Sunday, April 28, 2013

जग्गेबाटै लगनगाँठो गायव ! - nagariknews

दृश्य १, विवाहमण्डपमा हर्षोल्लास छ। छेउमा बाजाको तालमा नाच चलिरहेछ। जन्ती–लोकन्ती आ–आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन्। दुलाहा–दुलहीलाई छेड हान्दै मण्डपको माहोल तताउनेको कमी छैन। सबै आ–आफ्नै सुरमा छन्। मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेछन्) को सक्रियता हेर्नलायक छ। अग्लो, ख्याउटे अनुहार, क्याप लगाएको ऊ दुवै पक्षलाई सहयोग गरिरहेको छ। यसो गर्नुस्, उसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ। यत्तिकैमा खाने समय भयो, सबै भोजभतेर खान–खुवाउन व्यस्त भए।
दृश्य २
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो। दुलाहा–दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो। पुरोहितले विवाह–सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातेर जग्गे परिक्रमा गर्न दुलाहा–दुलहीलाई अह्राए।
लौ बर्वाद! अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन। कसले, कहाँ लग्यो? हल्लीखल्ली भयो, तर भेटिएन। अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन्।
लगनगाँठो त उनैले टप्काएर भागेछन्। प्रहरी बोलाइयो। केहीबेरमै प्रहरी आए र निरीक्षण गरे। लगनगाँठो चोरिएको र ती अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएर चोर नै भएको खुल्यो।
पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे।
...
चलचित्रको दृश्यझैँ यो घटना सामाखुसीस्थित एबी पार्टी  प्यालेसमा शुक्रबार भएको विवाहको हो। प्रहरीलाई खबर गर्ने र आफन्तले समेत वरपर खोजी गरे पनि …चोर' भेटिएन। विवाहमण्डपमा फोटो र भिडियो खिच्नेहरुले समेत नजिकैका आफन्त ठानेर ती व्यक्तिलाई 'फोकस' गरेको बताए। हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा एक/डेढ घन्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन्।
आफन्तका अनुसार ती व्यक्तिले जग्गेका विभिन्न ठाउँमा कति पैसा राख्ने भन्नेसमेत बारम्बार सल्लाह दिएका थिए। उनले सुरुमै दुलहीकी आमालाई 'विदेश बस्ने ज्वाइँ, इज्जतको सवाल हो' भन्दै लगनगाँठोमा कम्तीमा १४–१५ हजार राख्न सुझाव दिएका थिए। दुलही पक्षका अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो।
लगनगाँठोमा दुलाहा पक्षले कम्तीमा दुलही पक्षले राखेको जति रकम राख्नैपर्छ। दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती व्यक्तिले दुलाहा र दुलहीलाई लगनगाँठो कस्न सघाएका थिए। 
लगनगाँठो तयार भएपछि आफूनजिकै राखेर ती व्यक्ति खाना खाने समय पारेर सबैका आँखा छलेर भागेको प्रारम्भिक अनुसन्धानमा देखियो।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति ट्याक्सीमा भागेका थिए। 'पैसा लिएर हिँडेको भनेर कसरी थाहा पाउने? ट्याक्सी रोकेर हिँडेको हो,' दुलाहा पक्षका एक आफन्तले भने।
खबर पाउनासाथ आएको प्रहरीले घटनास्थल निरीक्षण गरे पनि पीडित पक्षले लिखित उजुरी नदिएको सामाखुसीस्थित तिलिङटार प्रहरी प्रभागका सइ आदित्य सिंहले बताए। 'लिखित उजुरी आएको छैन, फोटोसहित उजुरी आए खोज्न सकिन्छ,' उनले भने।
लगनगाँठो चोरिनु दुर्लभ घटना भएको उनले बताए।