
सुबोध
गौतम, लामाबगर, वैशाख ९ - दोलखा लामा बगरका ५६ वर्षीय स्थानीय मिजार
(परिचित नाम) बीस बर्षपछि काठमाडौंबाट फर्किएका छन्। लामाबगर बसेर उनको
दैनिक नचल्ने भएपछि उनी २० वर्षअघि काठमाडौं आएका थिए। लामाबगरका स्थानीय
तीन वर्ष अघिसम्म भिर र तामाकोशी नदीको तिर हुँदै गोरेटोबाटो छिचोलेर साढे
२८ किलोमिटर पार गर्दै यहाँ आउँथे। अहिले गाडीमा आउन थालेका छन्।

दोलखाको चरिकोट हुँदै
सिङ्गटीसम्मको ३५ किलोमिटर कच्ची सडक थियो। वर्षायाममा सिंगटी पुग्न कठिन
हुन्थ्यो। तर अहिले दुई लेनको ग्राभेल बाटो बनेको छ। बाह्रै महिना गाडी
चल्छ।

स-साना कच्ची घरहरु भएको
लामा बगरमा अहिले पिलरवाला कंक्रिटका घरहरु बनिरहेका छन। यस्त संरचना
दिनप्रतिदिन थपिँदै छन। सिङ्गटीका हुन् वा वरपर बजार स्थानीय अहिले महँगा
मोटरसाइकलमा हुँङकिन्छन्। उनीहरुको दैनिक फेरिएको छ।
यो परिवर्तनको एउटै कारण हो : दोलखाको उत्तरी गाविस लामाबगरमा बनिरहेको
चार सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना। यो ०६७ भदौ १७
देखि सुरु भएको हो। ०७२ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्वदेशी
लगानीमा निर्माण हुन लागेको पहिलो ठूलो आयोजना हो। आयोजनाको कुल लागत ३५
अर्ब २९ करोड रुपैयाँ छ। मुलुकका धेरै विकास निर्माणका कामहरु अवरुद्ध
भइरहेका बेला यहाँ भने धमाधम काम भइरहेको छ। विदा र राति भन्ने छैन। त्यसकै
कारण ४५ प्रतिशत काम सम्पन्न भएको प्राविधिकहरु बताउँछन्। १६ किलोमिटर
सुरुङमध्ये नौ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।

विद्युतगृह, पनेस्टक
लगायतका भौतिक निर्माण भूमिगत छ। यसका लागि भूमिगत रुपमा झण्डै दश तलाको
भवन बन्दैछ। तामाकोशीको बहावमा वर्षभर नै खासै उतारचढाव हुँदैन। हिउँदमा
मासिक बहाव तुलनात्मक रुपमा राम्रो मानिन्छ।

हालसम्म
मुख्य सुरुङको शुरुको भाग, भैसे अडिट सुरुङ, पनेस्टक अडिट सुरुङ, टेलरेस
सुरुङ गरी काम भइरहेको छ। यसमध्ये विद्युत गृह जाने पाइलट सुरुङ, भैंसे
अडिट, पेनस्टक अडिट, मुख्य प्रवेश सुरुङ तथा टेलरेस अडिट सुरुङको निर्माण
पूरा भइसकेको छ। विद्युत गृहको थर्ड बेन्चसम्म करिब १४ दशमलव ३ मिटर
खनिसकिएको छ। ट्रान्सफर्मर क्याभिनको बाँकी बेन्च खन्ने काम भइरहेको छ।
यसैगरी ड्याम एक्सीस मा गाडिएको स्टिल सिट पाइल गाड्ने काम र त्यसको
अघिल्तिर जेट ग्राउटिङ्ग गर्ने कार्य पनि सकिएको छ। बाँध स्थलमा कफर ड्याम
निर्माण गरी बाँध, इन्टेक र बालुवा थिग्राउने पोखरीमा कंक्रिट भर्ने काम
भइरहेको छ। बाँधको लम्बाई ६० मिटर र उचाई २२ मिटर छ।

सबैतिर अवरुद्ध र निराशा छाइरहेको बेला 'माथिल्लो तामाकोशी'मा मात्र
विकासको रफ्तार किन? यो राष्ट्रिय गौरवको आयोजना हो। यसमा दोलखाबासीको
अपनत्व छ। दोलखाबासीका नाममा १० प्रतिशत शेयर छुट्टाइएको छ। यस आयोजनाले
एउटा सन्देश दिएको छ, 'विकासका लागि एकता'। कांग्रेस, एमाले, एमाओवादी,
नेकपा-माओवादीलगायतका साना ठूला सबै दल एकजुट छन, आयोजना निर्माण। नागरिक
समाज त्यत्तिकै सक्रिय छ। सलाम छ, दोलखाबासीलाई। दोलखाको सन्देश आत्मसात
गर्ने हो भने तपाई पनि आयोजनास्थल आउन सक्नुहुनेछ। काठमाडौबाट दोलखा
सदरमुकाम चरिकोट १३५ किलोमिटर छ। चरिकोटबाट दोलखा बजार साढे ४ किलोमिटर,
दोलखाबाट सिंगटी खण्ड ३५ किलोमिटर, सिंगटीबाट लामाबगर साढे २८ किलोमिटर छ।