Tuesday, April 23, 2013

चीनमा डाक्टर पढेका ६६ प्रतिशत अयोग्य ! - onlinekhabar

चीनमा पढेर डाक्टर पेसा सञ्चालन गर्न खोज्नेमध्ये दुई तिहाइ अयोग्य देखिएका छन् । मुलुकमा चिकित्सा पेसा सञ्चालन गर्न अनुमतिनिम्ति हालै लिएको ३७ औं लाइसेन्स परीक्षामा चीनमा एमबीबीएस पढेका २ सय ५७ जनाले परीक्षा दिएकामा ८८ जनामात्र पास भएर पेसा सञ्चालन अनुमति पाएका छन् । चीनमा पढेका एक सय ६९ जना फेल भएका छन् । doctorनेपाललगायत विभिन्न मुलुकबाट एमबीबीएस सकाएर लाइसेन्स परीक्षामा सहभागी ४ सय ७० जनामध्ये ५३ दशमल ४ प्रतिशत डाक्टर फेल भएका थिए । केही महिनाअघि लिइएको ३६ औं लाइसेन्स परीक्षामा समेत चीनमा पढेकामध्ये ७२ प्रतिशत फेल भएका थिए ।
नेपालमा पढेर परीक्षामा सामेल १२ प्रतिशत फेल भएका छन् । मुलुकको विभिन्न मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय १५ जना डाक्टर परीक्षामा सहभागी भएकामा १४ जना डाक्टर फेल भएका छन् । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । काउन्सिलले फरक देशमा अध्ययन पूरा गरेकाको गुणस्तरमा एकरूपता ल्याउन १३ वर्षदेखि चिकित्सक लाइसेन्स परीक्षा लिंदै आएको छ । काउन्सिलको परीक्षा उत्तीर्ण नगरी उपचारमा संलग्न हुन वा मेडिकल चलाउन पाइन्न । लाइसेन्स नलिएका चिकित्सकको उपचारबाट कुनै बिरामीको मृत्यु भए ती डाक्टरमाथि ज्यानमारा मुद्दा चल्न सक्छ ।यसपटकको परीक्षामा विदेशबाट एमबीबीएस गरेका ३ सय ५५ जना परीक्षामा सहभागी भए पनि २ सय ६ जना फेल भएका थिए । बेलारुसका चार र माल्दोभाबाट डाक्टरी पढेर लाइसेन्स लिन खोजेका दुईजनामध्ये यसपटकको लाइसेन्स परीक्षामा कसैले पास गर्न सकेनन् । यस्तै बंगलादेशबाट पढेर आएका ४२ मध्ये १० जना, भारतका ८ मध्ये दुई जना, कायर्ज रिपब्लिकका १० मध्ये ६ जना, पाकिस्तानका ४ मध्ये दुई जना, रसियाका १४ मध्ये ८ जना, युक्रेनका १० मध्ये ३ जना फेल भएका छन् ।
फेल हुनेमा नेपालबाट एमबीबीएस गरेका डाक्टरहरूसमेत छन् । काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स, धुलिखेलबाट एमबीबीएस गरेर परीक्षामा सहभागी एकजना चिकित्सकसमेत फेल भएका छन् । जानकी मेडिकल कलेज, जनकपुरबाट एमबीबीएस पढेका ९ जनाले परीक्षा दिएकामा तीनजना फेल भएका छन् ।