Tuesday, April 30, 2013

एमाले र एमाओवादीले देखाए निर्वाचन आयोगमा बालहठ ! 'मुन्ना जहाँ खडा है, वही से लाईन सुरु होता है' ! - onlinekhabar

निर्वाचन आयोगले दल दर्ताका लागि दरखास्त आह्वान गरेको पहिलो दिन नै निर्वाचन आयोग परिसरमा दलहरुवीच झगडा शुरु भएको छ । झगडाको विषय ठूलो छैन, एमाले  र एमाओवादीवीच पहिले को आएको हो र कसले पहिले दर्ता गर्ने भन्ने सानो कुरामा ठूलो भगडा चर्किएको छ । केटाकेटीहरुले म पहिले भनेर झगडा गरेजसरी सामान्य विषयमा हात हालाहालको अवस्था आएपछि दल दर्ताका लागि आयोग कार्यालय पुगेका अन्य दलहरु समेत अन्यौलमा पर्नुपरेको छ ।
आयोगको झगडा सम्बन्धमा एमाले सचिव शंकर पोखरेलको तर्क यस्तो छ- ‘दल दर्ताको लाईनमा नेकपा(एमाले) पहिलो भए पछि एनेकपा (माओवादी) ले ‘मुन्ना जहाँ खडा होता है वही से लाईन सुरु होता है’ को शैलीमा आफुलाई पहिलो नम्वरमा दर्ता गर्नु पर्ने माग अघि सारे पछि निर्वाचन आयोगमा दल दर्ताको प्रकृया नै अघि वढ्न सकिरहेको छैन । कस्तो विडम्वना ।’
निर्वाचन आयोगले दल दर्ता खुलाएकै दिन मंगलबार बिहानैदेखि आयोग परिसरमा दलका नेताहरुको जमघट देखिएको छ । nepal-election-commissionएकीकृत नेकपा माओवादी र नेकपा एमालेका नेताहरु दर्ताको लागि आयोग कार्यालय पुगेका हुन् । अरु दल पनि दर्ताको लागि आयोग कार्यालय जाने तयारीमा छन् ।
 दल दर्ताका लागि एमाओवादीवाट उपाध्यक्ष डा. बाबुराम भट्टराई, महासचिव पोष्टवहादुर बोगटी, एमालेवाट उपाध्यक्षद्वय बामदेव गौतम र विद्यादेवी भण्डारी र अग्नि खरेल निर्वाचन आयोग पुगेका छन् ।यस्तै नेपाली काँग्रेस, राप्रपा नेपाल, राप्रपा लगायतका दलका प्रतिनिधिहरु पनि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । दल दर्ताका लागि को पहिला पुगेको भन्ने विषयमा एमाओवादी र एमालेवीच विबाद भएको हो । विवाद बढेपछि दुवै दलका कार्यकर्तालाई प्रहरीले निर्वाचन आयोग परिसरवाट बाहिर निकालेको छ ।
विवादपछि आयोगका पदाधिकारीहरु प्रक्रियालाई रोकेर आकस्मिक बैठकमा जुटेका छन् । हठ त्याग्न एमाले र एमाओवादीका नेतालाई आग्रह गर्दा पनि हठ नत्यागेपछि आयोग अन्यौलमा परेको हो । आयोगले बिहान ९ बजेदेखि दल दर्ता शुरु हुने  भनिएपनि  निर्वाचन  आयोगमा को पहिला  पुगेको हो भन्ने विषयमा एकीकृत माओवादी र एमालेवीच विवाद भएपछि अझै दर्ता प्रक्रिया सुरू हुन सकेको छैन ।  दर्ताको काम आउँदो जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । दल दर्ताको क्रममा नयाँ दलले १० हजार हस्ताक्षर बुझाउनुपर्ने हुन्छ ।
दल दर्ताको लागि के के चाहिन्छ ?
· राजनीतिक दलको नाम र सो दलको प्रधान कार्यालय रहने ठेगाना,
· राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
· राजनीतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण ।
दर्ताका लागि निवेदन दिने राजनैतिक दलले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४२ को उपधारा (३) द्वारा निर्धारित देहायका शर्तहरु पूरा गरेको वा पूरा गर्ने कबोल गर्नु पर्नेछ : -
राजनैतिक दलको विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
राजनीतिक दलको विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था,
राजनीतिक दलको विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था,
राजनीतिक दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था ।
· दर्ताको लागि दिइने निवेदनमा राजनीतिक दलले देहायका विवरणहरु संलग्न गर्नु पर्नेछ :-
(क) विधान,
(ख) घोषणापत्र,
(ग) नियमावली,
(घ) झण्डा,
(ङ) चिन्ह,
(च) केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाप्रति,
(छ) सम्वत् २०६४ सालमा निर्वाचित तत्कालीन संविधान सभामा प्रतिनिधित्व गरेको भए सो प्रमाणित हुने लिखत,
र (ज) केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको सभापति वा महामन्त्री वा सो सरहका पदाधिकारीले राजनीतिक दल दर्ता गर्न निवेदन दिने व्यक्तिलाई दिएको अधिकार पत्र ।
· निवेदन दिने राजनीतिक दलमध्ये सम्वत् २०६४ सालमा निर्वाचित तत्कालीन संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुबाहेक अन्य राजनीतिक दलहरुले कम्तीमा दश हजार मतदाताहरुको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन पेश गर्नु पर्नेछ ।
· कुनै राजनीतिक दलको सदस्यता प्राप्त गर्न केवल धर्म, जात, जाति भाषा वा लिङ्गको आधारमा नेपाली नागरिक उपर भेदभावपूर्ण बन्देज लगाइएको वा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा मुलुकको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा मुलुकलाई विखण्डित गर्ने प्रकृतिको वा त्यस्तो दलको विधान वा नियमावलीमा निर्दलीय वा एकदलीय व्यवस्था सम्बर्धन र संरक्षण गर्ने उद्देश्य रहेछ भने नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४२ को उपदफा (४) बमोजिम यस आयोगले त्यस्तो राजनीतिक दललाई दर्ता गर्ने छैन ।
· निर्वाचन प्रयोजनको लागि यस आयोगबाट मान्यता प्राप्त गर्न चाहने प्रत्येक राजनैतिक दलले यस आयोगद्वारा निर्धारण गरिएको कार्यविधि पूरा गरी यस आयोगमा दर्ता गराउनु पर्नेछ । यस आयोगबाट निर्धारण गरिएको म्याद भित्र दर्ताको लागि निवेदन नदिने राजनीतिक दललाई निर्वाचन प्रयोजनको लागि मान्यता दिइने छैन ।
· निर्वाचन प्रयोजनको लागि यस आयोगमा दर्ता नहुने राजनीतिक दलले दलको हैसियतमा निर्वाचनमा भाग लिन पाउने छैन ।