Thursday, April 11, 2013

पेटको चरेस निकाल्न ८ घण्टे अपरेसन - onlinekhabar

सँधैजसो वीरमान तामाङलाई पेटभित्र रहेको चिज निकाल्न सजिलो भएन । एक केजी तीनसय ४० ग्राम चरेश निकाल्न आठ घण्टा लामो व्यथा लगाउनुपर्‍यो उनलाई । विगतमा व्यथासँगै रकम पनि प्राप्त हुन्थ्यो । तर यसपाली रकम त पाएनन् व्यथा पनि त्रासमै लगाउनुपर्‍यो उनले ।
पहिलेभन्दा बढी मात्राको औषधि सेवन गराउँदा पनि उनको दिसाबाट चरेस निस्किएन । घटना २७ चैत मध्यरातदेखिको हो । प्रहरी फन्दामा परेदेखि नै उनलाई दिसा गराएर चरेश निकाल्ने पयास गरिएको थियो ।
प्रहरीका अनुसार प्रहरी अस्पताल महाराजगन्जमा बिरामी झैं भर्ना गरिएका तामाङको पेटबाट एकसय ३२ पोका चरेश निकाल्न आठ घण्टाभन्दा बढी समय लागेको छ ।
नुवाकोट डुप्चेगाउँका तामाङ ड्रागन एअरको उडान नम्बर १९१ बाट मंगलबार हङकङ जान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी १० हजार रुपैयाँका लागि भारतीय तस्करको भरिया बनेका थिए । ४८५२२५३ नम्बरको राहदानीवाहक उनले आफुलाई भारतीय तस्करले बालाजुस्थित स्वागत गेस्ट हाउसमा क्याप्सुल दिएको बयान प्रहरीसमक्ष दिएका छन् । यो बयानसँगै भारतीय लागूऔषध तस्करको जालो नेपाल माध्यम हुँदै हङकङसम्म फैलिएको खुलेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । तामाङले यसअघि पनि सातपटकसम्म यही गिरोहको चरेश पेटभित्र राखेर हङकङ लगायतको मुलुकमा तस्करी गरेको प्रहरीलाई बताएका छन् ।