Friday, June 15, 2012

प्रधानमन्त्रीले पलेंटी कसेर आलु र गुन्द्रुक खाँदा - onlinekhabar

-जयराम लामिछाने
मेरो घर काठमाडौंको झोरमहांकाल गाविसमा पर्छ । म भाडाको मिनी टाटा चलाउने साधारण ड्राइभर हुँ । घरमा आमा, श्रीमती र छोराछोरी छन् । बुधबार बिहान गाउँमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई आउने भन्ने हल्ला चल्यो । राति बास नै बस्नेगरी आउने भनेपछि त्यहीबेला भेट हुन्छ भनेर म आफ्नो नियमित काममा निस्कें ।
दिउँसो बेलैमा घर पुगें । प्रधानमन्त्री आउने भनेर छरछिमेकीहरुमा उत्साह थियो । प्रधानमन्त्रीका केही सहयोगी आएर बेलुका खानेबस्ने ठाउँ कहाँ उचित हुन्छ भनेर हेर्दै गरेका रहेछन् । गाउँमा सबैभन्दा सुरक्षित र राम्रो ठाउँ मेरो घर भनेर सबैले भने । प्रधानमन्त्री सहित १०/१२ जना विशिष्टहरु मेरो घरमा खाना खाने र त्यहीं सुत्ने कुरा भयो । प्रधानमन्त्रीलाई आफ्नो घरमा पाहुना बनाएर राख्न पाउँदा खुशी हुनु स्वभाविकै थियो । त्यसपछि हामी प्रधानमन्त्रीलाई खाना र सुत्ने ठाउँको प्रबन्ध गर्नतिर लाग्यौं । श्रीमती खाना पकाउन लागिन्, मैले सहयोग गरें ।
खाना खानु पहिले गाउँलेसित अन्तक्रिर्या कार्यक्रम भयो । देशको राजनीति र गाउँको समस्याबारे सबैले खुलेर कुरा राखे । मेरो घरमा सानोतिनो भीड नै लागेको थियो । झण्डै दुईघण्टाको अन्तक्रिर्या सकेपछि खाना खाने बेला भयो । प्रधानमन्त्री डा. भट्टराईसँगै उहाँकी धर्मपत्नी हिसिला र अरु केही व्यक्ति पनि थिए । प्रधानमन्त्री आएको भनेर हामीले त्यस्तो ठूलो कुनै व्यवस्था गरेनौं । पहिले जे पाक्थ्यो, त्यही पकायौं । घरकै चामलको भात पकाइएको थियो । आलु र गुन्द्रुकको तरकारी, गोलभेंडाको अचार । दुहुनो नभएकाले दूध, दही र घिउ थिएन । हामीले बाहिरबाट मगाएनौं पनि । जे जस्तो छ, त्यही खाने भनेर उहाँहरुले पहिल्यै भन्नुभएको थियो ।
हामीले जस्तै प्रधानमन्त्री पनि चकटीमै पलेंटी कसेर खाना खान बस्नुभयो । आहा कति मीठो रहेछ भन्दै उहाँले प्रशंसा गर्नुभयो । भात पस्कँदै गरेकी श्रीमती खुशी भएर हाँसिन् । म पनि दंग परें । अन्त त थप्ने गरेको थिईंन, तपाईंले पकाएको खाना निकै मीठो रहेछ भन्दै प्रधानमन्त्रीले थोरै भात थप्नुभयो । उहाँले खानासँगै हाम्रो पनि प्रशंसा गर्नुभयो ।
खाना खाँदै गर्दा प्रधानमन्त्रीले मलाई मेरो काम, पारिवारिक अवस्था र गाउँको बारेमा सोध्नुभयो । श्रीमतीसित पनि भलाकुसारी गर्नुभयो । ९ वर्षकी छोरीसित पनि पढाईको बारेमा सोध्नुभयो । छोरो त सानो छ, ऊसित कुरा गर्नुभएन ।
खाना खाएपछि उहाँ झण्डै ११ बजे सुत्नुभयो । हामी श्रीमान श्रीमती सुत्ने कोठामा उहाँ र हिसिलाको लागि सुत्ने व्यवस्था मिलाएका थियौं । कोठामा दुईवटा खाट छ ।
बिहीबार बिहान उहाँहरु साढे ५ बजे नै उठ्नुभयो । हामीले चियाबिस्कुट खुवाएर बिदा गर्यौं । प्रधानमन्त्रीलाई पाहुनाको रुपमा स्वागत, सत्कार गर्न पाउँदा निकै खुशी लाग्यो ।
-कुराकानीमा आधारित)