कृष्ण अविरल
१९५ रुपैयाँ तिरेर ‘६० वर्षपछि’ पुस्तक
किन्दासम्म पंक्तिकारले सोचेको थियो, निकै उत्कृष्ट हुनुपर्छ । सके
बेष्टसेलरको गौरवशाली रेकर्ड कायम गर्ने स्तरको । भाषिक शुद्धता र कलात्मक
दृष्टिले पनि चामत्कारिक । साहित्य सिर्जनामा अरुलाई निकै सुन्दर र आकर्षक
सुझाव दिएर ख्याति -कतिपयका दृष्टिमा कुख्याति) कमाएका अनि व्यक्तिगत रुपमा
मन नपरेका युवराज नयाँघरे, डा. ध्रुवचन्द्र गौतमदेखि अमर गिरी, जगदिश
घिमिरेसम्मको उछित्तो काढ्ने ‘चर्चित’ समीक्षक हरि अधिकारीको कृति चानचुने
हुने कुरै भएन । पंक्तिकार उक्त पुस्तकभित्र जव शुरु गर्यो पूरै निराश भयो
। १५४ पेजको उक्त पुस्तक छिचोल्न कम्ती सकस भएन ।
सर्वप्रथम कृति कुन विधाको हो भन्नेमै
पंक्तिकार रनभुल्लमा पर्यो । ‘यस पुस्तकमा संग्रहित गद्य-रचनाहरुलाई
साहित्यमा प्रचलित शास्त्रीय नियमका नजरबाट हेरेर कुन विद्याअन्तर्गत राख्न
सकिन्छ भन्ने विषयलाई लिएर म स्वयम् नै त्यति प्रष्ट हुन सकेको छैन ।’
लेखकीयमा उल्लेख भएको अधिकारीको स्वीकारोक्ति पढेपछि मात्रै पंक्तिकार
प्रष्ट भयो- यो लिंग नछुटि्टएको कृति हो भनेर । ‘धेरै मानिसले सोचेको,
धेरैजसो मानिसले चाहेको र धेरै मान्छेको कल्याण गर्ने विषय अभिलेखन नै मेरा
लागि साहित्य । त्यसैले अत्यन्त निजात्मक अनुभूतिलाई वाणी दिने प्रयत्नमा
लेख्न बस्दा म जहिले पनि त्यस लेखनको वृहत्तर सामाजिक सन्दर्भको पड्ताल
गर्ने प्रयत्नमा हुन्छ ।’ लेखक अधिकारीले लेखकीयमा गर्वसाथ भनेका छन्,
‘एउटा लेखकको हैसियतले नेपाली भाषा साहित्यका पाटकहरुको माझमा म परिचित नै
छु ।’ यति मात्रै होइन, ‘म चर्चित छु’ भन्ने वाक्य पुस्तकका पानामा दर्जन
बढी ठाउँमा भेटिन्छन् ।
वरिष्ठ लेखक अधिकारीले ६० वर्षको जीवनमा
देखेका, भोगेका र गरेका कामका बारेका आत्मप्रशसाहरुको बाहुल्य छ, जसमध्ये
आधा बढी पत्रपत्रिकामा पहिल्यै छापिएका छन् । तर नाम दिएर ती पत्रिकाप्रति र
मिति दिएर पाठकप्रति इमानदारी देखाउने काम कतै गरिएको छैन । लेखकीयमा पनि
कृतज्ञता प्रकट छैन । धेरै संस्मरण दिवांगत भइसकेका चर्चित व्यक्तित्वहरुका
बारेमा छन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, वाशु शशी, भैरव आर्याल
आदिका सन्दर्भ पढ्दा पनि लेखकले ‘म त उहाँहरुजस्ता देशका एकसेएक घघडान
व्यक्तित्वहरुसँग उठबस भएको मान्छे पो हो त ! चानचुने हो र ?’ भन्न खोजेको
हो कि जस्तो लाग्छ । दृष्टि पूर्वाग्रही भयो कि भनेर केही निकटहरुलाई समेत
पढ्न दिएँ । तिनले पनि त्यही निष्कर्ष निकालेपछि मन कटक्क भएर आयो । हरि
अधिकारीजस्ता बरिष्ठ समीक्षकको लेखनमा यस्तो कन्तविजोग हुनु कम दुखदायी
कुरा हो त !
’किसुनजीले भन्न नचाहेका कुरा’मा
किसुनजीसँगको आफ्नो निकटताको बखानसँगै उहाँको आत्मसंस्मरण ‘मेरो म’ र
गणेशमान सिंहको ‘मेरा जीवनका पाना’ लेखिनमा मेरो भूमिका छ भन्ने देखाउन
खोजिएका छन् । ‘बीपीको अभिनन्दनको त्यो कठिन क्षण’ मा बीपीको अभिनन्दनको
आइडिया फुराउने मै हुँ भनेर प्रष्टै भनिएको छ । ‘सभ्यता अझै कंगाल भएको
छैन’मा किसुनजीमाथि भएका घतअन्तर्घातबारे दुनियाँले थाहा पाइराखेकै कुरालाई
पुनःस्मरण गराइएको छ । किसुनजी माथि लेखिएको तेस्रो संस्मरण ‘मरेपछि जसले
जे लेखिदिँदो रहेछ’ मा समाजमा आफ्नो महत्ता स्थापित गर्नका लागि किसुनजीको
प्रसिद्धिको भर्याङ चढ्ने प्रवृत्तिको धुस्नो काढिएको छ । ‘किसुनजीका
बारेमा लेख्ने-बोल्ने कतिपयले यहाँको महानताको बखान गर्ने निहूँमा जसरी
आफ्नो महत्व स्थापित गर्ने पाखण्डी प्रयत्न गरे, त्यसले ती व्यक्तिहरुको
छुद्रतालाई नै नाङ्गो पारेको छ भन्नु पर्छ ।’ अधिकारीले पेज २२ मा लगभग
आक्रोश नै ओकलेका छन् । तर अरुतिर चोर औला ठड्याइरहँदा बाँकी औंलाले कसलाई
इंगित गरिरहेको हुन्छ भन्ने कुरा हेक्का नराखेको देख्दा पाठकलाई आफैँसँग
कुरीकुरी लागेर आउँछ ।
यस्तो कुरीकुरी ‘गणेशमानको चिन्ता’, कवि
मोहन कोइरालामाथि लेखिएको ‘सरल मानिस जटिल कवि’, बाशु शशीबारेको ‘शशीको
त्यो आदेश पालन गरिरहेछु’, रमेश विकलबारेको ‘एउटा कर्मठ श्रष्टाको विषयमा’,
‘भैरव अर्यालको दुःखदायी अन्त्य’, आदि पढ्दा पनि पानैपिच्छे हुन्छ । ‘सरल
मानिस जटिल कवि’ मा त अधिकारीले बिरामी भएर नबाँच्ने अवस्थामा त्यत्रो गुन
गरेको मान्छेले एकेडमीको महत्वपूर्ण पदमा पुगेका बेला सम्झेनन् भनेर गुनासो
छ । ‘मैले कोइरालालाई जटिल मौकाहरुमा ठूलो सहयोग गरेको भए पनि उनी
एकेडमीका महत्वपूर्ण पदहरुमा रहँदा मसँग कहिल्यै कुनै प्रकारको सहकार्य
गरेनन् ।’ अधिकारीले प्रष्ट भाषामा भनेका छन् ।
पुस्तकमा रचनासँग सम्बन्धित रेखाचित्र पनि
राखिएको छ । ‘भूपिको शोकसभा’ शीर्षकको रचनामा भूपिलाई रक्सीको बोतलमा अडेस
लगाएको देखाएर हदैसम्मको हुर्मत लिइएको छ, जुन कुरा साहित्यइतर पाठकलाई
समेत पचाउन मुस्किल पर्छ । ‘कामरेड एमबीसँगको त्यो भेट’ मा वर्तमान
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रजप्रतिको आदरभावलाई पहरेदारीसँग
दाँजेर बेइज्ज्यति गर्ने धृष्टता गरिएको छ । कुनै बेला ‘ताइनतुईका डंगुर
उपन्यास लेख्ने ध्रुवचन्द्र गौतमलाई थानकोटको डाँडो कटाउनु पर्छ’ भनेर
लेखेको पढेका पाठक तथा कुराकानीका सन्दर्भमा जरा उखेलिने गरी कुरा गरेका
शुभचिन्तकहरु यो कृति पढेपछि छक्क पर्छन् । एकपटक मात्र होइन पटकपटक ।
‘ध्रुवचन्द्र : मेरा गुरु, साथी र प्रवर्द्धक’ मा अधिकारीले गरेको डा.
गौतमको नियोजित हो भन्ने खुट्याउन सामान्य पाठकलाई पनि गाह्रो पर्दैन ।
त्यसमा उनले डा. ध्रवचन्द्र साँझको मधुपान कार्यक्रमको अन्तरङ्ग साथी भएको
समेत बताएका छन् । डा. गौतमको मधुपानबारे साहित्य वृत्तमा अनेक किस्सा
कहानी फैलिएको र त्यसमा आफ्नो नामसमेत जोडिने गरेको स्वीकार्दै उनले भनेका
छन्, ‘त्यस्ता किस्सा फैलाउने साथीहरुमा अभिव्यक्तिका सम्पादक नगेन्द्रराज
शर्मा मुख्य हुनुहुन्छ ।’ अधिकारीले शर्माप्रति घुमाउरो भाषामा रिस पनि
पोखेका छन् ।
त्यस्तै ‘मधुपर्कसित गाँसिएका सम्झनाहरु’
मा लेखकले मधुपर्कका सम्पादक नारायणबहादुर सिंहसँग आफ्नो निकटता थियो
भन्ने देखाउनमा बढी शब्द खर्चेका छन् । अनि गर्वसाथ भनेका छन्, ‘कालान्तरमा
सिंहले मलाई मात्र होइन मेरा सिफारिसमा मेरा अनेक साथीलाई पनि मधुपर्कमा
छापिने मौका दिनुभयो जो अहिले प्रतिष्ठित लेखक भएका छन् ।’ यी पंक्ति पढ्दा
अपरिचितलाई सामान्य लागे पनि नजिकका चिनारुहरुलाई हाँसोको फोहरा नै छुट्ने
रहेछ ।
पुस्तक भित्र स्थानीय विकास मन्त्रालयको जागीरे हुँदा भ्रष्टाचारको आरोप लागेर निश्काशित भएको, देउराली पत्रिका निकाल्दा निरीह महिलाहरुको सम्पत्ति डुबाइदिइको, रक्सी र स्त्रीका कारण ठाउँठाउँबाट लखेटिएको जस्ता अधिकारीमाथि आमरुपमा लाग्ने गरेका आरोपबारे प्रष्टीकरण दिने कुनै रचनामा नभए पनि केही निजी रचना भने परेका छन् । तर तिनमा देखिने विरोधाभाष पढ्दा पाठक रनभुल्लमा पर्छ ।
‘आफ्नो र जन्मभूमि कुशादेवीको प्रसङ्गमा’ उनले भनेका छन्, ‘मेरो जीवनको
गोरेटो सोझो, सफा र सजिलोसँग बनेको छैन ।’ फेरि पेज १३६ मा गर्व गरेका छन्,
‘ठाँटबाट पनि कस्तो भने, बिहान त्यतिबेलाको नयाँसडकको नमूद र महँगो
कफीहाउसमा कफीसहितको ब्रेकफाष्ट खाने, नियमित भारतीय पत्रपत्रिका किनेर
पढ्ने र उपत्यकामा त्यतिबेला रहेका चार-पाँचवटा सिनेमा हलहरुमा लाग्ने कुनै
पनि सिनेमा नबिराई बाल्कोनीमा बसेर हेर्ने ।’ आफ्ना पिताका बारेमा पनि
उनले त्यही कुरा दोहर्याएका छन् । ‘अक्षरहरुको सागरमा चुर्लम्म’मा भनेका
छन्, ‘त्यतिबेलाको औसत नेपाली परिवारजस्तै काभ्रे कुशादेवीको अधिकारी थरी
बाहुनहरुको हाम्रो परिवार पनि दाल-भात-डुकुको चक्करमा यसरी रङ्मगिइरहेको
थियो….।’ लगत्तै कुशादेवीमा अंग्रेजी स्कुल खोल्ने पहल गरे भनेर आफ्ना
पितालाई सामाजिक अगुवाको दर्जामा उकालेका छन् । पिताका बखानमा खर्चिएका
कतिपय पंक्तिले पाठकलाई पटकपटक अशोक सुवेदीको झल्को दिलाउँछन् ।पुस्तक भित्र स्थानीय विकास मन्त्रालयको जागीरे हुँदा भ्रष्टाचारको आरोप लागेर निश्काशित भएको, देउराली पत्रिका निकाल्दा निरीह महिलाहरुको सम्पत्ति डुबाइदिइको, रक्सी र स्त्रीका कारण ठाउँठाउँबाट लखेटिएको जस्ता अधिकारीमाथि आमरुपमा लाग्ने गरेका आरोपबारे प्रष्टीकरण दिने कुनै रचनामा नभए पनि केही निजी रचना भने परेका छन् । तर तिनमा देखिने विरोधाभाष पढ्दा पाठक रनभुल्लमा पर्छ ।
पुस्तकमा लिंग नछुट्टिएका रचना पनि परेका छन् । अमेरिका पुर्याइएका शरणार्थीहरुमाथि लेखिएको ‘हाम्रो घर अमेरिका’ शीर्षकको रचना यसको उदाहारण हो । उनको जीवनसँग कुनै साइनो नभएको ‘साहित्यमा २०११’ शीर्षकको नागरिकमा पहिल्यै प्रकाशित रचना पुस्तकको पाना बढाउन राखेका हुन् कि भन्ने लाग्छ । यद्यपि प्रत्येक रचनाको विशेषता एउटै छ, लेखकको आत्मप्रशंसा र आत्मप्रलाप । कमल जोशी, राम प्रधान, वाशु शशी जस्का बारेमा लेख्दा पनि अधिकारीले आत्मप्रशंसा र आत्मप्रलाप छाडेका छैनन् । कतिपयमा उनको दम्भ पनि खुला रुपमै प्रकट भएको छ । रामराज पन्त, ताराप्रसाद जोशी, वासुदेव त्रिपाठी, रोहिणीप्रसाद भट्टराई, धु्रवचन्द्र गौतमजस्ता दिग्गजहरुको शिष्य हुँ भन्ने कुरा पटकपटक दोहर्याएका छन् । तिनै गुरुहरुको सानिध्यका कारण आफू अब्बलकोटीको साहित्यकार भएको दावी गर्दै पेज ४२ मा प्रष्ट भनेका छन्, ‘ती गुरुहरुको सानिध्यका कारण मैले पुस्तकप्रतिको रुचिलाई तीब्र बनाएँ नै, सँगसँगै कमसल किताबको धापबाट बाहिर निस्कन र असल किताब छनोट गर्ने शिप पनि बढाउन सकेँ ।’ आफ्नो बिद्धताको दावीलाई पुष्टि गर्न लेखकले पेज ४६ मा आफूले पढेमध्येका विश्वस्तरका र नेपालीका उत्कृष्ट दश-दश पुस्तकको नाम पनि दिएका छन् ।
तर उनको आत्मप्रशंसाका ती पंक्ति पढिरहने पाठकचाहिँ रनभुल्ल पर्छ- लेखक स्वयम्को यो कृतिचाहिँ असल कमसल कुन कोटिको हो भनेर । ५० वटा शब्दको एउटा वाक्य समेत भएको यो पुस्तकभित्र भाषिक त्रुटी पनि बग्रेल्ती छन् । जस्तो गौतम-गोतम, कहिल्यै-हिल्यै । नामको बीचमा आउने प्रसाद कतै जोडिएको छ, कतै छुट्याइएको छ । काङ्ग्रेस-कांग्रेस, ध्रुवचन्द्र-ध्रबचन्द्र, काभ्रे पलान्चोक-काभ्रेपलान्चोक स्तरका गल्ती पानैपिच्छे भेटिँदा पाठकले भन्छ- आफ्नो कृतिलाई त्रुटिरहित बनाउन नसक्नेले कुन धरातलमा उभिएर अरुका त्रुटि औंल्याउनु ?
आफूलाई बौद्धिक र चर्चित भनाउन मन पराउने यी लेखकले यो समीक्षामा औंल्याइएका कमजोरीलाई स्वीकारेर आफूलाई सुर्धालान् भन्ने अपेक्षा नगरौं । किनकि अरुलाई गाली गर्दा, होच्याउँदा पाइने आनन्द कमजोरी स्वीकार्नुमा हुँदैन । त्यति चेत भइदिएको भए ‘बोक्रे-समीक्षक’ -लेखकको अनुहार र आवरण हेरेर समीक्षा लेख्ने मान्छे)को आरोप उनले उहिल्यै मेटिसक्ने थिए । तर रत्न पुस्तक भण्डारजस्तो स्थापित प्रकाशन गृहले बर्षमा हजारप्रति पनि बिक्न नसक्ने स्तरका यस्ता उपयोगहीन र पत्रु किताब निकाल्नबाट आफूलाई जोगाउन सक्यो भने उसैको भलो हुने छ ।