Tuesday, April 16, 2013

लामो टेलिभिजन अन्तर्वार्ताको कीर्तिमान - ekantipur

सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीतिर्मान बनाएका छन् । न्युज २४ टेलिभिजनमार्फत निरन्तर ६२ घन्टा १२ मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर लामिछानेले 'गिनिज बुक अफ वल्र्ड रेकर्डस्'मा नाम लेखाएका हुन् । 'गिनिज बुक अफ वल्र्ड रेकर्डस्'को मुख्यालयबाट आएका प्रवीण पटेलले शनिबार नै लामिछानेलाई वल्र्ड रेकर्डको प्रमाणपत्र दिए ।
रेकर्ड राखेपछि लामिछानेले यसलाई 'व्यक्तिगत रेकर्ड राख्ने कुरा भन्दा पनि मुलुकलाई चिनाउने र बुद्घ नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारभर फैलाउने अभियान भएको बताए । उनले यो अभियान सुरु मात्र भएको र अझै अन्य विभिन्न कार्यक्रम गर्ने घोषणा समेत गरे । यसका लागि १० लाखको हस्ताक्षर संयुक्त राष्टसंघमा बुझाउने लामिछानले जानकारी दिए ।
युक्रेेनका दुई प्रस्तोताले सन् २०११ मा युक्रेेनको 'च्यानल फाइव टिभी'मा बनाएको ५२ घण्टाको रेकर्ड लामिछानेले तोडेका हुन् । २९ चैतको बिहान १०ः३४ देखि 'विश्वले चिन्नेछ नेपाल' नाम दिएर अन्तर्वार्ता कार्यक्रम थालेका लामिछानेले शनिबार राति १०:३४ मा ६० घन्टाको लक्ष्य पुरा गरेका हुन् ।
प्रतिघन्टा आरामका लागि प्राप्त गरेको पाँच मिनेट समयसमेत जोडेर उनले कुल ६२ घन्टा १२ मिनेटको रेकर्ड बनाएका थिए । 'बुद्ध नेपालमै जन्मिएका हुन्' भन्ने सन्देश विश्वभर फैलाउन लामिछानेले न्यूज २४ टेलिभिजनमार्फत् अभियान पनि चलाएका थिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ताबाट सुरु भएको कार्यक्रम चर्चित अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वार्ताबाट समापन भएको थियो । कुनै बेलाका चर्चित टेलिभिजन प्रस्तोता ३६ वर्षीय लामिछाने अमेरिकाको बाल्टिमोरमा रहेको एक रेस्टुरेन्टका व्यवस्थापक हुन् । गिनिज बुकमा विश्वकै सबैभन्दा लामोसमयसम्म अन्तवार्ता (टक शो) गर्ने अभिप्रायले विश्वको टेलिभिजन इतिहासमै पहिलोपटक नेपालमा न्युज २४ टेलिभिजनले सुरु गरेको 'म्याराथन टक शो' शनिबार राति ११ बजे सकिएको थियो ।
अन्तर्वार्तामा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, तमलोपाका हृदयेश त्रिपाठीलगायतले भाग लिएका थिए । त्यस्तै, भारतीय राजदूत जयन्त प्रसाद, गीतकार कालीप्रसाद रिजाल, कुमार बस्नेत, हास्यकलाकार सीताराम कट्टेल, डा.भगवान कोइराला, डा. भोला रिजाल, नीर शाहलगायत एक सय भन्दा बढी सहभागी थिए ।