सञ्चारकर्मीका रूपमा परिचित रवि लामिछानेले लगातार ६२ घन्टा १२ मिनेट लामो टेलिभिजन कार्यक्रम चलाएर गिनिज बुकमा रेकर्ड राखेका छन् । उनले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने 'थिम’मा न्युज २४ टेलिभिजनमा निरन्तर ६२ घन्टा १२ मिनेट विभिन्न क्षेत्रका एक सय दुईजना व्यक्तिसँग अन्तर्वार्ता लिएका थिए ।
नयाँ वर्ष विसं २०७० को पूर्वसन्ध्यामा सम्पन्न रविको उक्त सो विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो टेलिभिजन सोका रूपमा प्रमाणित भएको छ । सन् २००२ देखि अमेरिकामा बस्दै आइरहेका जोरपाटी, काठमाडौंका ३६ वषर्ीया रविले ६२ घन्टा टक सो चलाउँदाको अनुभूति नयाँ पत्रिकासित यसरी साटे ।
यसकारण अमेरिका भासिएँ
म नेपालमा सञ्चारकर्मीका रूपमा सफल नै थिएँ । त्यतिवेला मैले मिडियामा काम गरेको १२ वर्षजति भइसकेको थियो । टेलिभिजन, एफएममा कार्यक्रम चलाउने गर्थें । करिअर अगाडि बढाउने क्रममै ममा अमेरिकामा ब्रोडकास्टिङ जर्नालिज्म पढ्ने सोच आयो । त्यसैले म सन् २००२ मा अमेरिका पुगेँ । भिजिटिङ भिसामा गएको मान्छेले त्यहाँ पढ्न पाइँदो रहेनछ, मलाई त्यो कुरा थाहा थिएन । त्यसका लागि स्टुडेन्ट भिसामै जानुपर्ने रहेछ । त्यसपछि पढ्नका लागि प्रक्रिया मिलाउन लागेँ । तर, प्रक्रिया लामो हुँदो रहेछ, त्यसले गर्दा मेरो बसाइ लम्बियो । आखिर मैले पढ्न पनि पाइनँ । त्यतै काम गरेर बसियो ।मसित अमेरिकाको पिआर छ, तर त्यहाँको सिटिजनसिप लिएको छैन । लिने सोच पनि छैन । नेपाली नै भएर बाँच्न चाहन्छु । जहाँ रहे, बसे पनि म नेपाली हुँ, नेपाली नै भइरहन चाहन्छु ।
अमेरिकामा म बाह्रवटा सव-वे रेस्टुरेन्टको म्यानेजर छु । मेरो एउटा आफ्नै रेस्टुरेन्ट पनि छ । मेरो रेस्टुरेन्टमा सत्तरीजनाजतिले काम गर्छन् । मैले अहिलेसम्म आउने-जाने पैँतीस सय-चार हजार नेपालीलाई काम दिइसकेँ हुँला । अरूभन्दा नेपालीलाई प्राथमिकतामा राख्ने गरेको छु । रेस्टुरेन्टबाहेक नेपालीले गर्ने सांस्कृतिक कार्यक्रम सञ्चालन गर्छु । अनलाइन टिभी कार्यक्रम पनि चलाउँछु ।
रेकर्ड राख्ने सोच
अनलाइन प्रोग्राम चलाउँदा सबैले सपोर्ट गरे । आफ्नो देश चिनाउन मैले गरेको पहलमा सबै नेपालीले साथ दिए । कतिपय विदेशीले नेपाल भन्ने देश छ भन्ने कुरा पनि थाहा पाएका छैनन् । नेपाल चिनाउन उनीहरूलाई बुद्ध जन्मिएको भूमि, सगरमाथाको देशभन्दा पनि कन्फ्युज हुने गर्छन् । कतिपय पाठ्यपुस्तकमा समेत बुद्ध अन्तै जन्मिएको भनेर पढाइन्छ । त्यो कुरा मेरो मनमा गढेको थियो । त्यसकारण यो विषयमै कार्यक्रम चलाएर गिनिज बुकमा रेकर्ड राख्ने सोच आयो । करिब डेढ वर्षअघि योजना बनाएको हुँ । विभिन्न व्यक्तिसँग सल्लाह गरी कार्यान्वयनको प्रक्रियामा लागियो ।बुद्ध नेपालमा जन्मिएको कुरा प्रमाणित तथ्य भए पनि कतिपय विदेशीमा भ्रम छ । फेरि कतिपयले बुद्ध चिन्छन्, नेपाल चिन्दैनन्, कतिपयले नेपाल चिन्छन् तर बुद्ध अरू नै देशमा जन्मिएको भन्ने गलत बुझाइमा छन् । त्यसकारण बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल बुद्धको देश हो भन्ने तथ्य विश्वमा प्रचार गर्न मैले यही कुरालाई थिम बनाएको हुँ । मेरो कामले बुद्धको जन्मभूमि नेपाललाई विश्वमा चिनाउन सहयोग गरेको ठान्छु । तर, यो पर्याप्त भने छैन । अझै धेरै काम गर्नुपर्छ ।
म्याराथन टक सोको तयारी
म आफ्नो लक्ष्यप्रति मानसिक रूपमा तयार थिएँ । कसैगरी पछि हट्नेछैन, जसरी पनि लक्ष्य हासिल गरेरै छाड्नेछु भन्ने आत्मविश्वास जागेको थियो । शारीरिक रूपमा भने केही तयारी थिएन । अभ्यास पनि गरिनँ । आत्मविश्वासले नै लक्ष्य प्राप्ति भएको हो । मनले अठोट गरे पनि शरीरले साथ नदिएर बीचमै ढलिहाल्छु कि भन्ने कताकता डर भने लागेको थियो । तर, मैले आत्मविश्वासले शक्ति सञ्चय गरेकाले सफल भएँ । इनर्जी डि्रंक्स ल्याएको भए पनि खोल्नै परेन । त्यत्तिकै फिर्ता भयो ।मेरो यहाँ दश वर्ष ग्याप भएकाले को व्यक्ति कहाँ, कुन पोजिसनमा छ भन्ने थाहा भएन । त्यसैले न्युज २४ र वेलकम इभेन्ट म्यानेजमेन्टले गेस्ट छनोट गरेका हुन् । कुन गेस्टलाई कसरी, कतिवेला ल्याउने, कतिवेला पुर्याउने भन्नेलगायत सबै कुरा टिमले नै गरेको हो ।
टक सोका दौरान विभिन्न क्ष्ाेत्रका एक सय दुईजनासँग अन्तर्वार्ता लिएँ । त्यसमा नेता, उद्योगपति, व्यापारी, समाजसेवी, चिकित्सक, कलाकारदेखि लिएर विभिन्न पेसामा आबद्ध व्यक्तित्व थिए । सुरुमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वाता लिएको थिएँ । अन्तिममा भने मह जोडी हुनुहुन्थ्यो ।
मलाई जानकारी भएसम्म, बोलाएका सबैजना गेस्ट आएनन् । कतिपयले समय नमिलेको बताए । कतिपयलाई भने चाहेर पनि बोलाउन सकिएन, छुटे । कतिपय मिडियाम्यान बोलाउँदा पनि आउन चाहेनन् । लगातार ६० घन्टा कार्यक्रम चलाएर रेकर्ड राख्ने लक्ष्य मेरो थियो । त्यसकारण मेरा लागि त्यतिवेला त्योभन्दा अरू कुनै कुरा प्राथमिकतामा थिएन । मेरोजस्तै अरूका लागि पनि अरू कुरा प्राथमिकतामा थियो होला, यसमा मेरो/हाम्रो टिमको केही गुनासो छैन ।
अनुभव अनेक
६२ घन्टा एकै ठाउँमा बसेर लगातार बोलिरहँदाको अनुभव वास्तवमै असाधारण रह्यो । एकदम अनौठो । पहिला त खासै केही भएन । पहिले-पहिले कार्यक्रम होस्ट गर्दा हुनेजस्तै भयो । १३ घन्टापछि भने बीचबीचमा मलाई गाह्रो हुन थाल्यो । कतिपय गेस्टसँग कुरा गर्दा के प्रश्न सोधेँ भनेर वाक्य टुंग्याउनै गाह्रो भयो । कतिवेला भने म कहाँ छु, के गर्दै छु भन्ने कुरा पनि बिर्संदो रहेछु । वान वे मात्र कुरा गरिरहन्थेँ । कतिवेला फेरि म आफैँमा हराउँदो रहेछु । अनेकौँ अनुभव गरेँ । केही समयको अन्तरालमा टिभीले न्युज ब्रेक लिन्थ्यो । तर, मैले ब्रेक लिन मिल्दैनथ्यो । टिभीमा न्युज आएका वेला पनि म रेकर्ड राख्नका लागि बोलेको बोल्यै हुन्थेँ ।कतिपय गेस्टसँगको अन्तर्वार्ता रुचिकर भएन । कतै-कतै म आफूले पनि राम्रो गर्न सकिनँ । गेस्टले पनि गतिलो जवाफ, प्रस्तुति दिन सकेनन् । खासगरी, म स्वयंलाई रुचि नभएका क्षेत्रका व्यक्तिसँग कुरा गर्दा अल्छी लाग्यो । तोकिएको समयमा अर्काे गेस्ट नआउँदा एउटै मान्छेसँग गन्थन गरेर कुराकानी लम्ब्याइरहनुपर्ने बाध्यता पनि थियो । त्यतिवेला भने साह्रै अल्छी लागेको थियो । यद्यपि, पाहुनाका रूपमा विभिन्न क्षेत्रका विज्ञहरू भएकाले समग्रमा रमाइलो भयो । विशेषगरी प्रचण्ड, डा. भगवान कोइराला, सिएनएन हिरो अनुराधा कोइराला, डा. भोला रिजाल, हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, धुर्मुस, गायक नवीन के भट्टराई, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अनिल चित्रकारलगायतसँगको कुराकानीमा धेरै कुरा सिक्ने, बुझ्ने र मनन गर्ने मौका पाएँ ।
हुन त कार्यक्रमको थिम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थियो । तर, सबै गेस्टसित यही विषयमा गफ गरेर बस्न सम्भव थिएन । सबैलाई एउटै जिज्ञासा कतिवेलासम्म सोधिरहने ? त्यसले बोरिङ हुन्छ । र, उहाँहरूबाट आउने जवाफले पनि दर्शकलाई दिक्क पार्छ भनेर पाहुनासँग सम्बन्धित विषयमा कुरा गरिएको हो । त्यसमा अन्य कुनै कारण छैन ।
निद्रा भगाउन मैले कुनै औषधि, जडीबुटी खाइनँ । गिनिज बुकको आफ्नै नियम, मापदण्ड हुन्छ । त्यहीअनुसार अझ मैले त प्रत्येक घन्टा पाँच मिनेट पाउने छुट्टी पनि उपयोग नगरी लगातार कार्यक्रम चलाएँ । मान्छे त्यति लामो समयसम्म म अथक रूपमा कसरी बोलेँ हुँला भनेर अचम्ममा पर्छन् । यो कुरा सही हो । यो चानचुने आँट होइन । म सधैँ सकारात्मक मात्र सोच्छु । इनर्जी पोजेटिभ कुराका लागि मात्र प्रयोग गर्छु । कहिल्यै कसैसँग रिसाउँदिनँ । रिस, इगो, डाह भन्ने कुरा मेरो दिमागमै छैन । सायद त्यही पोजेटिभ शक्तिले होला, मलाई सफल बनाएको । कतिपयले मलाई ध्यान, योगा गर्छस् ? भनेर सोध्छन् । तर, मैले अहिलेसम्म ध्यान, योग गरेको छैन । अब भने गर्नुपर्ला ।
खासमा म पूरै कार्यक्रम राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएरै गर्छु भन्नेमा थिएँ । तर, स्टुडियोमा लाइटका कारण निकै गर्मी र उकुसमुकुस भयो । सो चलाएको १३ घन्टापछि दर्शकसँग माफी माग्दै डे्रस चेन्ज गरेँ । अन्तिममा फेरि दौरासुरुवाल लगाएँ ।
६० घन्टा पुगेपछि...
जब मैले कार्यक्रम सुरु गरेको ६० घन्टा पुग्यो, सबैजना खुसीले चिच्याए । त्यतिवेला म आफ्नो लक्ष्यमा सफल भएकोमा खुसी भएँ । बाहिर निस्किँदा धेरै शुभचिन्तक मलाई स्वागत गर्न तयार भएर बसेका रहेछन् । त्यो देखेर मलाई औधी खुसी र गर्व लाग्यो । रेकर्ड राखेको औपचारिक प्रमाणपत्र लिँदाको पल भने मेरा लागि अति पि्रय क्षण हो ।राति साढे एक बजेतिर मात्रै रेकर्ड सो सकियो । त्यसपछि डेढ घन्टाजति फोटो सेसन, शुभकामना, शुभेच्छा लिने कार्यक्रम चल्यो । राति साढे तीन बजे मात्रै सुतेँ । बिहान दश बजे त उठिहालेँ । निद्रा पुगिसकेको थियो । धेरै सुत्नै मन लागेन । शारीरिक समस्या पनि केही देखिएको छैन । समस्या नदेखिएकाले चेकअप गराउन आवश्यक ठानिनँ । खुट्टा भने अलि-अलि सुन्निएको थियो । पछि ठिक भयो । मानसिक रूपमा पनि केही समस्या नआएकाले अहिलेसम्म म एकदम फिट एन्ड फाइन छु ।
हुन त गिनिज बुकले सुविधा, पैसा केही दिँदैन । मात्र, रेकर्ड हो । यो रेकर्डले बुद्ध जन्मिएको देश नेपालबारे संसारभरि चर्चा चलेको छ । विश्वले सम्मान गरेको छ । आगामी दिनमा बुद्धको जन्मस्थानलाई लिएर कोही-कसैले भ्रम फैलाउने कोसिस गर्नेछैनन् । त्यसका लागि दश लाख मान्छेको हस्ताक्षर संयुक्त राष्ट्रसंघलाई बुझाउनेछौँ । कतै भएका त्रुटिपूर्ण कुरा पनि सच्याइनेछन् ।
रवि लामिछानेले व्यक्तिगत प्रचारबाजीका लागि यो कार्यक्रम गरेको भन्ने पनि छन् । तर, मैले आफ्नो प्रचारबाजीका लागि गरेको भए त अरू जे विषयमा, जे गरे पनि हुन्थ्यो नि । किन बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्नुपथ्र्यो र ? यो मैले आफ्नो देशलाई विश्वसामु चिनाउन गरेको हुँ । कार्यक्रम प्रस्तोताका रूपमा पाउनुपर्ने स्वाभाविक चर्चाको आश गर्न त मैले पाउँछु नि । त्यसमा भने मेरो कुनै गुनासो छैन । मेरो यो रेकर्डले विश्वमा लङ म्याराथन टिभी टक सो कार्यक्रमको रेकर्ड राख्ने देशमा नेपालको नाम सुनौलो अक्षरले लेखिएको छ, म त्यसमै खुसी छु ।
जयन्तले पनि स्विकारे
कार्यक्रममा भारतीय राजदूत जयन्तप्रसादलाई पनि निम्त्याइएको थियो । उहाँ आउनु पनि भयो । त्यस कार्यक्रममा उहाँको आगमनले ठूलो अर्थ राख्थ्यो, किनकि बुद्ध भारतमा जन्मेको भ्रम विश्वभरि छ । उहाँले बुद्ध नेपालमै जन्मिएको दस्ताबेज नै पेस गर्नुभयो । यो कुरा सो हेरेका सबैलाई थाहा छ । मैले कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धमा दरार आउने कुनै कुरै गरिनँ । समसामयिक विषयमा कुरा गरेको थिएँ । उहाँलाई नेपालप्रति एकदम सकारात्मक पाएँ ।कार्यक्रमकै दौरान बुद्ध नेपालमा जन्मिएको भनेर हस्ताक्षर संकलन पनि गरिएको थियो । आएका पाहुना सबैले हस्ताक्षर गर्नुभयो । जयन्तप्रसादले पनि गर्नुभयो । उहाँले बुद्ध बर्न इन नेपालमा गरेको हस्ताक्षर अहिले पनि हेर्न सक्छौँ ।