Wednesday, June 13, 2012

अमेरिका भन्दा नेपाल बढी शान्त - mysansar

केही नेपाली, त्यसमा पनि विदेशमा रहेका नेपालीहरु नेपाल खत्तमै भो भनी चिन्ता गर्ने गर्छन्। तर नेपाल त्यति खत्तम पनि भइसकेको छैन। नेपाल छिमेकी देश चीन र भारतभन्दा मात्र हैन, शक्ति राष्ट्र अमेरिकाभन्दा पनि शान्त छ।
यो तथ्य अमेरिका र अस्ट्रेलियाको संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स २०१२’ मा खुलेको छ। अघिल्लो वर्ष अर्थात् सन् २०११ का १२ महिनाका तथ्याङ्कलाई हेर्दा नेपाल शान्तिको विषयमा अमेरिकाभन्दा ८ अङ्कले माथि रहेको देखाएको हो। १ सय ५८ देश समेटिएको सुचिमा नेपाल ८० नम्बरमा रहेको छ भने अमेरिका ८८ मा। नेपालका छिमेकी देशहरु मध्ये चीन ९० मा छ भने भारत अझ तल १४२ नम्बरमा छ। दक्षिण एसियामा नेपाल दोस्रो शान्त देश हो। सार्कका अरु देशमा बंगलादेश ९१, श्रीलंका १०३, पाकिस्तान १४९ र अफगानिस्तान १५७ औं स्थानमा छन्।
सुचि मुख्यगरी समाजमा सुरक्षा र सुरक्षितताको स्तर नापिन्छ। त्यसमा आन्तरिक तथा बाह्य द्वन्द्व, सामाजिक सुरक्षा सतर्कता, सेनामा गरिने खर्च, सरकारको प्रभावकारिता, विधिको शासन, राजनीतिक संस्कार, भ्रष्टाचार नियन्त्रण, प्रेस स्वतन्त्रता, लगानी मैत्री वातावरण, छिमेकी देशसितको सम्बन्ध आदि २३ वटा विषय पनि थपिन्छ। यिनै सूचकका आधारमा यो सुचि तयार पारिएको हो।
नेपाल सन् २०१० मा ९५ औँ स्थानमा थियो। सन् २००९ मा ८२ औँ स्थानमा थियो भने सन् २००८ मा भने अहिलेभन्दा बढी शान्त अर्थात् ७७ औँ स्थानमा थियो।
सबभन्दा अशान्त देशहरुको टप १० सुचिमा सोमालिया शीर्ष स्थानमा रहेको छ। त्यसपछि अफगानिस्तान, सुडान, इराक, कंगो, रुस, उत्तर कोरिया, मध्य अफ्रिकी गणतन्त्र, इजरायल र पाकिस्तान छ।
शान्त देशको टप १० सुचिमा सबैभन्दा माथि आइसल्यान्ड रहेको छ। त्यसपछि क्रमशः डेनमार्क, न्युजिल्यान्ड, क्यानाडा, जापान, अस्ट्रिया, आयरल्यान्ड, स्लोभेनिया र फिनल्यान्ड रहेका छन्।
समग्रमा हेर्दा विश्व सन् २००९ पछि पहिलो पटक बढी शान्त भएको छ।
तपाईँलाई कस्तो लाग्यो यो सुचि हेर्दा ? हुन पनि सहरमा बस्ने र विदेशमा बस्नेहरु मात्रै के के न हुन आँट्यो भनेर आत्तिने हुन्। गाउँ-गाउँमा त जुनै व्यवस्था आए पनि केही फरक पर्दैन उनीहरुलाई। हेर्नुस् त यो ठाउँ के मतलब यहाँका मानिसलाई राजनीतिक व्यवस्था जे सुकै होस्। बन्दुक बोकेर गाउँगाउँमा तर्साउन नआओस्-यत्ति भए पुगिहाल्यो।
कुन देश कुन स्थानमा पूरा सुचि हेर्नुस्