नन्दकिशोर पुन पासाङ, पूर्वकमान्डर
जनयुद्धका लागि भनेर तपाईंले पहिलोपटक बन्दुक कहिले समात्नुभयो ?
जनयुद्ध जनताले लडिने एउटा युद्धको मोडल भएको हुनाले सुरुमा जनयुद्धका
लागि कुनै त्यस्तो आधुनिक हतियार वा तालिमको आवश्यकता पर्दैन । जनतासँग जुन
विचार छ, जुन हतियार छ, त्यसैको सहारामा लडिन्छ । युद्धद्वारा युद्ध
सिक्ने, लडाइँद्वारा लडाइँ सिक्ने, संघर्षबाट नै बलियो बन्ने, संघर्षको
मोर्चाबाटै तालिम प्राप्त गर्ने र दक्ष बन्ने, वस्तुगत राजनीतिक अवस्थालाई
पक्डेर मानसिक र भौतिक रूपमा आफूलाई तयार पार्ने कुरा नै माओवादी मान्यता
हो । जब म कम्युनिस्ट प्रभावमा परँे र त्यससम्बन्धी अध्ययन गर्दै गएँ,
त्यतिखेरदेखि नै वैचारिक राजनीतिक तथा सांगठनिक बन्दुक समातिसकेको थिएँ ।
ठोसमा भन्नुपर्दा जनयुद्धकै लागि भनेर बन्दुक, जनयुद्धको तयारी र
थालनीआसपासदेखि नै समातियो, त्यतिवेला ग्रामीण वर्गसंघर्षको पनि अवस्था
थियो । त्यो आफँैमा तालिम र लडाइँको मोर्चा दुवै थियो ।
पहिलोपटक राज्यसत्ताविरुद्ध बन्दुक बोक्दाको अनुभूति कस्तो छ ?
मानिस सबैभन्दा चेतनशील सामाजिक प्राणी भएको हुनाले ऊ जहिले पनि राम्रो र
नयाँ चिज देख्न र गर्न चाहन्छ । राम्रो र सुन्दर वस्तुप्रति उसको ध्यान
आकषिर्त हुन्छ । साथै ऊ नयाँ काम गर्न उत्सुक पनि हुन्छ । यो कुरा युवा
अवस्थामा बढी लागू हुन्छ । यो पुरानो र सबै हिसाबले कुरूप राज्यसत्ताप्रति
आमनेपाली जनताको पूर्ण घृणा थियो । अढाई सय वर्ष पुरानो केन्द्रीकृत
सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्था, जसलाई तुरुन्त डम्पिङ साइटमा लगेर
पुर्नुभन्दा अर्काे विकल्प नेपाली जनतासामु थिएन । आमूल परिवर्तनका लागि
नेपाली जनता आफ्नो संघर्ष र बलिदानद्वारा नयाँ मूल्य, मान्यता तथा राजनीतिक
व्यवस्था स्थापना गर्न चाहन्थे । तर, यहाँका प्रतिगामी र यथास्थितिवादी
राजनीतिक शक्तिले राजा तथा पुरानो राज्य संयन्त्रसँग सम्झौता गर्दै त्यही
पुरानो फोहोरको डंगुरवरिपरि घुम्ने, जुन राजनीतिक प्रवृत्ति देखापर्यो,
त्यसबाट नयाँ नेपाल निर्माण सम्भव थिएन । त्यसकारण पुरानो राज्य
संयन्त्रलाई भत्काएर गणतन्त्र, पहिचानसहितको संघीयता, धर्म निरपेक्षता,
समानुपातिक समावेशी हिसाबले सम्पूर्ण उत्पीडित जाति, क्षेत्र, लिंग र
वर्गको नयाँ राज्यसंयन्त्रमा समानुपातिक समावेशी प्रतिनिधित्व, आर्थिक,
सामाजिक रूपान्तरण, क्रान्तिकारी तथा वैज्ञानिक भूमिसुधार, बलियो सम्पत्ति
छानविन आयोगजस्ता नयाँ राजनीतिक एजेन्डाका आधारमा शून्यबाट राज्य
संयन्त्रको सुरुवात संविधानसभाद्वारा निर्मित संविधानबाट गरेर जाने साथै
जनवादी गणतन्त्र, समाजवाद, साम्यवादको लक्ष्य पूरा गरी सुन्दर मानव संसार
निर्माणको प्रणाली बसाउने उद्देश्यसहित बन्दुक बोकेर नेपालमा नयाँ र मौलिक
ढंगले क्रान्ति सम्पन्न गर्ने अभिभारा तथा अवसर पाउँदा ज्यादै गर्वको
अनुभूति भएकोे थियो ।
जनयुद्धको पहिलो कारबाही होलेरीमा भयो र त्यसमा तपाइर्ं पनि सहभागी हुनुभएको थियो । त्यो अनुभव कस्तो थियो ?
हो, थुप्रै मुख्य कारबाहीमध्येमा होलेरी प्रहरी चौकीमाथिको रेड एउटा
महत्त्वपूर्ण कारबाही थियो । त्यसमा भाइसकमान्डरका हिसाबले दुई टोलीमध्ये
एउटाको नेतृत्व गरेको थिएँ । इतिहास बदल्ने जनयुद्धको थालनी आफ्नै हातबाट
गर्न पाउँदा केही गर्नका लागि समाजमा मानिस भएर जन्मिएको सार्थकता महसुस
भएको थियो । जुन काम आम मानिसले गर्न सक्दैनथ्यो, छानिएका विशिष्ट मान्छेले
मात्र गर्न सक्थ्यो । त्यसमा म पर्दा गर्वित नै थिएँ । त्यति नै वेला मलाई
घुँडा दुख्ने बिरामीले सताएको थियो । यसले मलाई कारबाहीमा सहभागी बन्ने
अवसरबाट वञ्चित गर्ने त होइन ? भन्ने चिन्ता थियो । आफ्नो घुँडाप्रति
आफैँलाई रिस उठेको थियो । तैपनि मैले खुट्टा खोच्याउँदै लौरो टेकेर ओरालोमा
घसिँ्रदै पीडालाई पचाउँदै जिम्मेवारी पूरा गरेको थिएँ । कारबाही सफल भएन
भने के गर्ने ? अरू दुर्घटना भयो र योजना खुल्यो भने के गर्ने ? आदि चिन्ता
मनमा लागिरहेको थिए । कतिवेला रात पर्ला र निर्धारित समयमा कारबाही गर्न
पाइएला भनेर सेल्टरमा बस्दा ठूलै चिन्ता लागिरहेको थियो ।
भरुवा बन्दुकपछि राम्रो बन्दुक कहिले समात्नुभयो ?
त्यही होलेरी कारबाहीको एक दिनअगाडि सेल्टरमा पार्टी हेडक्वाटरले
पठाइदिएको थ्री नट थ्री राइफल समातेर बडो माया र खुसीले छामछुम, मसारमुसुर
गरेका थियौँ । तेल लगाएर सफा गर्यौँ । तर त्यो पनि खोका एक्जिट हुँदैन
रहेछ, एक फायर गर्यो कि त बन्दुकको गजले खोका निकाल्नुपर्ने, झन्डै
बन्दुकसरह नै भनौँ । साथमा एउटा गज राख्नुपर्ने त्यसै भएर पछि हामीले त्यो
राइफललाई होलटाइमर गजे राइफल नाम राखिदिएका थियौँ ।
तपाईंले सबैभन्दा धेरै ज्ञान कुन तालिमबाट पाउनुभएको थियो ?
सबै तालिम तथा प्रशिक्षण महत्त्वपूर्ण हुन्छन् नै । पूर्ण बन्नका लागि
सबै ज्ञान उपलब्धिपूर्ण हुन्छन् । सुरुमा सहरी गुरिल्ला वार फियरसम्बन्धी
तालिम तथा प्रशिक्षण प्राप्त गरेँ, त्यसबाट सैन्य ज्ञानको ढोका खुलेको
अनुभूति भयो । त्यो मेरो रक्तिम इतिहासको पाइला भन्ने किताबमा पनि उल्लेख
गरेको छु ।
तपाईंले नेतृत्व गरेका भिडन्तमध्ये सबैभन्दा ठूलो कुन थियो ?
मैले नेतृत्व गरेका प्रायः लडाइँ चुनौतीपूर्ण र ठूला थिए ।
वर्गविरोधीहरूको युद्धको स्तरले हाम्रो लडाइँको स्तर विकास गर्न बाध्य
पाथ्र्याे । दाङ, अछामको मंगलसेन, अर्घाखाँची, रोल्पा, बेनीको मोर्चा र
पछिल्लो चरणको खारा मोर्चा निकै ठूला भिडन्त र आक्रमण थिए । मोर्चाबन्दी
युद्धको दृष्टिबाट हेर्दा, बेनी मोर्चा र खारा मोर्चा निकै ठूला योजना हुन्
। यी ठूला कारबाही राजनीतिक उपलब्धिको हिसाब-किताब गरेर गरिएको थियो ।
ज्ञानेन्द्रको चुनाव घोषणाको असफलता, शान्ति वार्ताको वातावरण, संगठन
विस्तार प्रचार-प्रसार र आधार इलाका, जनसत्ता निर्माण, वर्गविरोधीको फौजी
रणनीति र कार्यनीतिको धराशयीजस्ता धेरै महत्त्वपूर्ण राजनीतिक र भौतिक
उपलब्धि भएका थिए, जुन अहिलेको गणतन्त्र प्राप्तिको मुख्य आधार हो ।
क्षतिको दृष्टिले धेरै मानवीय र भौतिक क्षति भएका थिए । धेरै होनहार
क्रान्तिकारी योद्धा कमान्डर र सदस्यको सहादत भएको थियो ।
तपाईं आफैँले कुनकुन बन्दुक चलाउनुभयो ?
त्यति वेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र शाही नेपाली सेनासँग भएको
प्रायः सबै हतियार चलाएको छु । ट्यांक, एन्टी एयर क्राफ्ट, एयर गनसिपबाहेक
सबै चलाएको छु । केही त मेरै हातले बनाएको पनि थिएँ ।
माओवादीले ०५८ मा जनमुक्ति सेना घोषणा गरेपछि तपाइर्ंलाई कस्तो महसुस भयो ?
०५८ मा जनमुक्ति सेनाको ऐतिहासिक घोषणा हुँदा उत्साह र गौरव दुवै अनुभूति भएको थियो ।
शान्ति सम्झौता भएको दिन तपाईंलाई कस्तो महसुस भयो ?
अग्रगामी राजनीतिक निकास, शान्ति परिवर्तन र स्थायित्वसहित नयाँ नेपाल
निर्माण र संघीय गणतन्त्र नेपालको परिकल्पना यथार्थमा कार्यान्वयन हुने र
जनताले चाहेको संविधान आफैँले लेख्न पाउने, पूर्ण परिवर्तन नभए पनि
सापेक्षित परिवर्तन अवश्य हुन्छ र त्यसले आमूल परिवर्तनको ढोका खुल्छ भन्ने
महसुस भएको थियो ।
शान्ति सम्झौता भएपछि पार्टीले स्थायी रूपमा बन्दुक बिसाएजस्तो लागेको थियो कि थिएन ?
विचार र हतियार, साध्य र साधन, मानिस र वस्तु, राजनीती र त्यसको आधार
बुझिसकेपछि सधंैभरि बन्दुक समातिराख्ने र बिसाएपछि बिसाइराख्ने भन्ने कुरा
हुँदैन । क्रान्तिको आवश्यकतासँग जोडेर हेर्नुपर्छ । क्रान्तिको आवश्यकतामा
साधनको प्रयोग हुन्छ । सेना र हतियार साध्य नभएर साधन हो । त्यसलाई विचार र
राजनीतिले सञ्चालन गर्नुपर्छ । राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै
चिजको निर्धारण हुन्छ । जनयुद्धले उठाएका एजेन्डा स्थापित र संस्थागत गर्न
शान्ति सम्झौता गर्नुपर्ने आवश्यकता बन्न गयो र शान्ति सम्झौता भयो ।
हतियार बिसाउनुपर्ने आवश्यकता बन्न गयो, बिसाइयो । भोलि नेपाली जनताले
हतियारको आवश्यकता ठान्यो र योभन्दा अर्काे बाटोबाट परिवर्तन सम्भव छैन, यो
नै एक मात्र विकल्प हो भन्ने ठान्यो भने फेरि हतियार उठाउँछ । यो कसैको
चाहना र इच्छाको कुरा हुँदैन, ऐतिहासिक आवश्यकता बन्न गए त्यसो हुन्छ ।
जनता नै इतिहासका निर्माता हुन्, यसको फैसला जनताले नै गर्छन् । यो जिम्मा
जनतालाई छाडिदिनुपर्छ भन्ने लाग्छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि माओवादी सेनाको कमान्डर तपाइर्ं हुनुभयो । त्यो जिम्मेवारी पाउँदा के सोच्नुभएको थियो ?
हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष प्रचण्ड सर्वाेच्च कमान्डर हो ।
हाम्रो पार्टीको समग्र नेतृत्व उहाँ नै हो । एकप्रकारले गिरिजाप्रसाद
कोइरालाको निधनपछि समग्र देशको नेतृत्व पनि उहाँ नै हो । गणतन्त्र नेपालको
पहिलो कार्यकारी प्रधानमन्त्री पनि प्रचण्ड नै हो । उहाँ पहिलो
प्रधानमन्त्री भएपछि मात्र म माओवादी सेनाको कमान्डर भएको होइन, म जनयुद्ध
थालनीदेखि नै माओवादी सेनाको एक कमान्डर हुँ । हाम्रो जनमुक्ति सेनाको उच्च
तहको र्फमेसनको कमान्ड गर्दै आएको हुनाले त्यस्तो नौलो जिम्मेवारीको
अर्थमा मैले बुझिनँ । खालि अध्यक्षले पहिले गर्दै आउनुभएको कोअर्डिनेसन र
निर्देशन गर्ने जिम्मा मात्र मैले पाएको हो । शान्ति प्रक्रियाको अवस्थामा
यसलाई व्यवस्थित गर्ने एकताबद्ध तथा केन्द्रीकृत राख्ने कुरा महत्त्वपूर्ण
थियो । राष्ट्रिय सेनाको अवधारणाअनुसार सम्मानजनक समायोजन हुनुपर्छ र
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने सोच हाम्रो
पार्टीको आधिकारिक मान्यता हो ।
लामो समय तपाइर्ं आफैँ पनि समायोजनमा जाने कुरा भयो, तपाइर्ंलाई कुन घटनाबाट मेरो समायोजनमा जाने कोर्स सकियो भन्ने लाग्यो ?
म समायोजनमा जाने, नजाने भन्ने कुरा मेरो व्यक्तिगत कुरा होइन । यो
समग्र आन्दोलन, पार्टीको निर्णय, जिम्मेवारी बाँडफाँड र
कार्यविभाजनसम्बन्धी कुरा हो । पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्नु
मेरो पहिलो कर्तव्य हो । हालसम्म गर्दै आएको पनि छु । विभिन्न हल्ला र
कुराका पछि लाग्नु मेरो हैसियतले दिँदैन । पार्टीमा केन्द्रीय समितिका
सदस्यदेखि माथि समायोजनमा नजाने र पार्टीको राजनीतिक जिम्मेवारी सम्हाल्ने
निर्णय भएपछि मैले सहर्ष स्वीकार गरेँ । र, मेरो समायोजनमा जाने कोर्स
सकियो ।
अनुशासित भनिएको तपाईंको सेनाभित्र समायोजनको प्रक्रियामा आएको पैसाका विषयमा ठूलो लफडा भयो नि ?
जनयुद्धमा जनमुक्ति सेनाले ठूलाठूला लडाइँ र कठिनाइको सामना अनुशासित
ढंगले पूरा गर्दै आएको छ । त्यसमा कहीँ कतै खोट लगाउने ठाउँ छैन । शान्ति
प्रक्रियामा पनि बढो अनुशासित र धैर्यतापूर्वक समग्र शान्ति प्रक्रियाको
तार्किक निष्कर्षका लागि भनेर पाँच वर्ष क्यान्टोनमेन्टमा बस्यो । यस्तो
कुरा अन्यत्रको शान्ति प्रक्रियामा देखिएको छैन । यो विचार, राजनीति र
अनुशासन कायम भएको हुनाले मात्र सम्भव भएको हो । तपाइर्ंलाई थाहा छ, सुरुमा
चार हजार र पछि हाम्रो सरकारका पालामा पाँच हजार प्रतिव्यक्ति भत्ता
सरकारबाट उपलब्ध गराइएको थियो । प्रत्येक व्यक्तिले आफैँ हस्ताक्षर गरेर
चेकमार्फत रकम आफँैले बुझ्दै आएका थिए । जुन सरकारको शान्ति
मन्त्रालयमातहत, क्यान्टोनमेन्ट व्यवस्थापन समितिमार्फत भर्पाई फस्र्योट
गरी बुझिलिने गरेका थिए । रासनभत्ता भनेर प्रतिदिन ७० रुपैयाँ आउँथ्यो,
जसबाट दुई छाक खाना, नास्ता, ड्रेस, जुत्ता, साबुन, उपचार, घरबिदा,
बाटोखर्च, अतिथि स्वागत सत्कार, खेलकुद, अफिसियल खर्च, इन्धन, सञ्चार,
सप्लाई आदि सबै त्यसैबाट व्यवस्था गर्नुपर्दा तपाइर्ं अनुमान गर्नुहोस्
त्यो खर्चले पुग्यो पुगेन होला ? त्यसमा अप्रमाणित साथीहरूको व्यवस्था पनि
गर्नुपर्ने, जसलाई सरकारले एक पैसा पनि दिएको थिएन । भौतिक पूर्वाधारबाहेक
अन्य रकम गएको थिएन । यी सबै व्यवस्थापन साथीहरूको लेबीबाट मिलाइएको थियो ।
त्यसपछि वेलावेलामा केन्द्र, क्षेत्र र स्थानीय वाइसिएलका साथीलाई पनि
हेर्नुपथ्र्याे भने विशेष कार्यक्रममा विशेष खर्च पनि मिलाउनुपर्ने, यी सबै
समस्या र व्यवस्थापनका जटिलता नबुझेका केही साथीले कुरा उठाउनुभएको थियो ।
कुरा उठाएकै भरमा बढी हल्लाखल्ला गरियो । कुरा पनि पद्धतिगत ढंगले भयो वा
भएन, त्यो आफ्नो ठाउँमा छ । तर, केही २/४ जना अराजक, असन्तुष्ट व्यक्ति र
मिडियाले तिललाई पहाड बनाउन खाजेको मात्र हो । त्यसमा धेरैजसो ड्यासवाला
साथीले हल्लाखल्ला गर्नेमा बढी भूमिका खेल्नुभयो । उहाँहरूलाई बिगार्नु र
भत्काउनु मात्र थियो । विनातथ्य हल्लैहल्लामा जनमुक्ति सेनामाथि
आफैँभित्रबाट गराइएको योजनाबद्ध आक्रमणबाहेक अरू केही थिएन । त्यसमा आफ्नै
संस्थालाई बदनाम गराउन आफैँ लागिपरेका साथीहरू देख्दा बडो दुःख लागेर आउँछ ।
त्यसमा अलि धेरै हल्ला गरेपछि, अलि चर्को बोलेपछि, ठूलाठूला कुरा धेरै
गरेपछि, छिटो नेता र कमान्डर बन्न सकिन्छ र आफू लाइटमा आइन्छ भन्ने गलत
प्रवृत्ति पनि देखियो । महेश बस्नेत र ड्यासको पछि लाग्ने साथीहरूलाई के
भन्ने ?
जे होस्, यी सबैको समाधानका लागि दुईवटा आयोगले लामो समय अनुसन्धान गरी
निस्कर्षर् निकालेर पार्टीलाई बुझाएको छ । त्यतिवेला तपाईंलाई असफल
भएजस्तो लागेको थिएन ?
यसमा समग्र शान्ति प्रक्रियामा दलबीच भएको सहमति र सम्झौता साथै त्यसबाट
लिएको निर्णय, सक्रमणकालीन अवस्था, त्यो पनि लामो हुनु, समायोजनप्रति
विपक्षी दल र अन्य संघसस्था बडो असहिष्णु, पूर्वाग्रही र प्रतिशोधी बन्नु,
ईष्र्याको राजनीति गर्नु आदि जस्ता कारण जिम्मेवार छन् । यसमा व्यक्ति
बलिको बोको बन्ने र अचानो बन्ने भन्ने कुरा हुँदैन । कुनै व्यक्तिलाई
केन्द्रमा राखेर सफलता र असफलताको कुरा गर्नु नै गलत हुन्छ ।
सेना समायोजनका प्रक्रियामा जब नेपाली सेनाले माओवादी सेनाका शिविर कब्जा गर्यो, त्यो दिन तपाइर्ंलाई कस्तो महसुस भयो ?
यो प्रश्न नेपालको समग्र राजनीतिक प्रक्रियालाई कसरी बुझ्ने भन्ने
सवालसँग सम्बन्धित छ । यो प्रश्न अलि एकांगी र अलि आदर्शवादी जस्तो छ ।
किनभने शान्ति प्रक्रियाको कोर्समा आइसकेपछि र शान्ति सम्झौतामा हस्ताक्षर
गरी सहमति, सहकार्य र सम्झौताको बाटो रोजिसकेपछि स्वाभाविक रूपमा
वर्गसंघर्षको रूप बदलिन्छ । त्यो राजनीतिक संघर्षमा बदलिएको छ । यस्तो
अवस्थामा कसैले कसैलाई कब्जा गर्ने, मार्ने भन्ने कुरा हुँदैन । एकअर्कामा
संघर्षसहित संयोगात्मक सम्बन्ध रहन्छ । हिजोको शाही सेना र त्यसको राज्य
संयन्त्रसँग तथा प्रणालीको साधनसँग हाम्रो लडाइँ हो, कुनै व्यक्तिसँग होइन र
गणतन्त्र प्राप्तिपछिको नेपाली सेनासँग पनि होइन । नेपाली सेनाको पनि
हामीसँग लडाइँ होइन । हामी त अहिले एकअर्काका सहयोगी र साथी हौँ । सबै
मिलेर राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा गर्नुपर्छ । जनतालाई शान्ति
सुरक्षा अमनचयन दिनुपर्छ, एकअर्कामा भिडन्त होइन । हामीले कसको के खाएका र
बिगारेका छौँ र ? एकले अर्कालाई कब्जा गर्ने, मार्ने ? यसो हुन सक्दैन ।
बरु हामी दुवै मिलेर शान्ति प्रक्रिया नभत्कियोस्, समग्र राजनीतिक कोर्स
अर्काेतिर नजाओस् भन्ने हो । बरु त्यतिवेलाको परिस्थिति बडो जटिल थियो ।
तर, त्यो घटना त स्वाभाविक थिएन, शिविरमै पनि तनाव थियो नि ?
समायोजन प्रक्रिया त चलेको थियो तर परिस्थिति सहज थिएन । स्थिति ज्यादै
विस्फोटक थियो । देश भड्खारोतिर जाने खतरा थियो । अराजक र घुसपैठहरूले
क्यान्टोनमेन्टमा अराजकता फैलाएका थिए । साथै नाराजुलुस गर्ने र क्याम्प
जलाउने, गाडी जलाउने, कमान्डर थुन्ने, केही न केही वितण्डा मच्चाउन सुरु
भएको थियो । अर्काेतिर त्यति नै वेला २९/३० गते क्यान्टोनमेन्ट रेड गर्ने र
क्यान्टोनमेन्टको हतियार उठाएर लैजाने भन्ने योजना तयार पारिएको सूचना पनि
आएको थियो । आफैँआफैँबीच मारामार गरी रगतको खोलो बग्ने अवस्था सिर्जना हुन
खोजेको थियो । त्यस्तो संकेत सबै क्यान्टोनमेन्टमा देखापरिसकेको थियो ।
त्यस्तो अवस्थामा क्यान्टोनमेन्ट छिटोभन्दा छिटो सरकारको मातहत राखेर
समायोजनको प्रक्रिया सहज बनाउनुभन्दा अर्काे विकल्प थिएन । त्यसकारण विशेष
समिति र प्रमुख दलबीच छलफल गरी त्यस्तो घटना घट्नुअगावै सम्पूर्ण जिम्मा
राज्यले लिनु उपयुक्त हुन्थ्यो । हामी पनि राज्यकै मातहतमा थियाँै । तर,
व्यावहारिक रूपमा आधीआधीजस्तो देखिन्थ्यो । त्यो पूरै जिम्मा राज्यले लिएको
मात्र हो । राज्यको जिम्मा पनि हाम्रै पार्टीको थियो, छ । हाम्रै पार्टीको
सरकारले हामीलाई नै कब्जा गर्ने भन्ने कुरा हुन सक्दैन । राज्यको
निर्देशनमा सेनाले समायोजन प्रक्रियाको वातावरण सहज बनाउन सहयोगात्मक
भूमिका खेल्न नेपाली सेना क्यान्टोनमेन्टमा गएको हो । अन्य केही पनि होइन,
बरु पूर्वतयारी नहुनु, साथीहरू र सबैलाई बेलैमा जानकारी नहुनु आदि कारणले
अप्ठ्यारो पर्न गएको हुन सक्छ । बरु क्यान्टोनमेन्ट नै समायोजन गरिएको हो,
त्यहाँ गएका सेनाका साथीले असल व्यवहार गर्नुभएको छ । कुनै यताउती भएको छैन
। कमान्डरसँग सरसल्लाह गरेरै मिलेर काम गर्नुभएको थियो । यसमा अन्यथा
सोच्ने र महसुस गर्ने कुरा भएन । अन्यथा सोच्नु भनेको अत्यन्त काँचो र
केटाकेटी सोच हुन्थ्यो, बृहत् सोच हँुदैनथ्यो ।
तपाइर्ंले जम्मा गरेका हतियार सेनालाई बुझाउँदाको दिन कस्तो लाग्यो ?
जब कि तपाईंहरू त हतियारलाई संग्रहालयमा राख्ने कुरा गरिरहनुभएको थियो ।
हामीले हतियार सेनालाई बुझाएका होइनौँ, राज्यलाई बुझाएको हौँ । त्यो पनि
पुरानो राज्यबाट खोसेर गणतान्त्रिक नयाँ राज्यलाई बुझायौँ । र, अर्काे
अर्थमा हाम्रो पार्टीको सरकार भएको हुनाले पार्टीलाई नै बुझायौँ, अरूलाई
होइन । धेरै लामाचौडा कुरै छैनन्, दोष भए पार्टीको र राज्यको होला । हामी त
राज्यका मान्छे हौँ । राज्यको निर्देशन मानेका हौँ । जहाँसम्म हतियारलाई
संग्रहालयमा राख्ने कुरा छ, राख्नु पर्छ । त्यो काम गर्न बाँकी छ ।
संग्रहालय बनाएर द्वन्द्वमा प्रयोग भएका दुवै पक्षका कन्टेनरमा राखेका
हतियार सबै नभए पनि सांकेतिक रूपमा संग्रहालयमा राखिनुपर्छ । यसमा सरकार,
पार्टी तथा अन्य राजनीतिक दलले यताउति गरेर इतिहास मेटाउने काम कहीँ कतैबाट
हुनुहँुदैन । कसैले कसैको इतिहास मेटाउन खोज्यो भने साराका सारा इतिहास
भत्काएर एउटा नयाँ इतिहास फेरि जनताले कोर्नेछन्, वेलैमा होस पुर्याउन
जरुरी छ । यहाँ कोही आग्रही-पूर्वाग्रही बन्न जरुरी छैन, विशाल छाती बनाउन
सक्नुपर्छ ।
एमाओवादीले आफ्नो सातौँ महाधिवेशनबाट स्थायी रूपमै बन्दुक बिसाउने कुरा
गरेको छ । अब दीर्घकालीन जनयुद्ध र छापामार युद्धमा नजाने भनेको छ । तपाईं
पूर्वकमान्डरको हैसियतले हेर्दा त्यो दस्ताबेज पारित हुँदा कस्तो भावना
पैदा भयो ?
एमाओवादीको हेटौंडाको एकताको साताँै राष्ट्रिय महाधिवेशनले राजनीतिक
कार्यदिशामा हेरफेर गरेको छ । नेपाली क्रान्तिको नयाँ संश्लेषण एक ऐतिहासिक
आवश्यकताको दस्ताबेज एक मतले पारित गरेको छ । यो शीर्षकबाट नै प्रस्तुत
हुन्छ कि नेपाली क्रान्ति नयाँ ढंगले सम्पन्न गर्ने एक ऐतिहासिक आवश्यकता
बन्न गएको छ । क्रान्ति दोहोरिन्न, विकास हुन्छ । जनयुद्ध, तथा छापामार
युद्धद्वारा देशलाई उथलपुथल गराएर नयाँ राजनीतिक नारा एवं नयाँ मूल्य
मान्यतालाई स्थापित गर्दै, हामी गणतन्त्र, पहिचानसहितको संघीयता,
संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधानजस्ता नारा स्थापित भएका छन्
। फेरि जनयुद्ध, छापामार युद्धमा फर्किएर इतिहास दोहोर्याउने कुरा
हँुदैन, यसको विकास गर्नुपर्छ । अथवा मालेमावादको रक्षा, प्रयोग र विकास
गर्नुपर्छ । बन्दुक उठाएपछि सधैँभरि बन्दुक समातिराख्ने र जनयुद्ध गरेपछि
सधैँभरि गरी नै राख्ने भन्ने कुरा हुँदैन । क्रान्तिको आवश्यकताअनुसार
हतियार उठाउने र बिसाउने हुन्छ । क्रान्तिको संश्लेषण नयाँ ऐतिहासिक
आवश्यकता बन्न गएपछि त्यो आवश्यकतालाई सबै क्रान्तिकारीले आत्मसात गर्न
सक्नुपर्छ । त्यसैअनुसारको कार्यदिशा तय गर्नुपर्छ । सातौँ महाधिवेशनबाट
हामीले त्यसै गरेको छौँ । यसले मेरो भावना र विचारको प्रतिनिधित्व गरेको छ ।
लडेर अब सत्ता कब्जा गर्न सकिन्न कि भन्ने भान तपाइर्ं आफूलाई कहिले भएको थियो ?
मलाई लडेर सत्ता कब्जा गर्न सकिन्न भन्ने भान आजसम्म भएको छैन । अधिकार
खोसेर ल्याउनुपर्छ, मागेर होइन । तर, लड्ने तरिका र बाटो भने फरक हुनसक्छ ।
पुरानो तरिका र बाटोबाट लड्दा क्रान्ति असम्भव हुनसक्छ । अर्काे तरिका र
बाटोबाट लड्नुपर्छ भन्ने कुरा सही हुनसक्छ । पुरानो तरिकाबाट मात्र
लडिरहँदा झन् क्रान्ति ध्वस्त हुनसक्छ, माओको निधनपछि संसारमा क्रान्ति
यस्तै भएको छ । त्यसकारण नयाँ तरिकाले लड्नुपर्छ । कहिले बुलेटको लडाइँ,
कहिले ब्यालेटको लडाइँ, कहिले सदनको लडाइँ, कहिले सडकको लडाइँ, कहिले
उत्पादन, विकास, निर्माण र समृद्धिको लडाइँ, वर्गीय मुक्ति र स्वयं आफ्नो
मुक्तिका लागि पनि लडाइँ अनिवार्य छ । लड्नु हुँदैन भन्ने कुरा मबाट हुँदैन
। जहाँसम्म सत्ता कब्जाको कुरा छ । सत्ताकब्जा किन र के का लागि भनिएको
होे ? यसको अर्थ के ? सबैलाई मुठीभित्र राख्ने, सधँैसधैँका लागि एउटाको
मात्र शासन भन्ने हो र ? होइन, यो शब्द क्रान्तिकारीले प्रयोग गर्ने
उत्तेजित र जोसिलो शब्द भने पक्कै हो । यहाँ हामीले भनेको सत्ता कब्जा
सत्तासँग सम्बन्धित शासन प्रणालीको हो । सत्तामा बहुसंख्यक जनता शोषित,
उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको सत्तामा सशक्त प्रतिनिधित्व हुनुका
साथै जनताको निगरानी र नियन्त्रण हुनुपर्छ भनेकोे हो । त्यो सधँै जनताको
निगरानी र नियन्त्रणमा हुुनुपर्छ । जनताले चाहेका वेला सत्ताबाट फिर्ता
बोलाउने वा बदल्ने अधिकार जनतामा निहीत हुनुपर्छ भनिएको हो ।
राजनीतिक जीवनको सबैभन्दा खुसी र दुःखको दिन ?
मानिस राजनीतिक प्राणी पनि भएकाले उसको जीवनमा आइपर्ने सुख र दुःख,
हाँसो र आँसु, सफलता र असफलता, हर्ष र विस्मात, जन्म र मृत्यु, क्रान्ति र
प्रतिक्रान्ति, सरकार र प्रतिपक्ष यी सबै समाज विकासको जीवन प्रक्रिया हो ।
यसो नभएको भए समाज र जीवन नै हुने थिएन ।
धेरै वर्ष लगानी गरेको र धेरै मित्र छुट्टएिको दिन अर्थात् पार्टी विभाजन भएको दिन तपाईंलाई कस्तो लागेको थियो ?
म धेरै दुःखी भएको थिएँ । सपनामा पनि ३/४ दिन रोएको थिएँ ।
तपाइर्ं सैन्य कमान्डरबाट राजनीतिज्ञ हुनुभएको छ । चुनावचाहिँ कहाँबाट लड्ने सोच बनाउनुभएको छ ?
हो, म चुनाव लड्छु । मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिनेछ । मेरो
रोजाइ मेरो जिल्ला, मेरो क्षेत्र हुनेछ । मलाई विश्वास छ, पार्टीले टिकट
दिएमा अवश्य जित्छु र केही गर्छु पनि । म कुरौटे होइन, काम गर्ने मानिस हुँ
। म श्रममा विश्वास गर्छु ।
जनयुद्धअघि आफ्नै घरमा बंकर -सुरुङ) बनाउनुभएको थियो रे, त्यसलाई आज कसरी सम्झनुहुन्छ ?
हो, जनयुद्ध शुरु हुनुअघि रोमियो अप्रेसनका वेला आत्मरक्षाका लागि २५/३०
मिटर लामो सुरुङ ट्रयानल बनाएको थिएँ । त्यो मेरो इतिहास पनि हो ।
नेपाली जनयुद्धले समग्र सैन्य विज्ञानमा केही योगदान दियो कि दिइएन ?
नेपाली क्रान्तिमा नेपाली जनयुद्धले समग्र सैन्य विज्ञानमा योगदान
गर्यो, गरेन भन्ने कुरा ऐतिहासिक समीक्षाको विषय हो । केही मौलिक विचार
अवश्य प्रदान गरेको छ । यसलाई हामीले दोस्रो राष्ट्रिय सम्मेलनबाट
प्रचण्डपथमा संश्लेषण पनि गर्यौँ । त्यो अहिले अध्यक्ष कमरेडले नै स्थगित
गर्नुभएको छ । समग्र समाज विज्ञान र सैन्य विज्ञानमा थप योगदान र विकास
गर्न यसो गरिएको हुन सक्छ । दर्शन शास्त्र, राजनीति शास्त्र र वैज्ञानिक
समाजवादभित्र सैन्य विज्ञान पनि पर्ने भएको हुनाले यसले केही मौलिक योगदान र
शिक्षा अवश्य प्रदान गरेको छ ।
प्रस्तुति : नेत्र पन्थी