Sunday, February 17, 2013

सिन्चुवानबाट एक्लै आएर आत्मदाह - ekantipur

तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपालमै गएर आत्मदाह गर्ने एक मात्र उद्देश्यले डोमन डुक्चे तीन हप्ताअघि तातोपानी नाकाबाट छिरेको खुलेको छ । गत बुधबार नाटकीय रूपमा आत्मदाह गर्नुअघि उनले आफूमाथि शंका नहोस् भनेर स्वयम्भूस्थित तिब्बती शरणार्थी शिविरमा अत्यन्त संयमित रूप देखाएका थिए ।
tibet 'उनले त्यस्तो गर्छन् जस्तो लागेको थिएन,' स्वयम्भू शिविरका एक शरणार्थीले प्रहरीसूगको बयानमा भनेका छन्, 'यहाँबाट धर्मशाला गएर पढ्छु भन्थे ।' गत जनवरी २१ मा नेपाल छिरेपछि अध्यागमन विभागमा उपस्थित भई शिविर पुगेका उनले राजधानीस्थित शरणार्थी उच्चायुक्तको कार्यालयबाट परिचयपत्र पनि बनाइसकेका थिए । धर्मशालातर्फको यात्राका लागि उनको कागजात भारतीय दूतावासमा पुगिसकेको थियो । उनी सिन्चुवानबाट नेपाल आएका थिए ।
अन्तर्राष्ट्रिय जगत्मा हल्लिखल्ली हुने गरी नेपालमा पहिलो पटक तिब्बती आत्मदाहको घटना भएको हो । गुप्तचरी संयन्त्रहरूले धर्मशालास्थित अतिवादी तिब्बती युवा समूहको योजनाबाट यो घटना गराइएको तात्कालिक सूचना सरकारलाई दिएका थिए । त्यसका लागि ३० जनाको टोली नेपाल छिरेको पनि बताइएको थियो ।
प्रहरीले डुक्चेको परिचयपत्र फेला पारेपछि त्यसका आधारमा अनुसन्धान गर्दै जाँदा उनको निर्दिष्ट नेपाल मिसनको भेद खुलाएको हो । उनले नेपाल छिरेको केही दिनमै एनसेल सिमकार्ड लिएर मोबाइल चलाएका थिए । उनले बारम्बार चीनमा फोन सम्पर्क गरेको कल रेकर्डमा देखिन्छ ।
करिब २५ वर्षीय डुक्चे एकदमै कम बोल्ने स्वभावका थिए । कसैगरी कुरा खुलेको खण्डमा आफ्नो योजना विफल हुनसक्ने हुँदा उनी गुपचुप बसेको हुनसक्ने अनुसन्धानकर्ता बताउूछन् । डुक्चे चिनियाँ शासनविरुद्ध आत्मदाह गर्ने सन २००९ पछिका १०१ औं तिब्बती हुन् । उनीअघि चीनकै अवा भन्ने प्रान्तमा लोप्साङ नाम्ग्याल भन्ने भिक्षुले सयौं आत्मदाह गरेका थिए ।
डुक्चेले बुधबार बिहान बौद्धनाथ स्तूपा परिसरको एक रेस्टुरेन्टको शौचालयमा छिरेर शरीरमा पेट्रोल खन्याएपछि आगो लगाएका थिए । उनले तेस्रो तलामा रहेको रेस्टुरेन्टबाट झर्नेबित्तिकै सलाई कोरी शरीरमा आगो लगाएर दौडदै स्तूपा परिक्रमा गर्न खोजेका थिए । प्रहरीले बीचमै समाएर आगो निभाएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेका थिए । त्यही रात उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीले तिब्बती प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंमा आत्मदाह हुनसक्ने, धर्मशालाको टोली आएकोलगायत सूचनाका आधारमा त्यस दिन उल्लेख्य प्रहरी परिचालन गरेको थियो । तर चीनबाटै एक्लै पहिलोपटक नेपाल छिरेका तिब्बतीले आत्मदाह गरेको घटनाबाट सुरक्षा निकाय अचम्भित भएका छन् ।