Tuesday, April 9, 2013

‘किलिण्डर’ले दुई रुपैंयाको टिकट नकाट्ने साझा बसभित्र टेलिभिजन हेर्न पाइने (फोटो फिचर) - onlinekhabar

मिलन चौतारी
 चिटिक्क परेको हरियो बसभित्र बस्न पनि धकलाग्दा सुविधाजनक सिट ! अगाडि र पछाडि सीसीटीभी ! चालकको माथिपट्टि ठूलो आकारको टेलिभिजन !
टेलिभिजन खोल्नेबित्तिकै गीत बज्न थाल्यो- ‘साझा बसमा जो पनि चढ्दछ, किलिण्डरले दुई रुपैंयाको टिकट काट्दछ……….।’ गीत बज्न थालेलगत्तै साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले अनलाइनखबरसित भन्नुभयो-’टिकटचाहिँ दुई रुपैंयाको हुँदैन है ।’
sajha-bus-main
नयाँ वर्ष अर्थात् आइतबारदेखि काठमाडौं उपत्यकामा सञ्चालनको तयारीमा रहेको साझा बसले सरकारले निर्धारण गरेको भाडादर लागू गर्ने भएको छ । साझाबस भन्नेबत्तिकै अरु बसभन्दा कम भाडा हुने आमयात्रुको अपेक्षा रहेपनि भाडा पहिलेजस्तो सस्तो नहुने भएको छ । ‘सरकारले तोकेअनुसार न्यूनतम १५ रुपैंया भाडा हो, तर अरु बसलेजस्तो हामी मनपरि भाडाचाहिँ लिँदैनौं’ महर्जनले भन्नुभयो ।
बन्द भएको झण्डै १२ वर्षपछि सञ्चालनको तयारीमा रहेको साझा बसले पहिलेजस्तै यात्रुको विश्वास जित्ने प्रयास गरेको छ । ‘विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई समेत भाडामा सहुलियत दिने हाम्रो तयारी छ’ महर्जनले भन्नुभयो । उहाँका अनुसार विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई १० रुपैंया भाडादर निर्धारण गरिएको छ । ज्येष्ठ नागरिकले सहुलियत दावी गर्न बृद्धभत्ता बुझेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।
सीसीटीभी र टेलिभिजन मुख्य आकर्षण
तत्काल १६ वटा बसमार्फत् काठमाडौंभित्र मार्फत् सञ्चालन हुन लागेको साझाले यात्रुलाई अध्याधुनिक सेवा, सुविधा दिने बताएको छ ।
sajha-bus-4
साझा बसमा रहेको टीभी ।
५४ वटा सिट भएको अत्याधुनिक बसभित्र टेलिभिजन स्क्रीन र सीसीटीभी जडान गरिएको छ । ‘बसको अघिल्लो र पछिल्लो भागमा राखिएका सीसीटीभीले अनधिकृत यात्रुको निगरानी गर्नेछ’ महर्जनले भन्नुभयो । यस्तै यात्रुलाई मनोरञ्जन, ट्राफिक चेतना र अरु शिक्षा प्रदान गर्न हरेक बसमा टेलिभिजन राखिएको छ । बसमा यात्रु हुँदासम्म टेलिभिजन चल्ने साझा यातायातले जनाएको छ ।
sajha-bus-3
बसमा रहेको रहेको सीटी टीभी देखाउँदै कार्यकारी अधिकृत पदमलाल मर्हजन ।
बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई रुटमा चल्ने साझा बसका थप विशेषता यस्ता छन् :
· हरेक बसमा दुईवटा ढोका । पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट ओर्लने मात्र । अगाडिको ढोकाबाट चढ्न नपाइने ।
· टिकट लिएर मात्रै यात्रा गर्न पाइने ।
· दुवैतिरका अघिल्ला सिट महिला, अपांग र अशक्त यात्रुको लागि मात्र ।
· बसको अगाडि र पछाडि आकस्मिक ढोका ।
· चालकको पछिल्तिर आगो निभाउने यन्त्र ।
· ‘पिक आवर’ मा हरेक १५ मिनेट र अरुबेला २० देखि २५ मिनेटमा बस छुट्ने ।
· सकभर क्षमताभन्दा बढी यात्रु नराख्ने । तर ‘पिक आवर’ मा यात्रुको घुईंचो हुँदा ठेलमठेल नहुने गरी मात्र सीट क्षमताभन्दा केही बढी यात्रु राख्ने ।
· उभिने यात्रुको सुविधाको लागि समाउने ठाउँको व्यवस्था ।
· सिट बेल्ट ।
चालकलार्इ ट्राफिक अवस्थाबारे जानकारी लिन छुट्टै रेडियो ।
· ‘ट्रान्सफर टिकट’ को सुविधा । अर्थात कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको साझामा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझा बसबाट महाराजगञ्ज जान खोजेमा दोस्रो बसमा पूरै भाडा तिर्न नपर्ने । पहिलो बसमा पूरा भाडा र अर्को बसमा आधा भाडा तिरेर पुग्न सकिने ।
sajha-bus-7
पहिले अनावश्यक कर्मचारीका कारण घाटामा गएर बन्द भएको साझालाई त्यो अवस्थामा पुग्न नदिन सचेत भएको नयाँ व्यवस्थापनले जनाएको छ । अहिले अर्धसरकारी ढाँचामा साझा बस सञ्चालन गर्न लागिएको हो । तत्काललाई काठमाडौं बाहिर चलाउने योजना नरहेको साझा यातायातले जनाएको छ ।
sajha-bus-6
साझा बसमा महिलाका लागि छुट्याइएको सिट ।
sajha-bus-5
साझा बसमा अपाङ्गका लागि छुट्याइएको सिट ।
sajha-bus-2
sajha-bus-1
संचालनका लागि तयारी अवस्थामा राखिएका बसहरू ।