Tuesday, June 28, 2011

भात खाने बानी घटाउन सकिन्छ - onlinekhabar


–डा. हरि दाहाल, प्रवक्ता, कृषि तथा सहकारी मन्त्रालय
सरकारले हरेक वर्ष असार १५ मा धान दिवस मनाउँछ । मानु खाएर मुरी उब्जाउने यो बेला किसानलाई रोपाईंको चटारो हुन्छ । अहिले पनि देशका धेरै ठाउँमा धमाधम रोपाईं भैरहेको छ । यसवर्ष बेलामा पानी परेकोले रोपाईं पनि छिटो शुरु भएको छ । यसवर्ष धान उत्पादन पनि बढ्ने अनुमान छ । विगतका वर्षहरुमा उत्पादन कम भएकाले भाते बानी कम गर्ने बहस पनि चलेको थियो । भाते बानी र धान उत्पादनको विषयमा कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर हरि दाहालसँग गरिएको कुराकानी ।
यस वर्ष धान दिवसमा कस्ता कार्यक्रम हुँदैछन् ?
रोपाईं गर्ने, धानको महत्वबारे प्रचार गर्ने, खाद्य सुरक्षाबारे चेतना जगाउने लगायतका कार्यक्रम सहित यो वर्ष धान दिवस मनाईंदैछ ।
खाद्य सुरक्षाको लागि भात खाने बानी कम गर्नुपर्यो पनि भन्नुहुन्छ नि किन ?
नेपालीलाई वर्षेनी ६२ लाख मेट्रिकटन चामल चाहिन्छ । तर, यहाँको उत्पादन जम्मा ४४ लाख मेट्रिकटन मात्रै छ । अपुग चामल आयात गर्नुपरेको छ । धान उत्पादन बढेपनि बढ्दो जनसंख्याका कारण खाद्यान्न अभाव भैरहेको छ । यस्तो अवस्थामा चामलको भात खाने बानी कम गर्नु पर्यो भन्ने हाम्रो जोड हो ।
भाते बानी कसरी कम गर्ने ?
भातको सट्टा अरु वैकल्पिक खाद्यान्न खाने ।
के खाने त ?
मकै, कोदो, गहुँ लगायत अरु खाद्यान्नको प्रयोग गर्ने ।
भातकै कारण मान्छे मोटाएका छन् । भातको काम अरु खाद्यान्नले कसरी गर्न सक्छ ?
बढी कार्बोहाईड्रेड भएकाले भात धेरै खाने मोटाउँछन् । तर बढी मोटाहरुलाई सुगरको रोग पनि लागेको छ नि । पछि रोग लागेर कम खानुभन्दा पहिलेदेखि नै भात कम खाने बानी बसाल्न सकिन्छ ।
बिहान बेलुका भात नखाई चित्त नबुझन्े मान्छेको बानी कसरी परिवर्तन गर्न सकिन्छ ?
त्यो त विस्तारै चेतना जगाउनुपर्छ । अर्को कुरा मकै, कोदो लगायतका परिकारलाई अझै आकर्षक र स्वादिलो बनाउन सकिन्छ । यसो हुँदा चामलको भात खाने बानी परेकालाई वैकल्पिक खाद्यान्नमा आकर्षण बढाउन सकिन्छ ।
भाते बानी घटाउने की धान उत्पादन बढाउने ?
दुवै गर्ने हो ।
धान उत्पादन बढाउनको लागि के काम भैरहेको छ ?
हामीले अनुसन्धान र विकासका बिभिन्न कार्यक्रम गरिरहेका छौं ।
जति अनुसन्धान गरेपनि किसानलाई सहुलियत त छैन नि ?
मलमा छ । अब बीऊमा पनि दिने हाम्रो सोच छ ।
कृषि क्षेत्र रोजाई नबन्दा धान फलाउने भन्दा भात खाने मान्छे धेरै हुन थाले । के गर्ने ?
हो, अब किसानको लागि बिभिन्न किसिमका सहुलियत कार्यक्रम ल्याउनुपर्छ । जसले यो क्षेत्रलाई आकर्षित बनाउन सकोस् । लगानी बढाउने, सहुलियत दिने र किसानले श्रमको मूल्य पाउने गरी कार्यक्रम ल्याउने सरकारको सोंच छ । विविधता ल्यायौं भने पक्कै पनि धानको आयात हटाएर निर्यात गर्न सक्ने अवस्थामा हामी पुग्छौं ।