‘विधवा’ भन्ने शब्दले अझै पनि महिलालाई
वाणले जस्तो घोच्छ । कसैले पनि यो शब्द सुन्न चाहँदैनन् । तर विवशताले
कतिलाई विधवा बनाइदिन्छ । सुन्न नसक्ने त्यो अवस्था आफैंले झेल्नुपरेपछि
कस्तो पीडा हुँदो हो, त्यो त भोग्नेलाई मात्र थाहा छ ।
विधवा भएर यस्तै पीडामा झेल्नुपरेका
महिलाहरु संगठित हुन थालेपछि उनीहरुको जीवनमा परिवर्तन आउन थालेको छ । २०५२
सालमा स्थापना भएको मानवअधिकारको लागि महिला, एकल समूहले पीडा भोग्न बाध्य
महिलाहरुको सशक्तिकरणमा काम गर्दै आएको छ । अहिलेसम्म देशभर ८४ हजारभन्दा
बढी महिलाहरु संगठित भैसकेको संस्थाले जनाएको छ ।
संस्थाले हालै राजधानीमा अन्तर्राष्ट्रिय
सम्मेलन गर्यो । सम्मेलनमा बिभिन्न १६ देशका प्रतिनिधिसँगै देशका बिभिन्न
ठाउँबाट एकल महिलाहरु पनि सहभागी थिए । आफ्नो हकअधिकारका विषयमा छलफल गर्न
भेला भएका यिनै महिला प्रतिनिधिहरुसँग अनलाइनखबरले उनीहरुका संर्घषबारे
सोधीखोजी गरेको छ ।
सगोलमा खान पनि दिइएन
-सृजना श्रेष्ठ सिंह, कीर्तिपुर
म
एकल भएको १० वर्ष भयो । त्योबेला म २६ वर्षको मात्रै थिएँ । मेरो श्रीमान
द्वन्द्वकालमा मारिनुभएको हो । पहिले त हाम्रो सामाजिक संरचना नै ठीक थिएन ।
त्यसपछि मलाई त्यो सामाजिक संरचनाले बाँध्यो । श्रीमान मर्नुको पछाडि
श्रीमतीको हात हुन्छ भन्ने कुरीतिले मलाई पनि पीडा थप्यो । कुनै पनि
श्रीमती श्रीमान मरोस् र आफू छिटै बिधवा हुन परोस् भनेर कहिल्यै पनि
चाहँदैन । तर हाम्रो समाजले श्रीमान मर्नुको पछाडि श्रीमतीको हात हो भन्छ ।
मेरो कुरा गर्दा श्रीमानको मृत्युपछि मलाई
खान पनि सगोलमा नदिने काम भयो परिवारबाटै । म मात्रै होइन, मेरो साथमा
रहेका दुई बच्चा पनि भोकै रहनुपर्ने बाध्यता थियो । त्यसपछि म एकल महिला
समूहमा आवद्ध भएँ । सामाजिक संरचनाभित्रका समस्या बुझ्दै गएँ । र मनोबल
बढ्दै गयो । परिवार र समाजलाई पनि सही कुरा बुझाउन सकें ।
अहिले पहिलेको भन्दा निकै परिवर्तन भएको छ
। पहिले सही कुरा भन्दा पनि सुन्दैनथिए । अहिले चाहिँ केही काम गर्नुभन्दा
पहिले मलाई पनि सोधपुछ गर्छन् । परिवार मात्र होइन, अहिले म काठमाडौं
जिल्लाको एकल महिलाको अध्यक्ष भएर पुरै समाज र जिल्लामै परिवर्तन ल्याउने
कोशिशमा लागेकी छु ।
आत्मबल बढेको छ
-टीकेश्वरी हमाल, अध्यक्ष एकल महिला सुदूरपश्चिम क्षेत्रीय सञ्जाल अध्यक्ष
मेरो
घर कैलाली धनगढीमा पर्छ । मेरो उमेर ४८ वर्ष भयो । २०६१ सालमा मेरो
श्रीमानको निधन भयो । त्यतिबेला एकल हुने बित्तिकै मेरो यही नै अन्तिम
अवस्था हो जस्तो लाग्थ्यो । जीवन नै सकियो जस्तो लाग्थ्यो । त्यतिबेला
समाजको व्यवहार हेर्दा त निकै दुःखलाग्दो थियो । आफूले रोजेको लुगा लगाउन
नपाउने, सेतो लगाउनुपथ्र्यो । कसैले शुभकार्य गर्न लागेको छ भने त्यहाँ जान
बन्देज थियो । गएमा उनीहरुले के भन्लान् जस्तो लाग्ने भएर जान सकिँदैनथियो
। समाजले भनोस् कि नभनोस्, पहिले नै आफ्नो आत्माले यो त गर्न हुँदैन, म त
बिधवा पो जस्तो लाग्थ्यो ।
परिवारबाट समस्या थिएन । किनकी सासुससुरा
हुनुहुन्नथियो । श्रीमानको मृत्युपछि म नै घरको मूली भएँ । तर छरछिमेकीबाट
डर लाग्ने । अहिले त परिवर्तन भएको छ ।
एकल महिला समूहमा लागेर शुरुमा हामीले
रातो लगाउने अभियान थाल्यौं । रातो लगाउँदा समाजले अनौठो मान्यो । कसरी
परिवर्तन भयो एक्कासी भन्ने उनीहरुलाई भयो । तपाईंको उमेर रातो टीका लगाउने
खालको थियो र, किन लगाउनुभएको भनेर पनि भने । मलाई रहर लाग्यो लगाएँ भनेर
जवाफ दिन्थें ।
अहिले मलाई समाजले कस्तो रुपमा हेर्छ
भन्दा पनि म चाहिँ परिवर्तन भएको छु भनेर हेर्ने गरेको छु । मलाई आत्मबल
बढेको छ । म एकल हो, समाजले के भन्छ भनेर डर लाग्दैन । म एकल भएर के भयो त,
म मानव भएकाले सबै अधिकार पाउनुपर्छ भन्ने मात्र लाग्छ । अहिले मेरो
आत्मबल बढेको छ ।
रातो लगाउन थालेपछि सन्तुष्ट
-शशीदेवी भट्ट, काठमाडौं धर्मस्थली :
म अहिले ३८ वर्षकी भएँ । चार वर्षदेखि म
एकल भएकी छु । त्योबेला मेरो अवस्था निकै नाजुक थियो । परिवार र समाजले
हेर्ने दृष्टिकोण नै अर्कै थियो । कतै गयो भने, कसैसित गयो भने आक्षेप
लगाइने गरिन्थ्यो ।
अहिले त पहिलेको भन्दा धेरै परिवर्तन आएको
छ । अहिले नि भन्न त भन्छन् । तर एकल महिला समूहमा लागेको रहेछ, यसरी काम
गरेर हिँड्दीरहेछ भन्छन् ।
पहिले जस्तो अहिले म सेतो कपडा लगाउँदिन ।
आफूलाई मन परेको लगाउँछु । पहिले यसो गर्न सकिँदैनथियो । थोरै रातो
मिसिएको कपडा पनि लगाउन नपाइने, रातो टीका लगाउन नपाउने थियो ।
अहिले समूहमा लागेपछि रातो लगाउने अभियान
नै चल्यो । रातो लगाउन थालेपछि सन्तुष्ट छु । सबै कुराको आनन्द भएको छ ।
रातो लगाउन थालेपछि सुखी छु, म एकल छैन जस्तो लाग्दोरहेछ ।
अनुहार हेर्दा साइत पर्दैन भने
-सीता श्रेष्ठ, अध्यक्ष एकल महिला समूह नवलपरासी :
मेरो घर जिल्ला सदरमुकाम परासीमै पर्छ ।
मेरो उमेर ५१ वर्ष भयो । श्रीमान बित्नुभएको त २० वर्ष भैसक्यो ।
त्यतिबेलाको अवस्था त निकै दर्दनाक थियो । त्यो क्षण र पीडा कहिल्यै पनि
भुल्न सकिँदैन ।
श्रीमान हुँदा घरबाट लक्षिणको बुहारी भनेर
निकै सम्मान गरिन्थ्यो । हाम्रो अनुहार नहेरी बाहिर हिँड्न हुँदैन भन्ने
गर्नुहुन्थ्यो । तर श्रीमानको मृत्यु लगत्तै अर्कै नजरले हेर्न थालियो ।
यसको अनुहार हेरेर कतै काममा गयो भने साइत पर्दैन भनेर र्फकनेसम्म पनि भयो ।
त्यो क्षण सम्झँदा निकै दुःख लाग्छ ।
अहिले संगठित भएर आफूजस्तै
दिदीबहिनीहरुसँग हिँड्दा आत्मबल बढ्न थालेको छ । अरु दिदीबहिनीहरुलाई यस्तो
अवस्था आउन नदिन आफू पनि लागेको छु । रोएर मात्रै समस्या समाधान हुँदैन ।
आफू भित्रैबाट आत्मबल निकाल्न सक्नुपर्छ । आफ्नो लागि नभएर छोराछोरीको लागि
पनि बाँच्नुपर्छ ।
२० वर्षअघि हामीलाई एकल भन्ने पनि थाहा
थिएन । विधवाको रुपमा नै चिनिन्थ्यो । रातो कपडा र टीका लगाउन हुन्न भन्ने
थियो । सेतो लुगा लगाएर बाहिर हिँड्दा अरुले गर्ने व्यवहार र नजर फरक पाइने
रैछ । अहिले रातो लगाउन थालेपछि ती सबै पीडा हटेको छ ।
शुरुवात आफैंबाट गर्न पर्ने रैछ ।
जिल्लामा रहेका हामी एकल महिलाले यसैगरी रातो टीका अभियान थाल्यौं । अहिले
हाम्रो जीवनस्तरमा पनि परिवर्तन आएको छ ।
अहिले सरकारले विधवा भत्ता त दिने गरेको छ
। तर त्यति मात्रै पर्याप्त होइन । राज्यले हामी र हाम्रो बालबच्चाको लागि
आवश्यक सरसहयोग गर्नुपर्छ । हामीलाई रासनकार्डको व्यवस्था होस् । यातायात र
स्वास्थ्य सेवामा सहुलियत होस् भन्ने सरकारसँग माग गर्न चाहन्छौं ।
फेरि त्यो दिन सम्झन्न चाहन्न
-यामकुमारी ढकाल, अध्यक्ष एकल महिला समूह दाङ :
मेरो
श्रीमान बितेको २० वर्ष भैसक्यो । एकल भएको ५ वर्षसम्म त मैले सेतो नै
लगाएँ । त्योबेला कति दुःख र पीडा भोग्नुपर्यो त्यो अहिले सम्झन पनि चाहन्न
। अहिले हामी परिवर्तनको संवाहककेा रुपमा अघि बढिरहेको अवस्था छ । पहिले
एकल हुँदा र अहिलेको अवस्थासम्म आइपुग्दाको फरक त केही नहोला । तर अहिले
आशा निकै पलाएको छ ।
मान्छेलाई बाँच्नको लागि सबैभन्दा ठूलो
अधिकारको चाहिने रहेछ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत
अधिकार प्राप्त भयो भने महिलाहरु आत्मनिर्भर हुन्छन् । आत्मनिर्भर भएपछि
उनीहरुले आफ्नै ढंगले केही गर्न सक्छन् ।
ग्रामिण भेगमा जाने हो भने अझै पनि
परिवर्तन भएको अवस्था छैन । तैपनि केही त परिवर्तन भएको छ । एकल महिलाहरुले
आफ्नो हक, अधिकारको आवाज उठाइसकेका छन् । एकल महिलालाई हेलाहोचो गर्दा
कसैले केही भन्लान् कि भनेर सचेत हुनेहरु पनि छन् । जे होस् पहिलेको भन्दा
अहिले अवस्थामा परिवर्तन आएको छ ।
एकल महिलाहरुको लागि सरकार र संघसंस्थाले
पनि काम गरेका छन् । तर अझै यसलाई बढाउनुपर्ने खाँचो छ । महिलालाई अझै
अधिकारसँगै आत्मनिर्भर बनाउन जरुरी छ । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर
दिनुपर्ने खाँचो छ ।