८ आसर, काठमाडौं । पाकिस्तानको सत्तारुढ
दल पाकिस्तान पीपल्स पार्टी पीपीपीले नयाँ प्रधानमन्त्रीमा राजा परवेज
अशरफको नाम घोषणा गरेको छ । संसदमा शुक्रबार मतदान हुनेछ ।
सत्तारुढ
गठबन्धनको बैठकपछि पीपीपीका वरिष्ठ नेता खुर्शीद शाहले पत्रकारहरुसँग कुरा
गर्दै अशरफलाई नयाँ प्रधानमन्त्रीमा मनोनयन गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पीपीपी नेतृत्वको गठबन्धनको सबै सदस्य उपस्थित थिए ।
सत्तारुढ दलको बहुमत रहेकाले अशरफ प्रधानमन्त्री बन्ने पक्का छ ।
पीपीपीले यसअघि मुखदुम शहाबुद्धिनको नाम
प्रस्ताव गरेलगतै नाशालु पदार्थसम्वन्धी एक अदालतले पक्राउ पूर्जी जारी
गरेको थियो । अदालतको अपहेलनाको मुद्धामा पाकिस्तानको उच्च अदालतले
तत्कालिन प्रधानमन्त्री यूसुफ रजा गिलानीलाई पदमा बसिरहन अयोग्य ठहर गरेको
थियो ।
पन्जावको गुजर खान जिल्लाका प्रस्तावित
प्रधानमन्त्री अशरफ सन् २००२ देखि २००८ सम्म तल्लो सदनको सदस्य
हुनुहुन्थ्यो । सन् २००८ मा पीपीपीले सरकारको नेतृत्व गर्दा अशरफ पानी र
विजुलीको केन्द्रीय मन्त्री हुनुहुन्थ्यो । सन् २०११ मा भ्रष्टाचारको आरोप
लागेपछि उहाँले पदबाट राजीनामा दिनु भएको थियो । पछि उहाँलाई सूचना तथा
प्रविधि विभागका केन्द्रीय मन्त्री बनाइएको थियो ।