नविन पोखरेल
लण्डन , असार १० - कमाइसँगै उच्च शिक्षा लिने कल्पना साँचेर करिब तीन वर्षअघि बेलायत ओइरिएका हजारौं विद्यार्थी अन्ततः रित्तो हात स्वदेश फर्कंदै छन् । घर-खेत नै बेचेर लाखौं खर्च गरी बेलायत आएका उनीहरूसँग फर्कंदा हातमा न दाम छ न बेलायती डिग्री नै ।
'लहैलहैमा आइयो, तर यहाँ आएर केही नलिई फर्कनु पर्दा आत्मग्लानि मात्र मनमा छ', यही तीन जुलाईमा फर्कन लागेकी एक छात्राले गुनासो गरिन् । नेपाल फर्केपछि त्यही समाजले आफ्नो प्रगतिको पथमा शून्य उपलब्धि कोट्याउँदा उनलाई हीनताबोध हुनेछ ।
बेलायत सरकारको कडा परिवर्तित अध्यागमन नियम, बढ्दो बेरोजगारी र निजी कलेजले फिका लागि दिने तीव्र दबाब अनि शोषणले नयाँ तथा पुराना विद्यार्थी फर्कने क्रम बढेको हो । यो क्रम जारी छ ।
नेपालीमाझ अत्यन्त परिचित लण्डनस्थित ट्राभल कन्सोल नामक ट्राभल एजेन्सीका प्रबन्ध निर्देशक विराट भट्टको भनाइमा करिब दस महिना यता दैनिक सरदर ८ जना विद्यार्थी वान वे टिकट लिएर नेपाल फर्किरहेका छन् । विद्यार्थीले गतिलो जागिर अभावमा कलेज फि तिर्न र बाँच्न नै सकस भएपछि फर्कनु मात्र विकल्प रहेको बताएको भट्टले जनाए ।
अर्को ट्राभल एजेन्सी देउराली ट्राभलका प्रबन्ध निर्देशक आशीष पन्तले पनि सातामा २० जना विद्यार्थी कहिल्यै नफर्किने गरी नेपाल उडिरहेका बताए । एक वर्ष यता उनको एजेन्सीबाट हजारभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् ।
भिसा सकिएर बढाउने झन्झट नगरी फर्कने विद्यार्थी एकथरि छन् भने अर्कोथरि कलेज बन्द भएपछि नयाँ परिवर्तनको सट्टा भिसा भइन्जेल बस्ने र तेस्रो थरि विद्यार्थीहरु भने भिसा एक दुई वर्ष बाँकी रहे पनि बेलायतमा बस्ने स्थिति सहज नभएपछि फर्कनेहरु छन् ।
पन्तले भने, 'केही विद्यार्थी नेपालमा प्रचार गरिएजस्तो शिक्षा प्रणाली नभएपछि बरु नेपालमै केही गर्न सकिने अठोट लिएर फर्केको पनि देखें ।' पन्तको अनुभवमा खर्च नभएपछि बस स्टपमा दुई रात सुतेर आएका, ५ दिनसम्म कफी मात्र खाएर बाँचेका, फर्कन पैसा नभएर सहयोग याचना गरेका र कलेज व्यवस्थापन अनि घरबेटीले पैसा ताकेता गर्दा सबै त्यागी भागेर आएका विद्यार्थी संख्या पनि फर्कने सूचीमा उल्लेख्य रहेको जानकारी दिए ।
रेडिंगस्थित एभरेष्ट ट्राभलकी सञ्चालिका सुशीला गुरुङले अघिल्लो वर्षसम्म युरोपेली मुलुक छिर्ने विद्यार्थी अत्यधिक भएकामा अचेल त्यता जान समेत कडाइ गरिएपछि सयौं विद्यार्थी नेपाल नै फर्केको बताइन् । 'विचरा काम पनि नहुने, पढाइ पनि नहुने स्थिति भएर धेरै विद्यार्थी टिक्न सकेनन्', उनले भनिन्, 'मेरै क्षेत्रमा नेपालीद्वारा सञ्चालित कलेजका विद्यार्थी समेत धेरै फर्किए ।'
फर्कने अधिकांश विद्यार्थीको कोर्स समेत बीचैमा अलपत्र छ । प्लस टु सकेर यता ओइरिएका विद्यार्थीले कलेज बन्द भएर न यहाँ कोर्स पूरा गर्न पाए न नेपालमै अब गएर पढाइ सक्ने वातावरण बनेको छ । उनीहरू केवल समय बर्बादी भएकामा चिन्तित छन् । 'कलेज सोचेजस्तो भइदिएको भए पढाइ सन्तोषजनक हुन्थ्यो होला तर वास्तविकता त्यो भएन', नेपालमा ए लेभल गरेर आएका प्रदीपकुमार सिंहले भने, 'केही विद्यार्थीले राम्रो नगरेका होइनन् तर समग्रमा रित्तो हात फर्कने विद्यार्थी नै बढी भए ।' तीन वर्ष लण्डनमा बिताएर अब डिसेम्बरतिर खाली हात फर्कनुपर्ने बाध्यताले निराश छन् पौडेल थरका एक विद्यार्थी । 'मुख्य समस्या कोर्स पूरा हुन सकेन' उनले भने, 'महंगो फि तिरेर विश्वविद्यालय जान सकिएन, सस्तो निजी कलेज खोज्दा आफ्नो शैक्षिक भविष्य अन्धकार भयो ।'
तीनवर्ष अघि बेलायत आएका चूडामणि ढकाल पनि छिट्टै फर्कंदै छन् मनमा असंख्य निराशा बोकेर । 'कलेजहरू शैक्षिक संस्थाभन्दा ओभरसिज कम्पनी भए जो पढाउन भन्दा कमाउन मात्र लागे', उनको आक्रोश थियो, 'कलेजकै बेइमानीले हाम्रो यतिका वर्ष बेकारमा खेर गयो । यहाँ आएर न पढ्न सकियो न पैसा कमाउन ।' गत सातामात्र हिथ्रो टर्मिनल फोरबाट आफ्नो दाइभाइलाई विदाइ गरेर फर्किएका ढकालले बन्द भइसकेको कलेजले अझै पनि फि ताकेता गरेर हैरान पारेको समेत बताए ।
निजी कलेजका लाइसेन्स खारेजी, निलम्बन र सरकारको अध्यागमन कडाइले विद्यार्थी फर्कनुको विकल्प नरहेको सोलिसिटर राजु थापाले बताए । भिसा रिफ्युज र युकेबीएको नियम उल्लघन गरी नेपाल फर्काउन लागिएका विद्यार्थीका केस समेत धेरै खेपे उनले । उनी भन्छन्, 'कलेजले दिने आर्थिक दबाब, काम गर्न पाउने अधिकार कटौती, काम नपाउनु र पढ्न भन्दा कमाउने उद्देश्यले लहैलहैमा आएका विद्यार्थी फर्किरहेको देखिन्छ ।'
निरन्तर विद्यार्थी फर्किने क्रमले कलेज सञ्चालनमा समेत कठिनाइ भइरहेको सञ्चालक नरेन्द्र कँडेलको गुनासो छ । भिसा थप्नुपर्ने बेला आएपछि र कलेज बन्द भएका विद्यार्थी फर्किरहेको अनुभव उनीसँग छ । 'सरकारको कडाइले आखिर विद्यार्थी, कलेज र सरकार सबैले हारेको स्थिति छ', उनले भने । बेलायत सरकारले सन् २००९, मार्च ३१ मा खुकुलो टियर फोर व्यवस्था ल्याएपछि नेपालबाट मात्रै करिब २० हजार विद्यार्थी अध्ययनका नाममा बेलायत आएको अनुमान छ । यो व्यवस्थासँगै लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी ओइरिएपछि सरकारलाई त्यही नियम अफापसिद्ध भयो । फलस्वरुप अध्यागमन नियममा भएको दुरुपयोग नियन्त्रण, बेलायतमा अध्यागमन संख्या वृद्धि कटौती र कामको मात्र खोजीमा आएका विद्यार्थीलाई दुरुत्साहित गरी बेलायतको शिक्षा प्रणाली मजबुत, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्य भन्दै नयाँ अध्यागमन नियम सार्वजनिक गर्यो, गत २१ अप्रिल २०११ बाट । यो नियमसँगै निजी कलेजमा अध्ययनरत विद्यार्थी र डिपेन्डेन्ट दुबैलाई काम गर्न प्रतिबन्ध छ भने भिसा पनि सहजै नआउने र थप्दा अंग्रेजी अनिवार्य गरिएको छ ।