Thursday, February 7, 2013

कुन फल खाँदा के फाइदा ? - onlinekhabar

फलफुलको नियमित भोजन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । यद्यपि कुन फलफूलमा कस्तो खालको गुण हुन्छ र त्यसले कस्ता फइदा पूराउँछ भन्ने कुरा सविस्तार थाहा नहुन सक्छ । यहाँ हामीले केही त्यस्ता फलफूलको बारेमा जानकारी प्रस्तुत गरेका छौँ जो हामीहरुको स्वास्थ्यको लागि निकै नै हितकारी छन् :
भनाइ नै छ An apple a day keeps the doctor away अर्थात् दिनको एउटा स्याउ खाएमा डाक्टरकोमा पुग्नु पर्दैन । स्याउमा भिटामिन सीका अलवा एन्टिअक्सिडेन्ट भन्ने तत्व पनि हुन्छ । स्याउको नियमति सेवन गर्ने मानिसलाई ठूलो आन्द्राको क्यान्सर, हृदयाघात जस्ता रोगको खतरा कम हुन्छ ।
स्ट्रबेरी यस्तो फल हो जसको सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता ह्वात्तै बढाउँछ । यसमा बढि मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ र यसले क्यान्सर तथा छिटो बुढ्यौली देखिने जस्ता समस्या दूर गर्छ ।
सुन्तला पनि निकै हितकारी फल हो । हरेक दिन दुइचारवटा सुन्तला खाने मान्छेलाई सित्तिमिती चिसो तथा रुघाले छोप्दैन । साथै सुन्तलाको नियमित सेवनले सरीरमा कोलेस्टेरोलको मात्रा घटाउँछ । मृगौलामा पत्थरी भएका मानिसलाई पनि सुन्तलाको सेवनले फाइदा गर्छ र भने नियमित सुन्तला सेवन गर्दा मृगौलामा पत्थरी जम्ने खतरा कम हुन्छ । साथै सुन्तलाले आन्द्राको क्यान्सर हुने खतरा पनि घटाउँछ ।
त्यस्तै खरभुजा पनि निकै हितकारी फल हो । खरभुजा सरीरमा पानीको आवश्यकता पूर्ति गर्ने राम्रो फल हो । यसमा ९२ प्रतिशत पानी हुन्छ । यसमा पाइने ग्लुटाथियोन नामको तत्वले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । क्यान्सर सँग लड्न मद्दत गर्ने लाइकोपिन नामको एन्टी अक्सिडेन्टको मुख्य श्रोत पनि खरबुजा नै हो । यसमा भिटामिन सी तथा पोटासियम लवण पनि पाइन्छ ।
त्यस्तै मेवा र अम्बा पनि भिटामिन सी को निकै भरपर्दा श्रोत हुन् । अम्बामा प्रसस्तै फाइबर पनि पाइन्छ जसले जसले कब्जियत जस्ता समस्यालाई टाढा भगाएर पाचन प्रक्रियालाई सहज बनाउँछ । त्यस्तै मेवामा क्यारोटिन नामक तत्व हुन्छ जुन आँखाको लागि फाइदाजन हुन्छ ।
यी लगायत प्रायः सबैजसो पहेँला फलफूल भिटामिन ए प्रसस्तै पाइने फल हुन् । साथै सबैजसो फलफूलमा सरीरलाई अत्यावश्यक पौष्टिक तत्व पाइने भएकाले स्वस्थ रहनका लागि फलफूलको नियमित सेवन आवश्यक हुन्छ । तर काँचा फलफूललाई पकाउनका लागि विभिन्न हानिकारक रसायन राखेर पकाएर बजारमा ल्याइएका फलफूलले भने उल्टै सरीरलाई हानी नोक्सानी पूराउँछ । जे होस् बजारबाट किनेर ल्याइसकेपछि केही समय सफा पानीमा डुबाएर राख्ने तथा राम्रोसँग पानीले पखालेर मात्र फलफूल खाने गर्ने हो भने यसरी पकाउन राखिएका विभिन्न रसायनबाट हुने हानी कम हुन्छ ।