पशुपति क्षेत्रमा केही दिनयता जनावर र
मान्छेलाई दुख दिँदै आएको चितुवालाई एयरपोर्ट नजिकै गोठाटार हाइटका
स्थानीयबासिन्दाले लौरोले हानेर मारेका छन् ।



तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
बिहान ६ बजे टोलमा देखिएको चितुवालाई
नियन्त्रणमा लिने सरकारी प्रयास असफल भएपछि स्थानीयबासिन्दाले लौरोले हानेर
चितुवालाई मारेका हुन् । चितुवासितको भिडन्तमा एक दर्जनभन्दा बढी
स्थानीयबासिन्दा घाइते भएका छन् ।

बिहान चितुवा देख्ने बित्तिकै सीमित
संख्याका प्रहरी र संयौको संख्यामा रहेका स्थानीयवासीले रेष्टुरेन्ट
नजिकैको बाँसको झ्याङ्गभित्र चितुवालाई घेरा हालेर राखेका थिए ।
त्यसपछि वन मन्त्रालय र चिडियाखानामा खबर
पुग्यो । मन्त्रालय र चिडियाखानाको टोली घटनास्थल पुगेर चितुवालाई
नियन्त्रणमा लिने प्रयास भयो । ‘तर मान्छेको भीडले चितुवा बिच्किएको हुनाले
नियन्त्रणमा लिन सकिएन’ चिडियाखानाका बरिष्ठ भेटनरी अधिकृत राधाकृष्ण
घर्तीले अनलाइनखबरसित भन्नुभयो ।
मान्छेको भीड देखेर बिच्केको चितुवालाई
गोलीमा लठ्याउने औषधि हालेर नियन्त्रणमा लिन खोजिएको थियो । तर झाडीभित्र
लुकेको चितुवालाई एउटा गोली पनि लागेन । एकतिर गोली हान्दा अर्कैतिरबाट
चितुवा निस्केर मान्छेमाथि नै आक्रमण गर्न थाल्यो । त्यस क्रममा चितुवा
समाउन गएका चिडियाखाना कर्मचारी बालकृष्ण गिरी सहित केही स्थानीयबासिन्दा
घाइते भए ।

बाँसघारीबाट निस्किएको चितुवाले झम्टिएपछि भाग्दै । भाग्ने क्रममा चितुवा र मानिसले लडिबुडी खेलेका थिए ।
- बाँसघारीबाट निस्किएको चितुवाले झम्टिएपछि भाग दौड नै मच्चिएको थियो । मानिसहरु भाग्दा उठेको धुलोले एक अर्कालाई नदेखिने अवस्था आएको थियो ।
चितुवाले आक्रमण गर्न थालेपछि
स्थानीयबासिन्दा आक्रोशित भए । मान्छेभन्दा बढी आक्रोशित भएको चितुवालाई
सबै मिलेर लौरोले हान्न थाले । मान्छेले चारतिरबाट आक्रमण गर्न थालेपछि
चितुवा उम्कन पाएन । बिहानदेखि स्थानीयबासिन्दाले घेरा हालेर राखेको चितुवा
दिउँसो झण्डै ३ बजे मारिएको थियो ।

केही दिनयता पशुपति क्षेत्रमा गाईका
बाच्छा मार्नुका साथै चितुवाले मानिसहरुमाथि समेत आक्रमण गर्न थालेपछि
पशुपति क्षेत्र वरपरका मानिसहरु चितुवाको आतंकबाट भयभीत भएका थिए ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर