलिसको रोहवरमा मौखिक मिलापत्र गराएँ । पुलिसको अगाडि उनले आफू जिम्मेवार पत्नी बन्ने सहमति गरिन् । लोग्नेस्वास्नीको झगडा, परालको आगो भन्ने ठानेर मैले उनलाई घरमा ल्याएँ । घर ल्याएपछि पनि उनको चाला निको थिएन । घन्टौँ फोनमा झुन्डिने, आफूखुसी घरबाट निस्कने । आफूखुसी घर र्फकने । साह्रै हेलचेक्रयाइँ गरिन् । उनले भुवन केसीलाई भेट्न छाडेको, आफूहरूबीच असल साथीको मात्र सम्बन्ध भएको दाबी गर्दै आएकी थिइन् । 
वैशाख ३१ गते बिहान म घरबाट ग्यारेज आएँ । साढे १० बजेको थियो होला, खाना खाने वेला भएकाले घरमा फोन गरेँ । कान्छी छोरीले फोन उठाइन् । उनले आमा गाडी लिएर भर्खरै घरबाट निस्किएको बताइन् । म बाइकमा हतार-हतार घर पुगेँ । शर्मिला गाडी लिएर भर्खर क्रस मात्र भएकी थिइन् । मैले उनलाई देखेँ, उनले मलाई देखिनन् । मैले उनी कहाँ हिँडेकी हुन् भनेर फलो गरेँ । उनको गाडी सानेपाबाट कुपण्डोल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर, मीनभवन हुँदै सिनामंगलतिर मोडियो । मैले उनी कहाँ जान्छिन् भनेर पिछा गरिरहेको थिएँ । उनले एयरपोर्ट गेटअगाडिको कलाकार गल्लीमा गाडी रोकिन् र ब्याक गरिन् । म ट्राफिक बिटनेर बाइक रोकेर उनको चर्तिकला हेरिरहेँ । ५ मिनेटजतिमा भुवन केसी आएर शर्मिलाको गाडीमा बस्यो । उसले सिट ढल्काएर आफ्नो अनुहार लुकायो । शर्मिलाले गाडी अघि बढाइन् । मैले फेरि पिछा गरेँ । शर्मिलाले गाडी तीनकुने हुँदै कोटेश्वरतिर हाँकिन् । मैले बाइकको स्पिड बढाएँ । कोटेश्वर चोक पुग्नुअघि मैले उनलाई गाडी रोक भने । उनले मलाई देखिन्, तर वास्ता नगरी गाडी अझै स्पिडमा हाकिँन् । मैले पटकपटक उनलाई गाडी रोक्न भनेँ । उनले मानिनन् । अनि मैले गाडीको अगाडि लगेर बाइक रोकेँ । बाइकले बाटो छेकेपछि बल्ल उनले गाडी रोकिन् । मैले त्यो भुवन केसीलाई मेरो गाडीबाट ओर्लिन भनेँ । ऊ मानेन । सायद उसले मलाई शर्मिलाको लोग्ने हो भन्ने चिनेको थिएन । मैले उसलाई पटकपटक ओर्लिन भनेँ । उसले मिडियाले देख्यो भने लाज हुन्छ, पछाडि बस्नुस् भन्यो । ऊ मेरी श्रीमती लिएर हिँड्ने अनि उसकै ठूला कुरा ? शर्मिलाले गाडी अघि बढाउन खोज्दै थिइन् । मैले झ्यालबाट हात छिराएर भुवन केसीको कठालो समातेँ । ऊ गाडीबाट ओर्लियो । अनि मैले रिसको आवेगमा उसलाई हात, खुट्टा र हेल्मेटले अन्धाधुन्द हानेँ । मान्छेहरू जम्मा हुन थाले । मैले उसलाई मज्जाले हान्न पाइनँ । ऊ मलाई बेबकुफ हो, पागल हो भन्दै फुत्किएर भाग्यो । मान्छेहरूले मलाई बीच बाटोमा झगडा गर्ने भनेर कराउन थाले । गाडीले गर्दा जाम भयो । ट्राफिक आइपुग्यो । ट्राफिकले हाम्र्रो गाडी लग्यो । गाडी शर्मिलाले चलाइन् । म अगाडिको सिटमा बसेँ । ट्राफिककोमा पुगेपछि उनीहरूले बीच बाटोमा किन झगडा गरेको भनेर सोधे । मैले शर्मिला मेरी पत्नी भएको बताएँ । ट्राफिकले शर्मिला र मेरो लाइसेन्स हेरे । पति-पत्नी भएको थाहा पाएपछि तुरुन्तै छाडिदिए । मैले शर्मिलालाई लिएर घर आएँ । 
घर आएपछि उनको र मेरो फेरि झगडा भयो । सबैले उनलाई सम्झाए, तर उनले मानिनन् । उनले मलाई छाड्ने कुरा गरिन् । मैले भुवन केसीलाई पिटेको कुरा अर्का दिन मिडियामा आयो । त्यसपछि त झनै तनाब भयो । त्यसपछि उनी घरमा बस्नै छाडिन् । उनी बुटिकमै बस्छु भनेर गएकी हुन्, तर त्यहाँ बस्दिनन् । आमाबुबा, बहिनी, छोरीहरूले सम्झाए, तर उनले मानिनन् । अहिले हामीहरू कसैको फोन उठाउँदिन ।  
शर्मिला बुद्धी भएकी आइमाई होइनन् । उनले जम्मा-जम्मी ४ कक्षा पढेकी छिन् । उनले मलाई डिभोर्स पेपर पनि पठाएकी छिन् । यस्ता कुरा उनले जान्दिनन् । यो सबै भुवन केसीको खेल हो । मेरो ग्यारेज भएकाले शर्मिलाले फेरिफेरि गाडी चढ्ने र बुटिक पनि राम्रै चलाउने गरेकी थिइन् । भुवन केसीले शर्मिलालाई निकै सम्पत्तिवाल ठान्यो । जसकारण ऊ शर्मिलाको पछि लाग्यो । शर्मिलालाई भुवन केसीले आफ्नो षड्यन्त्रको सिकार बनाएको छ । शर्मिलाले यो कुरा बुझेकी छैनन् । मेरो सबै सम्पत्ति उनको नाममा छ । मेरी दुवै छोरीको बिहे हुन बाँकी नै छ । ६ महिनापछि जेठी छोरीको बिहे हुँनैछ । त्यसका लागि साँचेको गरगहना, पैसा सबै उनैले लगेकी छिन् । मेरो नाममा त केही पनि छैन । शर्मिला जहाँ जाउन्, मलाई मतलब छैन । अब उनलाई कुनै हालतमा पनि म स्विकार्दिनँ । मेरो लागि उनी मरिसकिन् । मेरो छोरी, सुसुराली आफन्तले पनि उनको माया मारिसके । मैले उनले भनेको जस्तो सजिलैसँग डिभोर्स दिन्न । उनी जहाँ, जोसँग गए पनि जाउन्, तर मेरो सम्पत्ति मलाई फिर्ता गरेर मात्र । भुवन केसीले मेरो सबै सम्पत्ति खाने दाउ गरिरहेको छ । उसको यो षड्यन्त्र कुनै हालतमा पनि सफल हुन दिन्नँ म । मैले दुःख गरेर कमाएको सम्पत्ति मेरा छोरीहरूलाई चाहिन्छ । 
भुवन केसीले मेरो सुखी परिवारमा आँखा गाडेर मेरो जिन्दगी नै तहस-नहस गरिदियो । उसलाई यो सोझो नेवारको श्राप लाग्छ । यत्तिका वर्ष मसँग बिताएकी शर्मिलालाई पनि म जस्तो सोझो लोग्नेको आँशु लाग्छ । छोरीहरूको बिहे गर्ने वेलामा आमाले गति छाडेपछि भोलि ती बच्चाको जिन्दगी कस्तो होला भन्ने उनले सोचेकी छैनन् । शर्मिला आइमाईको नाममा कलंक हो । भुवन केसी त सबै पुरुषको नाममा धब्बा हो । पर्दामा आदर्शका कुरा गर्ने भुवन केसी हिरो होइन, भिलेन हो । उसले अर्काकी श्रीमतीलाई आफ्नी गर्लप|mेन्ड भनेर चिनाउँदै हिँड्न लाजै मानेन । ऊ आफैँ बिगि्रएको मान्छे हो । मैले सुनेको यसले यसअघि तीनचोटि बिहे गरेर स्वास्नी छाडिसक्यो रे । यस्तो मान्छे कसरी हिरो हुन सक्छ ? शिव श्रेष्ठ, राजेश हमालहरूले कति राम्रो काम गरिरहेका छन् । तर, भुवन केसी साह्रै घटिया मान्छे रैछ । डिभोर्स नहुन्जेल कानुनी रूपमा शर्मिला मेरी स्वास्नी हो । तर, मैले उनीहरू रातिराति घुमिरहेको चाल पाएको छु । मैले रंगे हात पक्रिएँ भने उनीहरूलाई के गर्छु, कसैले अन्दाज पनि गर्न सक्दैन । उसले आज रत्नसिंह डंगोलको जिन्दगी बर्बाद पार्‍यो, भगवान््ले एकदिन उसको जिन्दगी बर्बाद पार्ने छन् ।