Sunday, April 28, 2013

यसरी दिइयो मृतकलाई लाइसेन्स - ekantipur

बीरगञ्ज , वैशाख १५ - वीरगन्ज सहर प्रवेश गर्नेबित्तिकै आउने पावरहाउस चोक, पूर्वतिर करिब २ सय मिटरको दूरीमा नारायणी यातायात व्यवस्था कार्यालय छ । सवारी लाइसेन्स लिने प्रक्रिया, नवीकरण, सवारी दस्तुर, सवारी अञ्चलीकरणलगायतका सवारीसम्बद्ध काम हुने अड्डामा बिदाबाहेकका दिनमा सधैं भीडभाड हुन्छ । अझ लाइसेन्सको आवेदन खुलेपछि त ससानो मेलाकै झझल्को दिने भीड ओइरिन्छ ।

license यो अड्डाअगाडि सडकको दायाँबायाँ दुई दर्जनजति सटरमा पसल छन् । सबैजसो पसलमा फोटोकपी मेसिन, लोडसेडिङको समयमा पनि सेवा दिन जेनरेटरसहित तम्तयार अवस्थामा छन् । एक दर्जनजति त ड्राइभिङ इन्स्िटच्युटको नाममा खोलिएका बिचौलिया सेन्टर । सटरमा हुने काम हेर्दा तिनलाई उपअड्डा भन्न फरक नपर्ने । सेवाग्राहीको सामान्य काम पनि ती दलालबेगर असम्भव भन्ने कुरा पनि थाहा पाइएकै हो । कर्मचारी पनि बाठा, सेवाग्राहीकै हातबाट सोझै 'माल' नलिने । दलालमार्फत मात्र रकम बुझ्ने 'स्वच्छछवि' ।

गजब के छ भने यातायात व्यवस्था विभागले भ्रष्टाचार नियन्त्रण गर्न भनेर दिएको सीसीटीभी क्यामेरा कर्मचारीले थन्क्याएका छन् । अरू बेला चलिहाले नि ट्रायलको बेला बन्द हुने निश्चित ।

ड्राइभिङ सेन्टरको दोकान खोेलेर बसेका बिचौलियालाई रकम दिएपछि एकमुष्ट आवेदन दर्ता हुन्छ । अनि लाइसेन्सका लागि अड्डामा उपस्थिति नै नजनाए पनि होमडेलिभरीको सुविधा । उपस्थित हुनेको एउटा रेट र होमडेलिभरीका लागि तेब्बर दस्तुर । मैले यस विषयमा एकाधचोटि समाचार पनि लेखें । अरूले पनि लेखिरहेका हुन् । समाचार लेख्ने क्रममा भेट्दा कर्मचारीका आफ्नै गनगन हुन्थे, 'राजनीतिक दल, तीनका भ्रातृ संगठन, भूमिगत, सञ्चारकर्मी, प्रहरीलगायतबाट थुप्रै सिफारिस आउँछ । स्थानीय गुन्डा, ट्यापे मुन्द्रेको पनि सिफारिस नमान्दा पिटाइ खाइएला भन्ने डर । बरु तपाईंका पनि कोही छन् भने भन्नुस्' भन्थे । र सदायशयता देखाएझैं गर्थे ।

एकातिर सडक दुर्घटनामा बर्सेनि हजारभन्दा बढीले ज्यान गुमाइरहेको संवेदनशील अवस्था । अर्कोतिर सरकारीतन्त्रको लाइसेन्स वितरणमा यस्तो संवेदनहीनता । यातायात अड्डाको यस्तै बेथितिबारे चर्चा चल्यो । समाचार त लेखियो तर कसैको कानमा बतास लाग्ने होइन । बरु 'ए तेरो सिफारिसचाहिँ चलेन कि क्या हो' भनेर जिस्किने साथीभाइ । अबचाहिँ नयाँ ढंगले काम गरौं भन्ने भयो । तहल्काडटकमले स्टिङ अपरेसन गरेर भारतमा तहल्का मच्चाएको विद्यार्थीकालमै सुनिएको थियो । यहाँ पनि स्टिङ अपरेसन गरी मृत व्यक्तिको नाममा सवारी लाइसेन्स निकालेर अड्डाको मानवीय संवेदनाहीन भ्रष्टाचारको खुलासा गर्ने योजना बुनियो । काठमाडौंमा सरसल्लाह गर्दा योजना अघि बढाउने हौसला मिल्यो । तर, जो मृत व्यक्तिको नाममा लाइसेन्सको आवेदन दिने हो, त्यो परिवारको स्वीकृति चाहिने कुरा आयो ।

अब मृत व्यक्तिको नागरिकता र फोटो खोज्न थालियो । प्रयोजन बताउँदा योजना लिक भई तुहिने डर, नबताउँदा घरजग्गा आफ्नो बनाइदेला वा दुरुपयोग गर्ला कि भन्ने डरले कसैले नदिने । तीनजनासँग प्रस्ताव राखियो तर रित्तो हात र्फकनुपर्‍यो । अब स्वर्गवासी आफन्तको नाममा लाइसेन्स निकालेर हामीलाई के फाइदा भन्ने तिनको जवाफ हुन्थ्यो । तर योजनाबारे कसैलाई नभन्न गरेको अनुरोधलाई तिनले मानेकाले कुरो कर्मचारीलाई र दलालसम्म पुग्न पाएन ।


यो स्टिङ अपरेसनमा सम्मिलित एकजना साथीको अर्को घनिष्ट साथीको बुवा गएको माघमा शंकास्पद अवस्थामा मृत्ा अवस्थामा फेला परेका थिए, भक्तपुरमा । परिवारजनले मृत्युलाई स्वाभाविक मान्न नसकिरहेका थिएनन् । यही मेसोमा बुवाको मृत्युको कुरा उप्किएर फेरि अनुसन्धानले गति लिन सक्ने आसमा ती साथीले बुवाको नागरिकताको फोटोकपी र फोटो प्रयोग गर्ने अनुमति दिए र कुरियरमार्फत वीरगन्ज पठाइदिए । काजगपत्र हात लागेपछि चल्तापुर्जा दलालको खोजीमा जुटियो । दुईजना दलालले ठूलो रकम माग गरे । 'सवारी चालक नै नआउँदा धेरै ठाउँमा सेटिङ गर्नुपर्ने हुन्छ,' ती दलालको भनाइ थियो ।

यसैबीच यातायात व्यवस्था कार्यालयले चैत १८ गते नयाँ सवारीचालकको आवेदन आह्वान गर्‍यो । त्यो दिन कार्यालयमा पुग्दा भेटिएका दलालले तीन हजार मागे । यो रकम बेहोर्न सकिने नै थियो र अगाडिका दलालले मागेको भन्दा कम पनि थियो । उनीसँगै डिल फाइनल भयो । यसबाहेक सरकारी दस्तुर १५ हजार रुपैयाँ त अलगै बुझाउनुपर्ने भयो । व्यक्ति उपस्थित हुँदा ५ हजार लाग्ने भए पनि अनुपस्थित हुने भएकाले तेब्बर दस्तुर लाग्ने ती दलाले बताए ।

मसँग मात्र भएको पैसाले पुग्ने भएन । एकजना साथीसँग सापट लिएँ । दलाललाई दुई चरणमा रकम दिने कुरो तय भयो । घूस नदिँदा पास हुनेले पनि लाइसेन्स पाउन गाह्रै हुन्छ । यहाँ त, मान्छै नै उपस्थित नहुने अवस्था थियो । नदिएर सुख थिएन । लाइसेन्स लिनेको नागरिकताको फोटोकपी, चार प्रति फोटो र तय भएको रकम ती दलाललाई दिइयो ।

रामेश्वर राउतको नाम दर्ता भएपछि प्रवेशपत्र जारी भयो । चैत २२ गते लिखितमा पास हुनेको सूचीमा उनको नाम १२७ नम्बरमा देखिएपछि आपmनो योजना सफल हुनेमा पचास प्रतिशत विश्वस्त भइयो । चैत २४ गतेको ट्रायलमा समेत पास भएको दलालले जानकारी गराएपछि योजना ९० प्रतिशत सफल भयो । तर ट्रायलको नतिजा कार्यालयले प्रकाशमा ल्याउँदैन रहेछ । वैशाख ८ देखि लाइसेन्स वितरण गरिने दलालबाटै थाहा भयो । उक्त अवधिमा कार्यालय सुनसान देखिन्थ्यो । 'निवासमै कर्मचारीले लाइसेन्स बनाउँछन्,' दलाल भन्दै थिए, 'लेनदेनको हिसाब नमिलेपछि यसपालि अलिकति ढिलो भएको हो ।' वैशाखदेखि लाइसेन्स लिन नयाँ खाले ट्रायल लिने भएकाले यसपालि चाप बढी भएको तिनको भनाइ थियो  । दुईपाङ्ग्रे सवारी इजाजत लिन तीन हजार ३६ जनाले आवेदन दिएका थिए । लिखितमा दुई हजार सात सय ४७ पास भए  ।

झन्डै तीन महिनाअघि मृत्यु भएका व्यक्तिको नाममा वैशाख ८ गते नारायणी यातायातले लाइसेन्स दियो । शाखा अधिकृत ईश्वरी ढकालको हस्ताक्ष्ार रहेको राउतको लाइसेन्स नम्बर २३०५३३२ थियो । दिउँसो २ बजे लाइसेन्स हात पर्‍यो । अब मुख्य काम गर्ने पालो थियो, समाचार लेख्ने । तर, लाइसेन्सकै भरमा समाचार प्रकाशित गरे कर्मचारीले त्यो नक्कली भनिदिने र कार्यालयमा रहेका ढड्डालगायतका सबुत सजिलै नष्ट गरिदिने सम्भावना थियो । ढड्डाको तस्बिर लिन पुग्दा भीडभाड भएको भन्दै कर्मचारीले प्रवेश गर्नै दिएनन् । नारायणी अञ्चलका एसएसपी सर्वेन्द्र खनाललाई जानकारी गराई ढड्डा नियन्त्रणमा लिन लगाउने सल्लाह भयो । मृत व्यक्तिको लाइसेन्स जारी भएको प्रमाण देखाएपछि ढड्डा नियन्त्रणमा लिन उनी तयार भइहाले । आफैं लाइसेन्स फाँटमा पुगेर वितरित लाइसेन्सका ढड्डा, लिखित, ट्रायलको नतिजा, हाजिरी पुस्तिका सिलबन्दी गरेर नियन्त्रणमा लिए । अनियमितताको भरपर्दो सूचना आएको बताए पनि उनले गाँठी कुरा खोलेनन् । सोही समयमा सवारीचालकको स्वास्थ्य चेकजाँच गर्ने चिकित्सक मदिरा सेवन गरेर त्यहाँ आइपुगे । मेरो सिफारिसबिना नै लाइसेन्स किन वितरण गरेको भन्दै कर्मचारीलाई हप्काउन थाले । प्रहरीले उनलाई मापसे गरेको भन्दै सँगै लिएर गयो ।

लाइसेन्सको लागि दिइने लिखित परीक्षा होस् वा ट्रायल सवारीचालकको उपस्थिति अनिवार्य हुन्छ । ढड्डामा ल्याप्चेसमेत लगाउनुपर्छ । सबै प्रक्रिया पूरा भएपछि चालककै उपस्थितिमा अधिकृतले लाइसेन्समा हस्ताक्षर गर्छन् । तर, तोकिएको घूस दिएकै भरमा जो कोहीले पनि सजिलै लाइसेन्स पाउन सक्ने नारायणी यातायातले प्रमाणित गरिदिएको छ । मृतकलाई लाइसेन्स जारी भएको खुलासा भएपछि यातायात विभागले स्पष्टीकरण सोधेको छ । एसएसपी खनालले भोलिपल्टै कारबाहीका लागि नियन्त्रणमा लिइएका कागजात प्रमुखलाई जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीलाई जिम्मा लगाएका छन् । त्यसयता यातायात अड्डा प्रमुख कृष्ण पाण्डेले फोन उठाउन छाडेका छन् ।

घूसकै लागि लाइसेन्स वितरणमै यस्तो अनियमितता गरी मान्छेको जीवनसँग खेलबाड गर्ने क्रोनिक रोग दशकौंदेखि जारी छ । पहिला प्रहरीले वितरण गर्दा पनि यस्तै ताल थियो अहिले निजामतीको हातमा पनि उस्तै छ । यो स्टिङ अपरेसनले त्यसको खुलासा मात्र गरेको हो । लाइसेन्सका लागि आउने यस्तो घूस रकममा यातायातका कर्मचारीका साथै वितरणमा सहभागी हुने प्रहरीको समेत भाग लाग्ने गर्छ । अनि यातायात र वीरगन्जजस्तो ठाउँमा जान कर्मचारीको तँछाडमछाड चल्दैन त ?
को हुन् रामेश्वर राउत ?

यो अपरेसनमा जसको नाममा लाइसेन्स निकालियो ती रामेश्वर राउत माघ २२ गते तय भएको जेठी छोरी लक्ष्मीको विवाहको निम्ता बाँड्न १९ गते घरबाट निस्केका थिए । भक्तपुर दधिकोटका ४५ वषर्ीय राउतको शव भोलिपल्ट घरबाट करिब एक किलोमिटर दूरीमा फेला परेको थियो । ढलका लागि प्रयोग गरिने ह्युमपाइपमा आगो लागेर जलेको अवस्थामा उनको शव २० गते बिहान स्थानीयले फेला पारेका थिए । घटनास्थालनजिकै उनले चढ्ने नीलो रगंको बा३८प ५२५९ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो । घर जाने बाटोतर्फ फर्काएर बाटोमा साइड लगाएको मोटरसाइकलको साँचो फेला परेन । मृतकको कालो ज्याकेट मोटरसाइकल भएको स्थानबाट केही पर भेटिएको थियो । ज्याकेटमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको एक लाख रुपैयाँको चेक, ६ हजार ८ सय ९० रुपैयाँ नगद, बिहेको निम्तो कार्ड, डायरी, नागरिकता, लाइसेन्स, ब्लुबुक भेटिएको थियो । ज्याकेट नजिकैको कान्लामा हँसिया हथौडा अंकित रातो झन्डासमेत भेटिएको थियो । परिवारले उनको हत्या भएको बताएका छन् । तर, अनुसन्धानले हत्या वा आत्महत्याको टुंगो लगाउन सकेको छैन ।