१० असार, काठमाडौं । नवगठित
नेकपा-माओवादीका अध्यक्ष त वृद्ध नेता मोहन बैद्य ‘किरण’ हुन् तर नयाँ
पार्टीका अधिकांश कार्यकर्ताको आँखा युवा नेता नेत्रविक्रम चन्द
‘विप्लव’माथि छन् ।
पार्टीबाहिर मोहन वैद्य जति छाएका छन,
पार्टीभित्रको संगठन र योजनामा युवा नेता विप्लव हावी छन् । नयाँ पार्टीका
धेरै कार्यकर्ता भन्छन- पार्टीका छायाँ अध्यक्ष विप्लव हुन, जो निकै चाँडो
पार्टीको ‘फर्ष्टमान’ बन्नेछन् ।
नयाँ पार्टीबारे अहिलेसम्म बाहिर आएका
भनाइलाई मान्ने हो भने नयाँ पार्टीका सूत्राधार र योजनाकार नै विप्लव हुन
जसले प्रचण्ड नेतृत्वको माओवादी शान्ति प्रक्रियामा आएदेखि नै नेतृत्वको
कार्यशैलीप्रति विमती राख्दै आए । माओवादी फुट्नुमा जति सैद्धान्तिक कारण
देखिन्छ, त्यो भन्दा धेरै प्रचण्ड र विप्लववीचको व्यक्तित्व टकराव
जिम्मेवार रहेको माओवादी कार्यकर्ता दाबी गर्छन् ।
उनीहरूको दाबी कतिसम्म छ भने विप्लव
भोलिका प्रचण्ड हुन् । प्रचण्ड बन्ने विप्लवको सपनामात्र हैन, प्रचण्डको
त्रास पनि हो । त्यसो भए के विप्लव प्रचण्ड बन्न सक्लान त ? उनी को हुन ?
कस्ता छन र के गर्छन ?
विप्लव नवगठित नेकपा- माओवादीको स्थायी
समिति सदस्य हुन, उनी पुरानै माओवादीमा पनि त्यही हैसियतमा थिए । रोल्पाको
हुनेखाने ठकुरी परिवारमा जन्मेका चन्द प्रचण्डकै बुई चढेर युद्धकालमा निकै
छिटो राजनीतिक भर्याङ चढे । २०५२ सालमा जिल्ला सदस्य रहेका विप्लव ०५५
सालमा एकैचोटी केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्यसम्म पुगे । तर
उनलाई राजनीति सिकाउने र सपथ खुवाउनेहरु अहिले पनि पोलिटब्युरो र केन्द्रीय
समितिका कनिष्ठ सदस्य छन् ।
जनयुद्धका बेला रोल्पा, रुकुमलगायत आधार
क्षेत्रको इन्चार्ज रहेका विप्लव बिद्यार्थी पृष्ठभूमीबाट राजनीतिमा आएका
हुन् । अध्ययनशील, तार्किक र कुटिल स्वभावका विप्लव आफ्नो कुरामा अरुलाई
‘कन्भिन्स’ गर्न प्रचण्ड जस्तै खप्पिस छन् । पार्टीभित्र कुशल संगठकको छवि
बनाएका उनलाई प्रचण्डले अस्वभाविक ढंगले पदोन्नती गर्दै गए । प्रचण्ड
आधारक्षेत्रमा बस्दा उनीहरूबीच अत्यन्तै घनिष्ट सम्बन्ध रहेको र प्रचण्डलाई
बन्दोवस्तीको व्यवस्था गर्ने कामसमेत उनैले गर्ने गरेको बताइन्छ ।
प्रचण्डको निकट बसेर राजनीति गरेका
विप्लवलाई अस्वभाविक प्रगतिसँगै नेतृत्वमा पुग्ने महत्कांक्षा पनि पलायो ।
मोहनविक्रम सिंहजस्तो आर्दश नेतालाई खुल्याउँदै, मोहन वैद्यको बुई चढ्दै
कसरी प्रचण्ड नेतृत्वमा स्थापित भए भन्ने झलझली देखेका विप्लवलाई त्यसैगरी
नेतृत्वमा पुग्न सकिन्छ भन्ने आत्मविश्वास थियो । युवाले पार्टीको नेतृत्व
लिनुपर्छ भन्ने ठान्ने विप्लवले धेरै बैठकहरुमा प्रचण्ड, किरण, बाबुराम र
बादललगायत बूढा नेताले अवकाश लिएर युवालाई नेतृत्व सुम्पिन माग गरेका थिए ।
लामो समय प्रचण्डको विश्वासपात्र रहेका
विप्लव शान्ति प्रक्रियासँगै प्रचण्डको संगतबाट टाढिए । वैद्य पक्षका
नेताहरु शान्ति प्रक्रियामा आएपछि प्रचण्डले विप्लव लगाएतको टीमलाई पाखा
लगाएको बताउँछन् । तर संस्थापन पक्षको दाबी छ- प्रचण्डले अनन्तलाई भन्दा
अघि काठमाडौँको नेतृत्व लिन जनआन्दोलनअघि विप्लवलाई प्रस्ताव गरेका थिए, तर
पेटको समस्या देखाउँदै उनी आउन मानेनन् ।
आफु जस्तै प्रचण्डको बुई चढेर छोटो समयमा
राजनीतिको केन्द्रमा स्थापित अनन्त र विप्लव एक-अर्कालाई प्रतिस्पर्धी
ठान्छन् । त्यसैले कतिपयबेला प्रचण्ड र वैद्य नजिकिँदा कुनै समय अनन्त
बाबुरामसँग नजिकिएको कार्यकर्ताहरु सुनाउँछन् ।
शान्ति प्रक्रियामा आएसँगै प्रचण्डले
विप्लव छाडेर अनन्तलाई काखी च्यापे । शान्तिवार्ता, सेना समायोजन लगायतका
प्रक्रियामा महत्वपूर्ण जिम्मेवारी अनन्तलाई दिए, महत्वपूर्ण मन्त्रालय पनि
उनैले पाउन थाले, अनन्त प्रचण्डका विश्वासपात्रका रूपमा जताततै हावी भए ।
तर, विप्लवलाई भेरी-कणर्ाली क्षेत्रीय ब्युरोको इन्चार्ज बनाएर पश्चिम
पठाइयो । प्रचण्डको ‘कोर टीम’बाट उनी एकाएक बाहिरिए ।
बालाजुमा आयोजित पहिलो विस्तारित बैठकमा
विप्लवले प्रचण्डसहितका नेताको लवाई खवाई, भड्कीलो जीवनशैली र
परिवारमोहमाथि प्रश्न उठाउँदै नेताहरु सुविधाभोगी भएको आरोप लगाए, जुन
कालान्तरमा पुष्टी पनि भयो । भारतीय जेलमा रहेका मोहन वैद्य र सीपी गजुरेल
छुटेलगत्तै विप्लवले सैद्धान्तिक कुरा पनि उठाउन थाले । पार्टी संसदीय
भासमा गएको भन्दै उनले तत्कालै जनविद्रोह हुनुपर्ने तर्क गर्न थाले । जसलाई
राजनीतिक रुपमा मोहन वैद्यले नेतृत्व गरे । संविधानसभा चुनावमा भाग नलिई
विद्रोहमा जानुपर्ने मान्यताका कारण उनी प्रत्यक्ष निर्वाचनमा उठन खोजेनन,
समानुपातिकमा जाने चाहना प्रचण्डले पुरा हुन दिएनन् ।
संविधानसभाबाहिर रहेका विप्लव प्रचण्ड
नेतृत्वको सरकारमा पनि जान मानेनन् । उनको ध्यान राम्रो मन्त्रालयमा जाने
भन्दा पनि कसरी नेतृत्वलाई चुकाएर आफू स्थापित हुन सकिन्छ भन्नेमा
केन्द्रीत भयो । माओवादी नेताहरू एकएक गरी सत्तामा गए, सुविधाभोगी भए ।
सत्ताको स्वाद चाख्न नपाएका तर जीवन हत्केलामा राखेर युद्ध गरेका
कार्यकर्ताहरु निराश हुँदै थिए । त्यही असन्तुष्टीलाई समात्दै उनले संगठनमा
आफ्नो पकड बलियो बनाउँदै लगे । माओवादीका नेताहरु शहरका तारे होटलमा अड्डा
जमाउँदा उनी सामान्य डेरामा प्लाष्टिकका कुर्सी राखेर कार्यकर्तासँग छलफल
गरिरहेका हुन्थे । धेरै कार्यकर्ताले भन्थे- शहरमा आएर विप्लव बिग्रेका
छैनन, उनको जीवनशैली अत्यन्तै सामान्य छ ।’ अहिले पनि उनको जीवनशैली
त्यस्तै सामान्य छ, रवाफ र तडकभडक देखिदैन् । खरिपाटी भेलासम्म आइपुग्दा
विप्लव वैद्य समूहको प्रवक्ता र योजनाकारका रुपमा देखिए ।
गोरखाको पालुङटारमा २०६७ मंसिरमा भएको
छैटौं विस्तारित वैठकमा अध्यक्ष प्रचण्डले विप्लव, अनन्त र टोपबहादुर
रायमाझी लगायतका युवा नेतालाई आफ्नो टीममा सहभागी बनाउन नसकेर गडबढ भएको
भन्दै विप्लवसँगको टकरावलाई वैधानिकता दिए । उनको प्रस्तुतिले लाग्थ्यो-
‘माओवादीमा प्रचण्डपछि कोही नेता छ भने विप्लव नै हुन, जसले पार्टी
बिगार्ने र बनाउने हैसियत राख्न सक्छन् ।’
विप्लवसँगको असमझदारीका कारण पार्टीमा
गडबढी आएकामा विश्वस्त रहेका प्रचण्डले पटकपटक विप्लवलाई फकाउने प्रयास पनि
गरे । पालुङटार बैठकयता पनि प्रचण्ड थुप्रैपटक विप्लवसँग बन्द कोठाभित्र
बसेर ‘तपाई र म नमिले पार्टी बिग्रन्छ, मिलेर पार्टी बचाउँ भनेर अनुनय विनय
गरे । तर, प्रचण्डको ठाउँ लिने दाउ बनाएका विप्लवलाई त्यस्तो आग्रहले छोएन
। उनलाई थाहा थियो- प्रचण्डले तत्कालै आफूलाई पार्टीको उत्तराधिकारी घोषणा
गर्न सक्दैनन, त्यो भन्दा बाँकी लेनदेन उनको प्राथमिकतामा थिएन ।
प्रचण्डले बाबुरामसँग मिलेर शान्ति र
संविधानको कार्यदिशा ल्याएपछि त विप्लव पार्टीभित्र पार्टी, संगठनभित्र
संगठन बनाउने भन्दै देश दौडाहामा लागे र प्रचण्ड-बाबुरामसँग असन्तुष्ट नेता
कार्यकर्ताहरुलाई संगठित गर्दै लगे । पार्टीभित्रै बसेर शक्ति आर्जन गर्ने
र उपयुक्त समयमा पार्टी फुटाउने रणनीतिअनुसार अरु नेतालाई पनि परिचालन
गर्दै लगे । प्रचण्ड आफ्नो चाहनाअनुसार नचलेको र वास्ता नगरेको भन्दै चित्त
दुखाएका मोहन वैद्य, अवसरको लडाई गरिरहेका सीपी गजुरेल, देव गुरुङ र पम्फा
भुसाललगायतका नेताहरुलाई आफ्नो लाइनमा ल्याउन सफल भए । त्यसैको
परिणामस्वरुप बैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको अन्तिम दिन असार ४
गते माओवादी फुट्यो र नेकपा-माओवादी जन्मियो ।
प्रचण्डले मोहन वैद्यको बुई चढेर जसरी
मोहनविक्रम सिंहलाई खुइल्याउँदै आफू नेतृत्वमा स्थापित भए ठीक त्यसैगरी
विप्लवले पनि प्रचण्ड-बाबुरामलाई नङग्याउँदै नेतृत्वमा स्थापित भइसकेका छन्
। विप्लवले चाहेको भए त्यही भेलाबाट पनि पार्टी नेतृत्व लिन सक्थे । तर
उनलाई लागिरहेको छ- अझै केही समय वैद्य, बादल र सीपीहरुको आडमा शक्ति आर्जन
गर्नुपर्छ, ढिलो चाँडो नेतृत्व आफ्नै हातमा आइहाल्छ ।’ हालै उनले
पश्चिमतिरका एक जिल्ला इन्चार्जलाई भनेका थिए- वैद्यले महाधिवेशनमा
जनयुद्धको प्रस्ताव ल्याउन सक्दैनन, मैले जनयुद्धको प्रस्ताव ल्याउँछु,
त्यसबेला फेरि पार्टी फुट्न सक्छ ।’
अहिलेसम्म विप्लवले जे योजना बनाएका थिए
त्यसमा उनी सफल हुँदै गएका छन् । तर आगामी दिन उनका लागि कम चुनौतीपूर्ण
छैनन् । थाकेका जनता, निराश कार्यकर्ता र प्रतिकूल अन्तराष्ट्रिय
परिस्थितिका बीच फेरि जनयुद्ध वा शसस्त्र जनविद्रोह गरेर सत्तामा पुग्ने
उनको योजना पुरा हुने सम्भावना निकै कम छ । तर उनको महत्वकांक्षा र दम्भका
कारण त्यो दुस्साहस चाहिं उनले गर्नेछन् । उनीसित संगत गर्ने नेताहरु
भन्छन- उनमा म शासन गर्न जन्मिएको हुँ भन्ने भूत सवार छ । प्रचण्डले १५
हजार मारेर यो ठाउँमा आइपुगे भने अर्को २० हजार मरेर म नेतृत्वमा आउँछु भने
के फरक पर्छ’ भन्ने दम्भ पनि छ ।
चन्दको स्वभाव नजिकबाट बुझ्नेहरु भन्छन-
प्रचण्डमा रहेका केही स्वभाव चन्दमा पनि छन् । उग्र, अराजक तर केही नयाँ
चिज गरौं भन्ने चलायमान स्वभाव छ उनमा । ख्याल ठट्टटा गर्ने, मानिसलाई
बोलीले प्रभावमा राख्न सक्ने, सबैसँग मिलनसार र नरम भएर कुरा गर्ने तर एक
अर्काको कमजोरी पत्ता लगाएर खेल्न सक्ने कुटिल स्वभाव पनि विप्लवसँग छ ।
विप्लव बाहिरबाट हेर्दा जति निर्दयी र
क्रुर स्वभावका देखिन्छन, भित्र उनी त्यतिकै भावुक स्वभावका पनि छन् । उनी
परिस्थीतिअनुसार आफू पनि रुन र अरुलाई पनि रुवाउन र मान्छेको मनोविज्ञान
बुझेर कुरा गर्न सिपालु छन् । वाक चातुर्यताले अरुलाई आफ्नो वशमा राख्न
सक्छन् ।
विप्लव अहिलेसम्म सानतिना विवादमा
नमुछिएका देखिए पनि युद्धकालमा नेतृ पम्फा भुसालसँगको अस्वाभाविक
सम्बन्धबारे प्रश्न उठेको थियो । तर प्रचण्डले त्यसलाई सामसुम पारिदिए ।
कणर्ाली नदीमाथिका ३ वटा पुल बम पड्काएर भत्काएकामा पार्टीभित्र उनको तीव्र
आलोचना भएको थियो । त्यसमा पनि प्रचण्डको साथ पाएर चोखिन सफल भए ।
प्रत्यक्षरुपमा लडाईमा नभिडे पनि लडाइँमा जान तयार भएका लडाकुलाई अन्तिम
बिदाई गर्दा तत्कालै गएर लडाईमा हामफालेर मरौं भन्ने भावना उत्पन्न गराउने
किसिमले उत्तेजनात्मक अभिव्यक्ति दिने क्षमता थियो ।
यी सवै स्वभावका कारण उनले नेतृत्व क्षमता
त राख्छन तर उनले चाहेको पार्टी र मुलुकको नेतृत्व गर्ने चाहना भने पुरा
हुने सम्भावना देखिदैन् । उनले इतिहास दोहार्याउन खोजेका देखिन्छ जुन
असम्भव छ । चाहे प्रचण्ड गुटका हुन वा बाबुराम गुटका संस्थापन पक्षका नेता
कार्यकर्ताहरु पनि टिप्पणी गर्छन- बिप्लवमा क्षमता छ तर नकरात्मक कामका
लागि खर्च भयो, सकरात्मक कामका लागि उनको उर्जा उपयोग हुन सकेन् ।
पार्टीमा अबसर नपाएकाहरुलाई संगठित गरेका
बिप्लवको टीममा स्वभाविकरुपमा सुबिधामा नफसेका र केही गरौं भन्ने भावना
भएका युवा शक्ति छन् । उनले आज पनि बैद्य, बादल, सीपी र देव गुरुङमा भन्दा
तिनै राज्यसमितिस्तरका जुझारु र अबसरबाट बञ्चित युवाहरुमा भर गरेको देखिन्छ
। तर असन्तुष्टहरुको भीड जम्मा गर्न जति सजिलो छ, उनीहरुको आकांक्षा
ब्यबस्थापन गर्न बिप्लवलाई निकै हम्मेहम्मे पर्नेछ, अहिले प्रचण्डलाई जसरी ।