Sunday, June 17, 2012

१८ वर्षपछि फर्किए मैनाली - sourya daily

-रामहरि पाण्डे

काठमाडौं, ३ असार । १८ वर्षपछि स्वदेश फर्कंदा गोविन्दप्रसाद मैनाली युद्ध जितेर फर्केको सिपाहीझैँ देखिन्थे । आफन्त, शुभचिन्तक र पत्रकारको ठूलो भिडले शनिबार उनलाई त्रिभुवन विमानस्थलमा पर्खिरहेको थियो । जब विमानस्थलको आगमनकक्षबाट दुवै हात हल्लाउँदै मैनाली बाहिर निस्के, ठूला सेलिब्रेटीलाई जसरी भिडले घेरा हाल्यो । उनलाई बाहिर निकाल्न प्रहरीलाई नै हम्मे पर्‍यो ।
जापानमा १५ वर्ष लामो जेलजीवन बिताएपछि निर्दोष सावित भएका उनी थाई एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन् । उनलाई जापानी युवतीको बलात्कार गरी हत्या गरेको अभियोग लगाइएको थियो । तर, डिएनए परीक्षणबाट उनी निर्दोष प्रमाणित भएका थिए । फर्कर्ने क्रममा विमानस्थलमा मैनालीले आफूमाथि जापानमा दुव्र्यवहार भएको र नेपाल सरकारबाट उचित सहयोग नपाएको गुनासो गरे ।
मैनालीको स्वागत गर्न उनकी बूढीआमा चन्द्रकला, दाजु इन्द्रप्रसादलगायत परिवारका सदस्य हातमा फूलमाला र अबिर लिएर साढे दस बजे नै विमानस्थल पुगिसकेका थिए । स्वदेशी तथा विदेशी समाचार संस्थाका प्रतिनिधिको ठूलो समूह पनि विमानस्थलमा ११ बजेतिरै जम्मा भएको थियो । श्रीमती र केही सहयोगीसहित पौने एक बजे मात्र मैनाली विमानस्थलबाट बाहिरिएका थिए । बाहिरिने क्रममा गोविन्दले क्यामेरातर्फ हेर्दै दुवै हातले नेपाली भूमिलाई ढोगे ।
७९ वर्षीया आमा चन्द्रकला छोरालाई देख्नेबित्तिकै भावविह्वल भइन् । उनका आँखाबाट बरबर्ती आँसु झरेका थिए । हातमा रहेको फूलमाला छोराको गलामा पहिर्‍याउँदै उनले निकैबेर छोरालाई अँगालोमा बाँधिन् ।
चारैतिरबाट एक्कासी सच्चारकर्मीको घेरामा परेका मैनालीले प्रतिक्रिया दिँदै भने, ‘ढिलै भए पनि न्याय पाएकामा म निकै खुसी छु । यो खुसी म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’ आफूलाई झुटो अभियोगमा जेल चलान गरी १५ वर्षसम्म थुनेर राखिएको उनले बताए । आमा चन्द्रकलाले छोरालाई भेट्न पाउँदा आफू बाँचिरहनुको अर्थ पूरा भएको बताइन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘मेरो छोरो निर्दोष सावित भएर आयो, मेरा लागि योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन ।’
मैनालीले शनिबार साँझ पत्रकार सम्मलेन गरी आफू निर्दोष छँदाछँदै पनि १५ वर्ष जेल जीवन बिताउन बाध्य भएकामा निकै दु:खी भएको बताएका छन् । ‘ढिलै भए पनि न्याय पाएकामा खुसी छु र अन्तिम फैसलामा पनि पूर्ण न्याय पाउने अपेक्षा गरेको छु,’ उनले भने । १५ वर्षदेखि एउटा निर्दोष नागरिक विदेशी भूमिको थुनामा रहँदा पनि नेपाल सरकारले कुनै चासो नदेखाएकामा निकै पीडित र दु:खी भएको उनले सुनाए । मैनालीले भने, ‘मेरोजस्तै अवस्थामा अरू नेपाली नपरून् भनेर बिन्ती गर्न चाहन्छु ।’
जेल बसाइका क्रममा त्यहाँको जेलर र अन्य अधिकारीबाट आफू निकै पीडित पाएको उनले बताए । आफूलाई जेलमा तल्लो स्तरको व्यवहार गरेको उल्लेख गर्दै मैनालीले राम्रो कपडा लगाउन नदिएको, खाना खान नपाएको, अत्यन्तै तल्लोस्तरको बोलीवचन प्रयोग भएको पनि जनकारी गराए । क्षतिपूर्तिबारे सोधिएको अर्को एक जिज्ञासामा उनले भने, ‘क्षतिपूर्तिबारे विभिन्न खाले टीका–टिप्पणी भइरहेको मैले सुनेको छु तर मुद्दाको किनारा लाग्न अझै बाँकी रहेकाले यसबारे मैले केही बताउन मिल्दैन ।’
जापानबाट गोविन्दसँगै नेपाल आएका जापानको जस्टिस फर गोविन्द इनोसेन्ट एड्भोकेसी ग्रुपका सदस्यहरूले गोविन्दका पक्षमा मुद्दा लड्दा पाएको दु:खबारे जानकारी गराएका थिए । उनीहरूलाई मैनाली परिवारका तर्फबाट गोविन्दलाई जेलमुक्त गर्न सहयोगीको भूमिका खेलेको भन्दै मायाको चिनो प्रदान गरिएको थियो । गोविन्दसँगै जापानबाट वकिल र सञ्चारकर्मी आएका थिए ।
इलामको गोलखर्कमा जन्मिएका मैनाली १९९४ मा तीनमहिने टुरिस्ट भिसामा जापान गएका थिए । उतै बसी काम गरिरहेको तीन वर्षपछि ३९ वर्षीया जापानी यौनकर्मी महिला यासुको बाटानाबीको बलात्कार गरी हत्या गरेको आरोपमा उनलाई त्यहाँको प्रहरीले सन् १९९७ मा नियन्त्रणमा लिएको थियो । जापानको उच्च न्यायालयले पनि जापानीको हत्या गरेको पुष्टि गर्दै मैनालीलाई आजीवन काराबासको फैसला सुनाएको थियो । अदालतको फैसलालगत्तै उनलाई जापानको योकोहामास्थित जेलमा राखिएको थियो ।
तर, मैनालीले भने आफू निर्दोष रहेको बयान दिँदै डिएनए परीक्षण गर्न माग गर्दै आएका थिए । हत्या गरिएकी महिलाको शरीरबाट संकलन गरिएका ४२ वटा नमुनाको डिएनए परीक्षण गरिएको थियो । सबै परीक्षणमा बलात्कार मैनालीले नगरी अरूले नै गरेको पुष्टि भएको थियो । परीक्षणलाई आधार बनाएर मैनालीले मुद्दा पुनरावलोकन गर्न अदालतमा निवेदन दिएका थिए । र, उनलाई गत २५ जेठमा टोकियो उच्च न्यायालयले निर्दोष सावित गर्दै रिहा र मुद्दाको पुनरावलोकन गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनलाई जेलबाहिरै रहेर मुद्दा लड्ने अधिकार मिलेको हो । मैनालीका पक्षमा जापानका अधिकारकर्मी र जापानमै रहेका केही नेपालीले कानुनी लडाइँ लडेका थिए ।
सन् १९९७ मार्चमा प्रहरीले टोकियो जिल्ला अदालतमा पहिलोपटक मैनालीविरुद्ध मुद्धा दायर गरेको थियो । तर, अदालतले सन् २००० अप्रिल १४ मा मैनाली निर्दोष रहेको फैसला सुनाएको थियो । निर्दोष ठहर भएपछि उनलाई नेपाल फर्काउने सिलसिलामा अध्यागमन विभाग लगिएको थियो । तर, अध्यागमन कार्यालयबाटै प्रहरीले फेरि पक्राउ गर्‍यो । त्यसपछि सरकारी वकिलले टोकियो उच्च अदालतमा मुद्दा दायर गरे भने न्यायालयले पहिलेको फैसला उल्ट्याउँदै आजीवन कारावासको सजाय सुनाएको थियो ।
राजधानीमा गरेको पत्रकार सम्मेलनमा मैनालीका सहयोगी इमाई क्यो हाईले जिल्ला अदालतले निर्दोष देखाएको व्यक्तिलाई सर्वोच्चले दोषी ठहर्‍याएपछि आफूहरूलाई शंका लागेर गोविन्दको पक्षमा लड्न समिति नै बनाएको बताइन् । जेलमा रहँदा गोविन्दलाई परिवारको मायाबाट टाढा रहन नपरोस् भनेर उनकी श्रीमती राधालाई सन् २००१ पछि नौपटक तथा आमा चन्द्रकलालाई एकपटक, दाजु इन्द्रलाई तीनपटक तथा छोरीहरूलाई एकपटक भेट्ने अवसर मिलाइएको उनले जानकारी दिइन् ।
इलामकै शान्तिपुर गाउँकी राधा दाहाल र गोलाखर्क गाउँका गोविन्दप्रसाद मैनालीबीच ०४८ सालमा विवाह भएको थियो । इलाममा खानदानी परिवारमा जन्मिएका गोविन्द विवाह गरेको दुई वर्षपछि ०५० सालमा जापान उडेका हुन् ।