Friday, June 22, 2012

४६ वर्षपछि नेपाली गीतमा लता - nagariknews

दीपेन्द्र लामा, काठमाडौं, असार ८- सात दसक भारतीय फिल्म उद्योगमा छाउँदै आएकी सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि तेस्रो नेपाली गीत गाएकी छन्। आनन्द अधिकारी रचित 'फूल भन्छ फुलिरहूँ, जून भन्छ चम्किरहूँ' बोलको गीत लताले तीन साताअघि मुम्बईमा रेकर्ड गराएकी हुन्। मुम्बईको अँधेरी वेस्टस्थित स्वरलता स्टुडियोमा लताले संगीतकार शिखर सन्तोषको कम्पोज रहेको गीत एकल र रामकृष्ण ढकालसँग युगल गरेर दुईपटक गाएकी छन्।
गीतको सबै काम सिध्याएर संगीतकार सन्तोष र गायक रामकृष्ण काठमाडौं आइसकेका छन्।
युगल गीत रामकृष्णको आगामी एल्बम 'बाँचुन्जेल'मा समावेश गर्ने तयारी छ भने एकल गायनलाई चाहिँ कुनै फिल्ममा राखिने सम्भावना रहेको सन्तोषले बताए। लगभग दुई वर्षको मिहिनेतपछि लताले नेपाली गीत गाएकी हुन्।
लताको भदा पर्ने गायक वैजनाथ मंगेशकर र साथी मयुरेसको सहयोगमा गीत रेकर्ड सम्भव भएको सन्तोषले खुलाए। १० वर्षदेखि मुम्बईको संगीत क्षेत्रमा संघर्ष गरिरहेका सन्तोषले सुरुमा लताकहाँ गीतको शब्द र रामकृष्णको गाएको सिडी पठाएका थिए।
'मलाई शब्द, कम्पोज र रामकृष्णको आवाज मन पर्‍यो,' संगीतकार सन्तोषले लतालाई उद्धृत गर्दै भने, 'त्यसपछि राजी भएँ।'
लताले रामकृष्णको आवाजको निकै प्रशंसा गरेको सन्तोषले बताए। स्टुडियोमा दुई घन्टाजति लतासँग दुईजनाबीच कुराकानी भएको थियो।
तत्कालीन राजा महेन्द्रले भ्रमण र सांगीतिक कार्यक्रमको निम्तो दिए पनि अहिलेसम्म नेपाल आउन नसकेकामा ८२ वर्षीया लताले पछुतो मानेको सन्तोषले सुनाए।
सरस्वतीजस्ती गायिकासँग युगल गाउन पाउनु अहोभाग्य भएको रामकृष्णले बताए। 'मैले पाएको यस्तो अवसर भारतका ठूल्ठूला गायकले पनि पाएका छैनन्,' रामकृष्णले भने, 'नेपाली संगीतकै लागि यो गीत एउटा सम्पत्ति बनेको छ।'
लताले २०२३ सालमा रिलिज भएको फिल्म 'माइतीघर'मा मवीवि शाह (तत्कालीन राजा महेन्द्रको साहित्यिक नाम) रचित 'जुन माटोमा मेरो' गीत गाएकी थिइन्। त्यसमा जयदेवको संगीत छ। त्यसलगत्तै उनले शाहकै अर्को गीत भारतीय संगीतकार हेमन्तकुमारको कम्पोजमा मुम्बईमै रेकर्ड गरेकी थिइन्।
३६ भाषामा गाइसकेकी लताले नेपाली संगीतकारको गीत गाएको पहिलोपटक हो। नेपालकै किरण कँडेलले एरेन्ज गरेको गीत 'फूल भन्छ फुलिरहूँ'को रिलिज एक डेढ महिनाभित्र हुने रामकृष्णले बताए।
गीतको रेकर्डिङमा लागेको खर्च दार्जिलिङका मेजर बादल सुब्बा र रामकृष्णले व्यहोरेका छन्। सामान्य नेपाली गीतभन्दा २० गुणाजति महँगो भएको संगीतकार सन्तोषले दाबी गरे।
'लता दिदीले यतिउति भनेर माग्नुभएन, हामीले नै सम्मान गरेर रकम दियौं,' सन्तोषले सुनाए, 'समग्र नेपाली संगीतकै लागि इतिहास हुने भएकाले खर्चमा कञ्जुस्याइँ गरेनौं।' उनले लतालाई पशुपतिनाथको सानो मन्दिर उपहार दिएका छन्।