Wednesday, April 10, 2013

अर्बपति बाबु मार्न ‘सुपारी’ - rajdhani


दिल्लीका अर्बपति व्यापारी तथा बहुजन समाज पार्टीका नेता दीपक भारद्वाजको हत्याको अनुसन्धानको सिलसिलामा दिल्ली प्रहरीले उनका छोरा नितिशलाई पक्राउ गरेको छ । दिल्ली प्रहरीका अनुसार नितिश भारद्वाजलाई कथित रूपमा उनका पिताको हत्याको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको हो । दिल्ली प्रहरीका अधिकारी छाया शर्माले यसको पुष्टि गर्दै मंगलबार सञ्चारकर्मीहरूलाई सम्बोधनसमेत गरेकी छन् ।
‘नितिशले एकजना चिनेका वकिल बलजितसँग मिलेर सो योजना फत्ते गरेका हुन्,’ उनले पत्रकारमाझ भनिन् । उनले दीपक भारद्वाज र उनका छोरा नितिशबीच व्यापारको विषयमा विवाद चल्दै आएको पनि बताइन् । बलजितलाई पनि हत्यामा सहयोग गरेको भन्दै गिरफ्तार गरिएको छ । गएको २६ मार्चको बिहान दीपक भारद्वाजको एउटा फार्म हाउसमा हत्या भएको थियो ।
दीपक भारद्वाज निर्माण व्यवसायमा छन् र धेरै राज्यमा उनको ठूलो परियोजना चलिरहेका छन् । उनी द्वारिकामा एउटा विद्यालयसमेत चलाउँछन् । हतियार बरामद प्रारम्भिक अनुसन्धानपछि दिल्ली प्रहरीले हत्याको कारण व्यक्तिगत रिसइबी हुन सक्ने आशंका गरेको थियो । प्रहरीले उनको निकटकै मानिसबाट हत्या भएको हुन सक्ने बताएको थियो । हत्यापछि दिल्ली प्रहरीले दीपकका छोरासँग धेरै पटक सोधपुछसमेत गरिसकेको छ । त्यसैगरी, छुट्टिएर बसिरहेकी उनकी पत्नीसँग पनि सोधपुछ गरिएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरीले सोमबार हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेका छन् । दिल्ली प्रहरीका अनुसार यो हतियार हरियाणाको एउटा नहरबाट बरामद गरिएको थियो । यसअघि प्रहरीले अन्य दुईजनालाई पनि समातेको थियो र उनीहरूले प्रतिमा नन्दको नाम लिएका थिए । तथापि, अहिले भने भारद्वाजकै छोरालाई हत्याको आरोपमा समातिएको छ । सन् २००९ को आम निर्वाचनमा दीपक भारद्वाजले बहुजन समाज पार्टीको तर्फबाट चुनाव लडेका थिए । ६ सय करोड भारु सम्पत्ति घोषणा गरेका उनी निर्वाचमा उम्मेदवारी दिने सबैभन्दा धनी नेतामध्ये परेका थिए ।