Sunday, February 17, 2013

इमेल ह्याक हुनबाट कसरी जोगाउने ? - onlinekhabar

आफ्नो इमेल ह्याक भएर दुख पाउने वा हण्डर खानेहरु धेरै छन् । कहिलेकाहीँ आफ्नै लापरवाहीका कारण कसैले पासवर्ड थाहा पाएर इमेल ह्याक गरिदिन्छ र कहिलेकाहीँ यसमा पेसेवर ह्याकरको समेत हात हुन्छ ।
आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्ने चाहना सबैमा हुन्छ तर यसको लागि सबैमा सावधानी र अक्कल पुगिरहेको हुँदैन । सानो सावधानीले मात्र पनि आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्न र आफ्ना गोप्य व्यक्तिगत सूचनाहरु चोरी हुन नदिन ठूलो सघाउ पुग्ने सूचना प्रविधि विज्ञहरु बताउँछन् ।
न्यूजिल्याण्डस्थित सूचना प्रविधि व्यवसायीहरुको एक संस्थाका मुख्य कार्यकारी पाउल म्याथ्युजका अनुसार यस्ता केही टिप्सहरु छन् जसलाई अपनाइयो भने इमेल ह्याक हुने खतरालाई घटाउन सकिन्छ । यी टिप्सहरु निम्न छन् ः
इमेल अकाउण्ट खोलेर त्यसमा गर्नुपर्ने काम सकाइसकेपछि अकाउण्ट लगआउट गर्न नबिर्सनुहोस् । लग आउट नगरी ब्राउजर बन्द गरेर मात्र हिड्नु हुँदैन । यसो गर्दा अरु कसैले ब्राउजर खोलेर इमेलमा लगअन गर्दा तपाइँको इमेल अकाउण्ट खुल्नसक्छ । र अपरिचितले तपाइँको इमेल अकाउण्टमा मनपरी गर्नसक्छ र ह्याक पनि गर्नसक्छ ।
तपाइँले इमेल चलाइरहेको बेलामा कसैले च्याट वा अरु माध्यमबाट तपाइँको इमेल ह्याक गर्ने मनसायले पासवर्ड जान्ने प्रयास गरिरहेको शंका लागेको छ भने सिधै लगआउट गरिहाल्नुहोस् ।
इमेलको लगइन डिटेल सेभ गर्नका लागि कहिल्यैपनि रिमेम्बर मी जस्ता बटन क्लिक नगर्नुहोस् । चाहे आफ्नै व्यक्तिगत कम्प्युटर किन नहोस् आफ्नो युजर नेम र पासवर्ड सिधै आउने गरी ‘रिमेम्बर मी’ भन्ने अप्सन एक्टिभेट गर्नु हुँदैन । यसो गर्दा अरु कसैले इमेल खोल्न खोज्दा सिधै तपाइँको इमेल लगअन गर्न सक्छ ।
आफ्नो इनबक्समा आएका नचाहिने वा अनौठा लाग्दा इमेल डिलिट गरिहाल्नुहोस् । यस्ता इमेल ह्याकरका पनि हुन सक्छन् र ती इमेल खोलेर त्यहाँ भने मुताविक गर्दै जाँदा तपाइँको पासवर्ड लिक हुने मात्र होइन अन्य प्रकारले ठगिन पनि सक्नुहुन्छ ।
कुनै वेबसाइटमा आफ्नो विवरण दिनुपर्यो भने त्यो आधिकारिक हो भन्ने ढुक्क नभइकन कहिल्यैपनि आफ्नो इमेल पासवर्ड लगायतका पूरा विवरण नदिनुहोस् ।
स्पाम मेलमा आएका लिंकमा क्लिक गर्ने तथा त्यहाँका इमेल ठेगाना र फोन नम्बरमा सम्पर्क गर्ने जस्ता काम पनि नगर्दा राम्रो हुन्छ ।
आफ्नो इमेल ठेगाना ह्याक हुने खतरा ठान्नुभएको छ भने तुरुन्तै पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । आफ्नो पासवर्ड छान्दा पनि अरुले झ्वाट्टै भेउ पाउने खालको नछान्नुहोस् । अंक र अक्षर मिलाएर बनाएको पासवर्ड बढि सुरक्षित हुन्छ ।