८ असार, काठमाडौं । निधारमा रातो टीका,
गलामा सिक्री र माला, साथमा सुन्दर पत्नी । विवाहको यो रमाइलो क्षणमा पनि
हास्यकलाकार हरिवंश आचार्यको मुहारमा त्यति चमक थिएन । ‘खुसी भन्दा बढी
भावुक देखिन्थ्यो हरिको अनुहार’ जन्ती भएर गएका हरिवंशका नजिकका साथी
कलाकार किरण केसीले भने-’समाजले के भन्ला, मैले किन यसो गरें भन्ने खालको
भाव बढी थियो ।’
श्रीमती मिरा आचार्यको निधन भएको डेढ
वर्षपछि बिहीबार दोस्रो विवाह गर्दा हरिवंश त्यति प्रफुल्ल देखिएका थिएनन् ।
मैले कतै गल्ती त गरिरहेको छैन भन्ने भाव उनको अनुहारमा देखिन्थ्यो ।
जन्ती गएका साथीभाइ र इष्टभित्रले ढाडस दिइरहँदा उनले जबर्जस्ती बनावटी
मुस्कान दिएका थिए । ‘हरिवंशमा भन्दा भाउजुको अनुहार अलि बढी उज्यालो
देखिन्थ्यो’ केसीले भने-’अन्माउने बेला त भाउजु धेरै रुनुभयो, हामीले धेरै
सम्झायौं ।’
बुटवलकी
एकल महिला रमिला पाठकसँग कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरेका हुन् ।
ऊबेला मिराको निधन हुँदा हरिवंशको आँखामा देखिएको आँशु र पत्नी वियोगमा
उनले गरेको वेदना सम्झनेहरुलाई यो विवाहले आश्चर्य पनि बनाएको छ । कतिले
पत्नी मिराप्रति हरिवंशले देखाएको माया बनावटी रहेछ, डेढ वर्षमै अर्को
विवाह गर्यो, पुरुषहरु यस्तै हुन्, हरिवंशको शाख गिर्यो भनेर प्रतिकृया
व्यक्त गरेका छन् । तर कतिपयले यसलाई हरिवंशको महान काम भनेका छन् ।
चेतनामुलक टेलिचलचित्रहरुमा विधुवा विवाहको बारेमा सामाजिक सन्देश दिने
कलाकार स्वयंले व्यवहारमा यस्तो देखाउनु उदाहरणीय काम भएको प्रतिकृया पनि
आएको छ । हरिवंशको अनुहारमा देखिएको भाव जस्तै उनले दोस्रो विवाह गरेपछिको
प्रतिकृया पनि यस्तै मिश्रति छ ।
लगन जुराउनै गाह्रो
पत्नी मिरा आचार्यको निधनपछि हरिवंश
साँच्चै विक्षिप्त अवस्थामा पुगेका थिए । मिराको झल्कोले पिरोल्न नछोडेपछि
उनी पुरानो घर छाडेर भक्तपुरको बालकोटमा बस्न पुगे । उनलाई सम्हाल्न
परिवारका सदस्य र आफन्तलाई मात्रै होइन, उनका सहकर्मी कलाकारलाई समेत निकै
हम्मे भयो । ‘मिरा भाउजुको निधनपछि हरिवंशको जीवन साँच्चै अन्धकार भएको
थियो’ किरण केसीले भने-’हामीसित सधैं दुःख मनाउ गथ्र्यो, उसको दुःख देखेर
हामीलाई खपीनसक्नु बनायो ।’
निकै सृजनशील काम गर्ने हरिवंशको यो
अवस्थाले उनका सहकर्मी र परिवारजनलाई निकै दुःखी बनायो । उनका जोडी
मदनकृष्ण श्रेष्ठ झन् बढी तनावमा थिए । मह जोडी निर्मित टेलिचलचित्र र अरु
कार्यक्रममा हरिवंशले नै बढी सृजनात्मक काम गर्थे । त्यसकारण हरिवंशको
सृजना मर्न नदिन र उनलाई सृजनशिल कामको वातावरण बनाउन मदनकृष्णले धेरै
सोचविचार गरे । यस्तै सोचाई बनाउँदै जाँदा मदनकृष्ण र अरु हाँस्य कलाकारको
नजर बुटवलकी रमिला पाठकमा पुग्यो । पाठककी श्रीमानको १० वर्षअघि निधन भएको
थियो ।
हरिवंशलाई थाहा नदिईकन पहिले उनीहरुले
पाठकको परिवारसित कुरा गरे । त्यसपछि हरिवंशसित पनि कुरा भयो । ‘पहिले
हरिवंशले मानेको थिएन, समाजले के भन्छ भन्ने डर थियो ऊसमा’ किरण केसीले
भने-’हामी र परिवारले निकै सम्झायौं, मदन दाइले अझै धेरै सम्झाउनुभयो ।’
हरिवंश दोधारमा परिरहँदा उनका छोराहरु,
परिवार र आफन्त तथा साथीभाइले निकै फकाए । झण्डै ५ महिनाको प्रयासमा मात्र
हरिवंशको दोस्रो विवाह सम्भव भयो । ‘यो विवाह समाज परिवर्तनको एउटा नमूना
पनि हो’ केसीले भने-’यसले हरिवंशको सृजनशिलता फेरि बढ्ने र उसको पारिवारिक
वातावरण राम्रो हुन्छ भन्ने आशा छ, यसो भन्दैमा उसले मिरा भाउजुलाई
बिर्सेको भनेर कदापी मान्न सकिँदैन ।’
समाजको डर हुँदाहुँदै पनि हरिवंशले दोस्रो
विवाह गरेका छन् । उनको यो कदमले जेजस्तो प्रतिकृया उब्जाएपनि यसले
उदाहरणीय काम गर्न भने पक्कै पनि प्रेरित गरेको मान्न सकिन्छ ।