Sunday, February 17, 2013

लादेन मार्नेलाई पछुतो - nayapatrika


न्युयोर्क/ आतंकवादी संगठन अलकायदाले ११ सेप्टेम्बर २००१ मा 'टि्वन टावर' नामबाट परिचित अमेरिकाको सबैभन्दा ठूलो प्रशासनिक भवनलाई चारवटा हेलिकोप्टर ठोक्काएर ध्वस्त बनायो । उक्त हमलामा परी टि्वन टावरभित्र कार्यरत कर्मचारी र सर्वसाधारण गरी झन्डै तीन हजारभन्दा बढीको ज्यान गयो ।
सो घटना अलकायदा प्रमुख ओसामा बिन लादेनले आफ्नो नेतृत्वमा गराएका थिए । त्यही घटनाबाट आतंककारी नेताका रूपमा लादेनले कुख्याति कमाए । बिन लादेनलाई अमेरिकाले नै आतंककारी ट्रेनिङ दिएको चर्चा छ । अमेरिकाले आफ्नोअनुकूल प्रयोग गर्न र परिचालन गर्न उनलाई आतंककारी ट्रेनिङ दिलाएको थियो ।
तर, आफ्नै पालनपोषणमा हुर्किएका बिन लादेनले आतंकवादी संगठन स्थापना गरी टि्वन टावरमाथि आक्रमण गरेपछि अमेरिकाले उनलाई आफ्नो परम शत्रु घोषणा गर्‍यो । अमेरिकाले बिन लादेनको खोजी तीव्र बनायो । करोडौँको खर्च गर्‍यो । लादेनको खोजी गर्ने निहुमा अमेरिकाले अफगानिस्तान र इराकमाथी आक्रमण गरी ध्वस्त बनायो ।
अमेरिकाले त्यस बखत बिन लादेनको टाउकाको मूल्य २.५ करोड डलर तोकेको थियो । दशक लामो तीव्र खोजीपछि २०१२ मा पाकिस्तानको एबोटाबादमा कडा सुरक्षाबीच बसेका बिन लादेनलाई मार्न अमेरिका सफल भयो । लादेनविरुद्धको विशेष कारबाही अमेरिकी राष्ट्रपति बाराक ओबामाले भिडियोमा प्रत्यक्ष हेरिरहेका थिए । जसमा नेभी सिल्ककै 'एसटी सिक्स' नौसैनिक टोली तैनाथ थियो । उनीहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै दशकयता राष्ट्रकै प्रमुख शत्रु ठहराइएका बिन लादेनको हत्या गर्न सफल भए ।
तर, राष्ट्रकै मुख्य शत्रुलाई सिध्याउन प्रमुख भूमिका निर्वाह गरेका ती कमान्डरले सरकारबाट बेवास्तामा परेको गुनासो गरेका छन् । सरकारले सेनाले पाउनेसरहको सुविधा पनि नदिएको ती कमान्डरले बताए । अमेरिकाबाट प्रकाशित हुने 'एस्क्वायर' नामको पत्रिकाका अनुसार लादेनविरुद्धको कारबाहीमा सहभागी पूर्वकमान्डरले पेन्सनसम्म पाएका छैनन् । पत्रिकाले जनाएअनुसार उनीहरूले न त स्वास्थ्य बिमाको सुविधा पाएका छन्, न परिवारको कुनै सुरक्षा व्यवस्था गरिएको छ ।  सुरक्षाकै कारण श्रीमतीसँग पारपाचुके
गर्नुपरेको बताउने ती कमान्डरको नाम पत्रिकाले गोप्य राखेको छ । उनले अन्तर्वार्तामा चौतर्फी सुरक्षाको चिन्ता हँुदा पनि सरकारले सामान्य जीवन बिताउन आग्रह गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सरकार र नीतिगत मामलाका जानकारहरूले भने नौसैनिकका पूर्वकमान्डरको भनाइ झुट भएको बताएका छन् । उनीहरूले कमान्डरको दाबीको खण्डनसमेत गरे । उनीहरूले अफगानिस्तान र इराकमा खटिएका सबै सैनिकलाई पेन्सनपछि पाँच वर्षको स्वास्थ्य बिमा गरिएको बताएका छन् ।
तर, यो समाचार प्रकाशन गर्ने अमेरिकी पत्रिका एस्क्वायरले भने सरकारी भनाइमा कुनै सत्यता नरहेको दाबी गरेको छ । पत्रिकाको दाबी छ- बिन लादेन कारबाहीमा संलग्न कमान्डरले कुनै त्यस्तो सुविधा नपाएको बताएका छन् ।

ट्रक ड्राइभर बन्न प्रस्ताव

अमेरिकी नौसैनिक विशेष फौज 'एसटी सिक्स'ले पाकिस्तानको एबोटाबादमा दशकअघिबाट मुख्य शत्रुका रूपमा चिनिँदै आएका बिन लादेनमाथि गोली प्रहार गरी उनको शव नियन्त्रणमा लिएपछि अमेरिकाले निक्कै हषर्ाेल्लास मनायो । राष्ट्रपति बाराक ओबामाले बिन लादेन मार्न सफल भएको घटनालाई आफ्नो पहिलो कार्यकालको सफल उपलब्धिकै रूपमा चित्रण गरे ।
त्यस अवसरमा राष्ट्रपति ओबामाले एबोटाबादमा लादेनविरुद्ध कारबाहीमा खटिएका विशेष सुरक्षाफौजका सदस्यलाई 'सर्वाेत्कृष्टको पनि उत्तम' भनेका थिए । यस्तै, उपराष्ट्रपति जो बाइदेनले पनि सो टोली विश्व इतिहासमै सर्वश्रेष्ठ भएको दाबी गरेका थिए ।
तर, राष्ट्रकै परम शत्रु लादेनलाई सिध्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने र राष्ट्रपति आफैँले सर्वाेत्कृष्ट कमान्डरका रूपमा प्रशंसा गरिएका 'एसटी सिक्स'का सदस्यलाई अमेरिकाले परिवार र आफन्त छाडेर ट्रक ड्राइभरको सामान्य जीवन जिउन प्रस्ताव गरेको खुलासा भएको छ । एस्क्वायरलाई अन्तर्वार्ता दिएका अमेरिकी नौसैनिकका पूर्वकमान्डरले ट्रक ड्राइभर बन्ने सरकारी प्रस्ताव सार्वजनिक
गरेका हुन् ।
उनीहरूले दिएको अन्तर्वार्ताअनुसार पेन्सन हुने वेला नौसैनिक हेर्ने विभागले केही विशेष व्यवस्थाका लागि पहल गर्ने जनाएको थियो । तर, पछि रक्षा मन्त्रालयले आफ्नो परिवार र श्रीमती छाडेर ट्रक ड्राइभरको जागिर खान तयार भए सोका लागि पहल गर्ने प्रस्ताव ल्याएको थियो । जसमा उनीहरूले सहमति जनाएका छैनन् ।
एस्क्वायरको मार्चको अंकका लागि पत्रकार फिल ब्रास्टिनले दिएको विवरणमा पूर्वकमान्डरले सरकारी बेवास्ताका कारण आफूहरू गुमनाम बस्न रुचाएको बताएका छन् ।


आफैँ सुरक्षाको बन्दोबस्त

पूर्वनौसैनिक कमान्डरले सरकारले आफ्नो र आफ्नो परिवारको सुरक्षामा चासो नदेखाएपछि सुरक्षाको बन्दोबस्त आफैँले गर्नुपरेको बताएका छन् । उनले परिवारको सुरक्षाका लागि आफ्नी श्रीमतीलाई छुरीदेखि बन्दुकसम्म चलाउन सिकाउनुपरेको अन्तर्वार्ता दिएका छन् । साथै, लादेन हत्याबारे राज थाहा पाउने डरले आफ्ना बालबच्चालाई लादेन र उनको हत्याबारेको कुनै प्रसंग ननिकाल्न उनले सचेत गराएका छन् ।
उनले आफ्नो परिवारमाथि जुनसुकै वेला पनि आक्रमण हुने सम्भावना रहेकाले त्यसबाट बच्न पूर्वतयारी गरिरहेको बताए । उनले आफ्नो परिवारका सदस्यलाई बाथरुम र बाथटबमा लुक्न सिकाएको बताएका छन् ।
उनले आफ्नो घरभित्र दुई हप्तासम्म लुकेर बस्न सक्ने व्यवस्था मिलाएको पनि खुलासा गरे । आफ्नो परिवारको अवस्थाप्रति पूर्वनौसैनिक कमान्डरकी श्रीमती पनि चिन्तित रहेको पत्रिकाले जनाएको छ । उनकी पत्नीलाई उद्धृत गर्दै एस्क्वायरले भनेको छ, 'हामी आफ्ना नाम परिवर्तन गर्नेतर्फ सोचिरहेका छौँ, नानीहरूको नाम पनि परिवर्तन गर्नेछौँ, पतिका नेमप्लेट पनि घरबाट हटाउनेछौँ, आफ्नो कार बेच्नेछौँ, म पतिको नाम मेरो जीवनबाटै हटाउन चाहन्छु, यो मात्रै असुरक्षाको कारणले हो ।' तर, पतिसँग आफूले पारपाचुके गरिसकेको बताउने उनले पतिकै मायाले गर्दा अझैसम्म छुट्टएिर बस्न नसकेको बताएकी छिन् । 'हामी अझै एक-अर्कालाई माया गर्छौं, तर हामी असुरक्षित छौँ,' उनले भनिन् ।
अन्तर्वार्ताका क्रममा ती पूर्वनौसैनिकले आफू आफ्ना साथी माट बिसनेटले जस्तै उक्त घटनाका सम्बन्धमा कुनै किताब निकाल्ने पक्षमा नरहेको पनि बताएका छन् । यसअघि बिन लादेन कारबाहीमा सहभागी भएका बिसनेटले 'नो इजी डे' नामक पुस्तक लेखेका थिए । यद्यपि, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको दबाबका कारण उक्त पुस्तक अझै बाहिर आउन सकेको छैन ।
एजेन्सीको सहयोगमा दीपेन्द्र गुरुङ