Wednesday, February 6, 2013

रामदेवका गुरुको खोजी - ekantipur


baba ramdev
 भारतको सर्वोच्च जाँच एजेन्सी सीबीआईले प्रख्यात योग गुरु बाबा रामदेवको गुरु शंकरदेवको बेपत्ताबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ । रामदेवको शक्ति र पहुँचले हालसम्म यसको निष्पक्ष छानबिन हुन पाइरहेको थिएन । सन् २००७ को जुलाई १४ मा हरिद्वारको कनखल आश्रमबाट स्वामी शंकरदेव  हराएका थिए । अहिलेसम्म रामदेवमाथि नै स्थानीय प्रहरी र प्रशासनलाई प्रभावमा पारेर आफ्नो गुरुलाई बेपत्ता पारेको आरोप लाग्दै आएको छ । स्थानीय प्रहरीले यो विषयको जाँचमा खासै रुचि नदेखाउनुले पनि यो आरोपलाई धेरै हदसम्म पुष्टि गर्दै आएको स्वतन्त्र खबरहरूमा उल्लेख छ ।
बाबाभन्दा राजनीतिक र व्यापारिक छवि भएका रामदेवको धुत्र्याईँका अगाडि टिक्न नसकेपछि उत्तराखण्ड राज्य सरकारले यो घटनाको छानबिनका लागि केन्द्र सरकारलाई गुहारेको हो ।  केन्द्र सरकारले मंगलबार सीबीआईलाई यसको निष्पक्ष छानबिन गरेर अपराधी जो भए पनि कानुनको शासनको दायरामा ल्याउन आदेश दिएको छ ।
योगगुरुभन्दा कपटी राजनीतिको झैं भाषा बोल्नमा कुशल रामदेवले आफूमाथि लागेको आरोपलाई बदनाम गर्ने प्रपञ्च भन्दै परम्परागत ढंगले खण्डन गर्दै आएका छन् । तर, उल्लेखनीय के छ भने उनले वा उनका निकट सहयोगी बालकृष्णले वास्तविकता के हो भन्ने पत्ता लगाउनमा कुनै रुचि देखाएका छैनन् ।
दुवैजनाले वाक्पटुता र राजनीतिक चलखेलद्वारा यो घटनालाई ओझेलमा पार्न वा मुद्दाको फाइल बन्द गराउनमा बढी जोड दिँदै आएका छन् । शंकरदेव बेपत्ता भएपछि रामदेव र बालकृष्णले उनको सबै ट्रस्टमाथि नियन्त्रण जमाएका थिए । सत्य सार्वजनिक हुने डरले रामदेवले यो प्रकरणलाई दबाउन हरेक प्रयास गर्दै आएको स्थानीय समाचारहरूमा भनिएको छ ।