Tuesday, April 16, 2013

पशुपतिमा दाउरा बिना शव जलाउन मिल्ने - nagariknews



दिनेश गौतम, काठमाडौं, वैशाख ३- पशुपति आर्यघाटस्थित अब विद्युतीय चिता बन्दैछ। दाउरा प्रयोग गर्नु नपर्ने विद्युतीय चिताको तयारी अन्तिम चरणमा पुगेको छ। आधुनिक चिता जडान गर्न दुईवटा विद्युतीय मेसिन ल्याइसकिएको छ। भारतको कलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ सर्भिसबाट विद्युतीय मेसिन, प्रदूषण नियन्त्रण संयन्त्र, र चिम्नीसमेत गरी दुई करोड ५९ लाख रुपैयाँमा उपकरण ल्याइसकिएको छ। अब केही पूर्वाधार र मेसिन जडान गर्न बाँकी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहटा बताउँछन्। दुई महिनापछि नै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ,' सदस्य सचिव नाहटाले भने। विद्युतीय चिता (इलेक्ट्रोनिक क्रिमिटोरियम)मा अब मेसिनका साथै निरन्तर विद्युत आपूर्तिका लागि ट्रान्सफर्मर र जेनेरेटर जडान गर्न बाँकी छ।
दाउरा प्रयोग गरी पशुपति आर्यघाटस्थित चितामा शव जलाउँदा बाग्मती नदी र वातावरण प्रदूषण भइरहेकोमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए। काठमाडौंको बढ्दो जनसंख्या र दाउराबाट शव जलाउँदा खर्च र प्रदूषण बढ्नु साथै समय धेरै लाग्ने भएकाले विद्युतीय चिता निर्माण अघि बढाएको सदस्यसचिव नाहटाले बताए।
आर्यघाटस्थित परम्परागत चितामा अहिले दैनिक ४० देखि ५० वटा शव जलाउने गरिएको छ। विद्युतीय चितामा १२ सय डिग्री सेन्टिग्रेड तापक्रममा प्रदूषणरहित तरिकाले एक घन्टाभित्र शव जलिसक्ने कोषका इन्जिनियर अक्रुरसिंह महत बताउँछन्। चार करोड लगानीको भवन बनिसकेको छ। शव जलाउनुअघि गरिने आवश्यक धार्मिक संस्कार पूरा गर्न हल निर्माण गरिएको छ। त्यस्तै, शवलाई केही दिन चिसोमा राख्न सकिने व्यवस्था गरिएको छ। 'विधिअनुसार दाहसंस्कारका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिन्छ,' सदस्यसचिव नाहटाले भन्छन्, ‘विेदशमा रहेका आफन्त आउँदासम्म शव सुरक्षित गर्न चिसो ठाउँको व्यवस्था गरिएको छ।' त्यस्तै, आँखा दान गर्न चाहनेहरुका लागि पनि व्यवस्था गर्न लागिएको कोषले जनाएको छ।
यो चिता प्रयोगवापत विद्युत प्राधिकरणले लिने शुल्कलाई दृष्टिगत गरेर शुल्क लिइनेछ। प्राधिकरणले लिने शुल्कअनुसार हामीले पनि शुल्क निर्धारण गर्छौँ,' सदस्य सचिव नाहटाले थपे, ‘नाफा गर्ने उद्देश्य छैन। न्यून शुल्क लिने सोच छ।'
सरकारले यसअघि २०४६ सालमा टेकुमा विद्युतीय शवदाह गृह सञ्चालन गर्ने योजना बनाएको थियो। त्यसपछि काठमाडौं महानगरपालिका र कोषलगायत संस्थाले विद्युतीय गृह बनाउन प्रयास गरेपछि सफल भएन। २०४८ सालतिर काठमाडौं महानगरपालिकाले विष्णुमतिमा शव दाह गृह मेसिन जडान गरेको थियो। तर मेसिनमा शवदाह गर्न धेरै रुचाएनन्। तत्कालीन अवस्थामा एक करोडमा ल्याइएको मेसिन महानगरको कार्यालयमा अलपत्र परेको छ। त्यसपछि २०५० सालमा पनि महानगरपालिकाले अर्को मेसिन ल्याउन ८० लाख रुपैयाँ छुट्याएको थियो। तर पहिलाजस्तै मेसिन अलपत्र पर्ने शंकाले मेसिन ल्याइएन।
संस्कृतिविद गोविन्द टण्डनका अनुसार संसारभर लागु भइसकेको विद्युतीय चिता पशुपति क्षेत्रमा प्रयोग हुनुलाई सकारात्मक ठान्छन्। ‘काशी, बनारसमा पनि विद्युतीय चिता प्रयोग हुन थालेको छ,' टन्डन भन्छन्, ‘विद्युतीय चितामा शव जलाउँदा धार्मिक मान्यता र संस्कारमा कुनै असर पर्दैन। दाउरामा होस् वा मेसिनमा, जेमा अन्त्येष्टि गरे पनि यो शरीर पञ्चतत्वमै मिल्ने हो।'
दाउराको कमी हुँदै गएको, प्रदूषण र परम्परागत रुपमा जलाउँदा बीभत्स देखिने भएकाले आधुनिक चिता ठिक भएको उनको धारणा छ। समयअनुसार धर्मलाई चलाउनुपर्ने उल्लेख गर्दै उनी थप्छन्, ‘धर्म र संस्कार पनि परिवर्तित समयअनुसार आत्मसात गराउनुपर्छ।' विद्युतीय चिता नरुचाउनेका लागि पनि आर्यघाटको परम्परागत चिता कायमै रहने कोषले जनाएको छ।
विद्युतीय चितामा चौबिसै घन्टा विद्युत आपूर्तिका लागि कोषले विद्युत प्राधिकरणमा निवेदन दिइसकेको छ। आधुनिक चितामा शव जलाउन शुरुका केही महिना भारतीय कम्पनी इन्डोमेन इन्जिनियरिङका कर्मचारीले सघाउनेछन्। त्यसपछि कोषका कर्मचारीलाई तालिम दिइनेछ। आधुनिक चितामा मेसिनलगायत अन्य उपकरण जडान र अनुगमनका लागि पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख अरविन्दकुमार मिश्र, चित्रबहादुर खड्कासहित परामर्शको टोली छ।