-शशि पोखरेल
नेकपा एमालेले आङकाजी शेर्पालाई पार्टीबाट
निष्काशन गर्दा राजकुमार लेखी र अशोक राईको टाउको तातेको देखेर उदेक
लागिरहेछ । यी तल्लो तहको गाली गलौज गर्न उचालिएका महामहिमलाई खासमा
उहिल्यै आन्दोलनका बेलामा आदिवासी जनजाति महासंघबाट घोक्रायाएर
निकालिनुपर्ने थियो । मेरो बुझाईमा राजकुमार लेखी कम्युनिष्ट स्कुलिङले
खारिएका र पहिचानको राजनीतिको बारेमा स्पष्ट खाका भएका जुझारु नेतृत्व हुन्
। तर यीनका गतिविधीले झस्काउन थालेको छ, कतै यी आङकाजीलाई आफ्ना राजनीतिका
गुरु मान्न त थालेनन् ?
संघीयताको आधारका लागि भएको आन्दोलनमा
प्रष्ट देखिएको थियो, आन्दोलनमा उत्रनेहरु र त्यसको विरोध गर्नेहरुको
अल्पबुझाई । यही अल्पबुझाईले गर्दा भाँडभैलो भयो र बेलैमा बुझाउन सकिएनछ कि
भन्ने कुरामा त्यो बेला लेखीहरुले सही थापेकै हुन् । अहिले लम्बिएको
संक्रमणकालमा आफ्ना एजेन्डा आफ्नै समुहभित्र र वाहिर बुझाउन पाउने मौका
छोडेर यी कता दुला पसे कुन्नि !
जातीय
पहिचानको राज्य र जातीय राज्यको अर्थ समान होइन । यी दुईमा आकास जमिनको
फरक छ । एउटा जातिलाई एउटा क्षेत्र छुट्याइदिएर लौ यो तिमीहरुको भाग है,
गरिखाउ भनेर दिने हो भने त्यो जातीय राज्यको अवधारणा हो । होइन, यो भेग वा
क्षेत्रतिर यो जातिका पुर्खाको थातथलो थियो, तिनै धर्तीपुत्रहरुको सम्मानमा
यो भेगलाई त्यही कविला -वा जाति/यसमा विवाद नगरौ) को नाममा नामाकरण गरौँ,
भन्नु जातीय पहिचानको अर्थ हो । हुनसक्छ, ती नामले सम्मानित जाति वा अरु
त्यही भित्रका अल्पसंख्यकको लागि पनि दुई चार बर्षको लागि विशेष पहिचानको
आरक्षणले सम्मान गर्न सकिएला ।
आन्दोलनको नेतृत्वले बुझाउनुपर्ने कुरो
यही हो । ती जातीय राज्य माग्दैछन् कि जातीय पहिचानको राज्य । यदि जेठ १४
अघि सडकमा लागेका नारा स्मरण गर्ने हो भने तिनले जातीय पहिचानको राज्य
भन्दैनन् । ती सडकमा निस्केका उग्र जमातले अलि बुझक्कड खालका चुच्चे थेप्चे
कसैले सुन्नै नसक्ने खालका नारा लगाएर साम्प्रदायिक सद्भाव ध्वंश गर्ने
प्रयत्न गरे । त्यसको प्रतिकारमा चुच्चे नाकवालाहरु जातीय आधारमा देश
टुक्र्याउन पाइन्न भन्दै सडकमा निस्के । तिनले राष्ट्रिय झण्डा बोके, आफ्ना
नामका अघि पछि नेपाली भन्ने शब्द तुर्लुंग झुण्ड्याए, अनि हाम्रो पाटाका
जति सच्चा नेपाली पारिपाटाको आन्दोलनवालाहरु सबै कुपाली भन्ने ब्यंग्य गरे ।
्यसको अर्थ ती सडकमा निस्कनेहरु कसैका
प्रायोजनमा वा उक्साहटमा बिध्वंश गर्न खोज्दै थिए भन्ने होइन । तिनले
बुझेनन् वा तिनलाई बुझाइएन । जातीय आधारमा राज्यको माग गर्दै सडकमा
आउनेहरुका आकांक्षा कसरी चुलिए भने तिनले आफुले भने अनुसारको संघीयता घोषणा
भएको भोलिपल्ट गाउँ फर्केर चुच्चो नाकवाला गाविस सचिवलाई लघारेर त्यहाँ
आफु बस्न पाइएला भन्ने सपना देख्न थाले । तिनले धरान र ताप्लेजुङमा अहिले
हैकम चलाएर बसेका गैर लिम्बुहरुलाई जरैदेखि लखेटेर तिनका दरबारमा कोठा
सारौँला भन्ने सपना देख्न थाले । अर्कोतिर ती चुच्चे नाकवालाहरुलाई यही
पिरलोले रातोदिन बस्न खान दिएन । ‘मरते तो क्या नही करते’ भन्ने सांेचेर ती
सडकमा आए, जातीयताको आधारमा भाग बाँडेर दुनियालाई अलपत्र पार्न पाइदैन
भन्दै कुर्लिए । आफ्नो आफ्नो बुझाईमा ती दुवैपक्ष आफु र आफ्ना पुस्तौसम्मको
अधिकारको लागि लड्न निस्केकै हुन् । ती सडकमा निस्केका कुनै पनि पक्षलाई
एक अर्काले धारे हात लगाउनु ब्यर्थ छ ।
अब भने बिस्तारै डर र शंका बढ्दै जान
थालेको छ, यी आन्दोलनका अभियन्ताहरु दुला पसेको देखेर । राज्यसँग
गर्नुपर्ने लडाई र आन्दोलन अर्को जातितर्फ तेस्र्याइदिएर कतै यिनले आफ्ना
कविलाका मुखिया बन्न त खोज्दै छैनन् ? हैन भने अब यिनले आफ्ना सहयात्रीलाई
बुझाउनुपर्ने हो- यो लडाई जातीय राज्यका लागि होइन, जातीय पहिचानको लागि हो
भनेर । पक्कै पनि जेठ १४ अघि जातीय राज्यको अभिलाषामा जति मान्छे तिनका
लागि सडकमा आएका थिए, अब कुरा बुझेपछि त्यति धेरै मान्छे नआउन पनि सक्छन् ।
तर अर्को निश्चित कुरा के पनि हो भने जातीय राज्य र पहिचानको राज्यका
अन्तर बुझेपछि त्यसको बिरोधमा उत्रने चुच्चेनाकहरुको आकार पनि स्वाटसुट्टै
घट्नेछ ।
तर यी महामहिमहरु आजभोलि आफ्ना एजेन्डा के
हुन् भनेर अरुलाई बुझाउने कुरामा बोल्दैनन् । तिनले उ बेलामा जे नगरेर
गल्ती गरिएछ भन्ने सोंचेथे, अहिले त्यो गर्ने जाँगर गर्दैनन्, बरु आङकाजी
पार्टीबाट निकालिदा लौ बर्बाद भो भने जसरी बुर्कुसी मार्छन् । आङकाजीले
उबेला सडकमा निस्केकालाई उग्र बनाउन मेहनत गरेकै हुन्, तर तिनले आन्दोलनको
तीर राज्यसत्ताका चावी ताला लिनेहरुतिर तेस्र्याएनन् उल्टो अर्को जातितिर
सोझ्याइदिए । उतिसाह्रो चर्को विरोधै नआउने कुरालाई विगारेर तिनले एउटा
सिंगो, बलियो, र बहुसंख्यक समुदायलाई आन्दोलनको अगाडि उभ्याइदिए । ती उग्र
जातीय राज्यका पक्षपातिलाई जनजाति महासंघ आफैले कारवाही गर्नुपर्ने थियो,
यदि महासंघ जातीय राज्य नभएर पहिचानको राज्यको पक्षमा भएको भए । अहिले
एमालेबाट खेदिंदा उल्टो तिनको टाउको दुखेको देख्दा पो कतै यिनको मनमा पनि
जातीय राज्यकै आकांक्षा त होइन भन्ने शंका हुन थालेको छ ।