Tuesday, April 9, 2013

महिलामाथि गरेको टिप्पणीप्रति ओबामाले माफी मागे - nayapatrika

e
अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्यालिफोर्नियाकी महान्यायाधिवक्ता कमला ह्यारिसलाई सुन्दर भनी तारिफ गरेको भोलिपल्ट उनीसँग माफी मागेका छन् ।
गत बिहीबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा ओबामाले ह्यारिसलाई आफ्नो पुरानो मित्रका साथै देशकै सबैभन्दा सुन्दर महान्यायाधिवक्ता भनेका थिए ।
ह्यारिस ओबामाको कट्टर समर्थक रहे पनि उनले ओबामालाई माफी दिए/नदिएकोबारे केही नखुलाएको ह्यारिसका प्रवक्ताले पत्रकारलाई बताएका छन् । आलोचकहरूले ओबामाको भनाइको निन्दा गरेका छन् । ओबामाको ह्यारिसप्रतिको टिप्पणी कार्यस्थलमा महिलाले कस्ता समस्याको सामना गर्नुपर्छ भन्ने गतिलो उदाहरण भएको आलोचकले बताएका छन् । 
बिहीबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा ओबामा र ह्यारिससँगै थिए । 'ह्यारिस निकै समझदार तथा समर्पणका साथ काम गर्ने महिला हुन् । उनी कामलाई सही ढंगले गराउन कठोर निर्णय लिन पछि पर्दिनन्,' ह्यारिसले बोलेपछि ओबामाले आफ्नो मन्तव्य राख्दै भने, 'उनी अमेरिकाकै सबैभन्दा सुन्दर महान्यायाधिवक्ता हुन् ।'
ओबामाको भनाइको विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत धेरैले भत्र्सना गरेका थिए ।  शुक्रबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जे कोर्नेले विज्ञप्ति जारी गरी ओबामाले ह्यारिससँग सम्पर्क गरी माफी मागेको सार्वजनिक गरेका हुन् । महान्यायाधिवक्ताको व्यावसायिकता तथा उनको क्षमतालाई हानि पुर्‍याउने नियत ओबामाको नभएको विज्ञप्तिमा उल्लेख छ । महिलाको कामको मूल्यांकन सुन्दरताका आधारमा नभई कार्यस्थलमा देखाउने क्षमतामा निर्भर गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।