Saturday, February 9, 2013

प्रधानमन्त्रीको बास बनकरियाको घरमा - onlinekhabar

महिनाको एकपटक जनताको घरमा पुगेर बास बस्ने गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार हेटौंडाको ग्रामीण क्षेत्र बनकरियामा बस्नु भएको छ ।
हेटौडादेखि १५ किलोमिटरको दुरीमा पर्ने हाडीखोला ७ को सोमलाल वनकरियाको घरमा बास बस्नुभएको हो । प्रधानमन्त्रीले नेपालको मौलिक जातिका रूपमा रहेका वनकरिया समुदायको विकासका लागि सरकारले सेवा सुविधा उपलब्ध गराउन प्रतिवद्धता जनाउनुभएको छ ।  अल्पसङ्ख्यक समुदायका रूपमा रहेका वनकरियाहरू अझै पनि जङ्गली कन्दमूल खाएर जिविका चलाउन गर्छन् ।
यसैबीच प्रधानमन्त्रीले सोमलाल वनकरियालाई दुई वटा ब्लाङकेट र १० हजार रुपैयाँ सहयोगस्वरुप प्रदान गर्नुभएको छ । महाधिवेशनस्थल हेटौडाबाटै हाडीखोला पुग्नुभएका प्रधानमन्त्री भट्टराई आजै राजधानी र्फकँदै हुनुहुन्छ ।
को हुन् वनकरिया ?
प्रायः चितवन र मकवानपुर आसपास बोसोबास गर्ने वनकरिया जातिलाई केही समाजशास्त्रीले चोपाङ जातिकै रुपमा हेर्ने गरे पनि ०५९ सालको सूचीकरणले चेपाङभन्दा वनकरियालाई अलग्गै सूचिमा समेटेको छ । यद्यपि डा. ओम गुरुङ्गको कार्यलदले वनकरियालाई चेपाङ (वनकरिया) को रुपमा एउटै जातिमा समेट्न सिफारिस गरेको छ ।
०६८ सालको जनगणनामा चेपाङको संख्या ६८ हजार ३ सय ९९ जना देखाइएको भए पनि १ सय २६ जातजातिमध्ये बनकरियालाई गणनामा देखाइएको छैन । तर, नेपालमा १ सय २३ भाषाभाषीमध्ये जनगणनामा वनकरिया भाषीलाई भने देखाएइएको छ । जनगणना अनुसार नेपालमा वनकरिया भाषा बोल्ने ६९ जनामात्र छन् । अविकसित जातिको सूचिमा रहेको वनकरियालाई चेपाङ अन्तरगत राख्न हुन्छ र हुँदैन भन्नेमा विवाद हुँदे आएको अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादूर बूढाले अनलाइनखबरलाई बताउनुभयो । ‘वनकरिया पनि चेपाङ नै हो । अझै अविकसित जाति हो ।’