Sunday, June 24, 2012

'जटामासी ? के हो त्यो भनेको ?' - nagariknews


उमेश श्रेष्ठ, काठमाडौँ, असार १०- समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै पाइने एक किसिमको जडिबुटीबारे सोध्यौँ, उनीहरुले नकारात्मक भावले टाउको हल्लाउँदै उल्टै प्रश्न गरे- 'जटामासी ? के हो त्यो भनेको ?'

'तपाईँहरुको भाषामा 'लाप्पेय' भन्छन्,' जटामासीबारे अध्ययन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज पुगेका त्रिभुवन विश्वविद्यालयका लेक्चरर अच्युत तिवारीले स्थानीय तामाङ नाम बताउँदा पनि उनीहरुले चिन्न सकेनन्। 'भुत्ले', अर्को स्थानीय नाम। यो पनि उनीहरुले ठम्याउन सकेनन्।

'यो फोटो हेरेर चिन्नुहुन्छ कि.' त्रिविविमा वनस्पति शास्त्र अध्ययन गरी हाल अमेरिकाको म्यासाच्युसेट्स विश्वविद्यालयबाट पीएचडी गरिरहेका उत्तमबाबु श्रेष्ठले एउटा किताब देखाए। 'फ्लावर्स अफ हिमालयज' नामको पुस्तकमा भएको नार्डोस्टाकिस ग्रान्डीफ्लोरा (जटामासीको वैज्ञानिक नाम) को फोटोलाई नियालेर हेरिसकेपछि पनि उनीहरुले टाउको हल्लाए, 'अहँ, थाहा छैन।'

हामीसँगै आएका स्थानीय गाइड कृष्णकुमार तामाङले आश्वस्त पारे, 'माथि लौरीबिनामा एक जना बूढा बस्छन् सर, उनलाई थाहा हुनुपर्छ।'

चिन्नै छाडिसके स्थानीयले जडिबुटी
जटामासीको उत्पादन कर्णाली क्षेत्रमा बढी हुने गर्छ। तर अध्ययनका लागि सजिलो हुने भएको काठमाडौँबाट नजिकैको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र पुगेको टोलीलाई जटामासी चिन्नेहरु भेट्टाउन समेत गाह्रो पर्‍यो। हिमाली भेगका ३ हजार देखि ४ हजार ५ सय मिटरसम्मको उचाइमा पाइने भनिएकोले जीपीएसले ३ हजार मिटर देखाएको ठाउँदेखि नै हामीले स्थानीय बासिन्दालाई यसबारे सोधिहिँडेका थियौँ। ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा बाह्रैमास पाइने भए पनि यसलाई चिन्ने कोही भेटिएनन्।

'३६ वर्षअघि राष्ट्रिय निकुञ्ज घोषणा गरी संरक्षित क्षेत्र बनाई संकलन गर्न रोक लगाएकोले उपयोग त परै छाडौँ, चिन्न समेत छाडेका हुनसक्छन्,' श्रेष्ठले बताए।

 
के हो जटामासी ?
हेर्दा साधुको जटाजस्तै देखिने भएर नै यसलाई जटामासी भनिएको हो। जमिनभित्र हुने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरुले छोपिराखेको हुन्छ। यही जरा नै औषधिको रुपमा उपयोग हुन्छ।

टुक्रा गरेर सुँघ्ने हो भने यसको गन्ध कडा हुन्छ। यसको पातहरु तलैबाट पलाएको हुन्छ। पातहरु घाँसका पातका आकार तथा भालाका आकार र रौं नभएका हुन्छन्। पातका टुप्पा तिखा हुन्छन्। फूलको एउटै झुप्पा हुन्छ । यो गुलाफी - सेतो रंगको हुन्छ।

यसका औषधीय उपयोगहरु धेरै छन्। यसलाई पानीमा पिसेर लेप लगाउँदा दुखेको निको हुन्छ, विशेष गरी टाउको र छातीको। तागत दिने, पेट दुखेको निको गर्ने, पिसाब गराउने, रजस्वला गराउने औषधीमा पनि यसको प्रयोग गरिन्छ। उच्च रक्तचापका आयुर्वेदिक औषधिमा पनि यसको प्रयोग हुन्छ।

सुगन्धित तेल बनाउन पनि यसको उपयोग हुने गर्छ। 
 


'देखेको छु तर के काम लाग्छ थाहा छैन'
३९०० मिटरको उचाइमा अवस्थित लौरीबिनामा होटल गोसाइकुन्ड बेसक्याम्प चलाइरहेका सञ्चालकले बल्ल चिने जटामासीलाई। 'पछाडि मैले दुई चार वटा रोपेर राखेको छु,' उनले भने। उनका अनुसार यार्चाबाट आएका केही व्यक्तिले बोकेर आएका बेला देखेर उनले हस्तक्षेप गरी खोसेर निकुञ्जका कर्मचारीलाई जिम्मा लगाइदिएका थिए। त्यसैबेला उनले दुई चार वटा बिरुवा होटलपछाडि रोपेका रहेछन्।

यद्यपि उनलाई पनि यसको के उपयोग हुन्छ भन्ने बारे थाहा रहेनछ। उनीमात्रै हैन, अरु पनि जटामासीको उपयोगबारे जान्न लालायित हुन्थे। उनैले बायाँपट्टीको भिरमा जटामासीका बिरुवा प्रशस्तै पाइने जानकारी दिएपछि अध्ययन टोली त्यतै लाग्यो। नभन्दै त्यहाँ प्रशस्त बिरुवा भेटिए जसले अध्ययनलाई सजिलो बनायो।

प्रतिबन्धित छ निकासी
जटामासीको संकलनका लागि सम्बन्धित जिल्ला वन कार्यालयबाट अनुमति लिई रोयल्टी तिरी छुटपूर्जी लिनुपर्छ। तर यसलाई विदेश निकासी गर्न भने प्रतिबन्ध छ। सरकारले वन ऐन २०४९ को दफा ७० क ले दिएको अधिकार प्रयोग गरी जैविक विविधता र वातावरण संरक्षणको प्रयोजनका लागि जटामासी लगायतका वन पैदावरलाई विदेशमा निकासी गर्न प्रतिबन्ध लगाएको हो। तर चोरी निकासी भइरहेको तथ्य समयसमयमा प्रहरीले जटामासी बरामद गरेको समाचारबाट प्रष्ट हुन्छ।

संरक्षणका लागि चालिएको कदमसरह यसको प्रवर्द्धन र उपयोगका लागि कुनै पहल नहुँदा स्थानीय बासिन्दासमेत सरल र सुपथ उपचारका लागि प्रयोग हुने जडिबुटीको प्रयोगबाट अनभिज्ञ छन्। त्यसो त बढ्दो पश्चिमीकरण र सरकारको उदासीन नीतिका कारण एलोपेथिक चिकित्सातर्फ बढेको मोहले आयुर्वेद चिकित्सा पद्धतिलाई नै विस्थापित गरिरहेको यथार्थ पनि हामी सामु छ।

यस्तो ठाउँमा भेटियो जटामासीको बिरुवा।