Monday, June 6, 2011

रामदेवका सहयोगी सम्पर्क विहीन - onlinekhabar


रामदेवका सहयोगी सम्पर्क विहीन

२४ जेठ, काठमाडौँ । भारतीय योग गुरु बाबा रामदेवका सहयोगी नेपाली नागरिक स्वामी बालकृष्ण रहस्यपूर्ण ढंगले सम्पर्क विहीन भएका छन् ।
भ्रष्टाचार रोक्न र विदेशी बैंकमा राखिएका कालो धन फिर्ताको माग गर्दै अनसन बसेका रामदेवलाई शनिबार राति प्रहरीले जवर्जस्ती हटाउने क्रममा सँगै रहेका बालकृष्ण त्यसयता हराइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अनसन बसिरहेको स्थान नयाँदिल्लीको रामलीला मैदानबाट प्रहरीले पक्रेर रामदेवसहित उनका समर्थकलाई हरिद्वार पुर्‍याइए पनि बालकृष्णको भने अझै पत्तो छैन ।
सँधै रामदेवको पछाडि उभिएका देखिने बालकृष्ण हरिद्वारको पतञ्जली योगपीठमा रामदेवले गरेको पत्रकार सम्मेलन र हिजोदेखि पुनः थालेको अनसनमा समेत देखिएका छैनन् ।
सत्तारुढघटक कंग्रेस आइले भने बालकृष्ण खतरनाक भएको आरोप लगाएको छ । त्यहाँका सञ्चारमाध्ययमहरुले कांग्रेस महासचिव दिग्विजय सिंहको हवाला दिँदै बालकृष्ण नेपालमा अपराध गरी भारत पसेको र उनले नक्कली राहदानीको व्यापार गर्ने गरेको समाचार सार्वजनिक गरिरहेका छन् ।