Tuesday, February 5, 2013

पाँच खर्बको सम्पत्ती सम्हाल्दै ३१ वर्षे रोसनी - bizmandu

मुम्बई । भारतको चौंथो ठूलो आइटी कम्पनी एचसिएलको जिम्मेवारी ३१ वर्षकी रोसनी नादरको हातमा आउने भएको छ । सन् २००९ देखि कम्पनीको सिईओ तथा कार्यकारी निर्देशक रहेकी रोसनी केही समयपछि कम्पनीको अध्यक्ष समेत बन्नेछिन् । एचसिएल चार खर्ब ८० अर्ब  भारु बजार पुँजीकरण भएको कम्पनी हो।

एचसिएल कर्पोरेशन रोसनीका पिता शिव नादरले खडा गरेका हुन्, रोसनी शिव नादरको सम्पत्तीको एक्लो हकदार हुन् । अवश्य पनि अध्यक्षमा रोसनी आउने छिन्, तर अहिले त्यस विषयमा कुनै प्रक्रिया अघि बढेको छैन्, नादरको अवकासको मिति तय भएको छैन्, एचसिएलको कर्पोरेट स्ट्राटेजीका अध्यक्ष शौरभ अधिकारीले बताए ।
एचसिएलको व्यवस्थापक र कर्मचारीको अवकाससम्वन्धी स्पष्ट नीति छ, तर होल्डिङ कम्पनी एचसिएल कर्पोरेशनमा यससम्वन्धी कुनै कानून तय गरिएको छैन्, उनले भने । एचसिएल कर्पोरेशनको पूर्ण स्वामित्व शिव नादर, श्रीमती किरण र छोरी रोसनीका नाममा रहेको छ । एचसिएल कर्पोरेशन भारतको स्टकमा सूचिकृत एचसिएल टेक्नोलोजीज र एचसिएल इन्फोसिस्टमको होल्डिङ कम्पनी हो । एचसिएल टेक्नोलोजी भारतको चौथो ठूलो आइटी कम्पनी हो भने एचसिएल इन्फोसिस्टम कम्पनीले आइटी हार्डवेयरको काम गर्दछ । स्टकमा सूचिकृत दुई कम्पनीको व्यवस्थापन रोसनीले व्यवसायिक ढंगले सम्हालिरहेको भन्दै उनको प्रशंसा हुने गरेको छ ।
रोसनीले केल्लोग विश्वविद्यालयबाट एमबीए गरेकी छन्, उनले अहिले यो कम्पनीको वित्त र सञ्चालन हेर्छिन भने उनले लगानीसम्वन्धी निर्णय पनि गर्छिन् । अध्यक्षका रुपमा बाबु शिवले कम्पनीको दृष्टिकोण विकास गर्छन्, त्यसबाहेक उनी समाजसेवामा क्रियाशिल रहन्छन् । यस अघि नै उनले आफ्नो सम्पत्तीको १० प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन् ।


रोसनीका पिता शिव नादर आफ्नो फाउण्डेशनले सञ्चालन गरिरहेको विद्यालयमा

शिव नादरसँग सन् २०१२ सम्म साढे छ अर्ब अमेरिकी डलरको व्याक्तिगत सम्पत्ती छ । कुनै बेला अरुको कम्पनीमा काम गर्ने नादरले इलेक्ट्रिल र इलेक्ट्रोनिक्स इन्जिनियरहरुसँग मिलेर डिजिटल क्यालकुलेटर बेच्ने कम्पनी माइक्रोकम्प सुरु गरेका थिए । पछि सन् १९७६ मा उनले एक लाख ८७ हजार भारुमा एचसिएलको सुरुवात गरेका हुन् ।
रोसनीले नभम्वर २००९ मा दश वर्ष पुरानो चिनजानलाई विवाहमा बदल्ने निर्णय गरेकी थिइन् । उनले शिखर मल्होत्रासँग विवाह गरेपछि अहिले चार महिनाको एक छोरी छन् । विवाह अघि शिखर भने होंडा कम्पनीको डिष्ट्रिव्युटर थिए, विवाहपछि उनलाई एचसिएल कर्पोरेशनका निर्देशक तथा बोर्ड मेम्वर बनाइएको छ,  त्यसैगरी उनी शिव नादर फाउन्डेशनका ट्रष्टि र शिव नादर स्कुलका सिईओ पनि बनाइएको छ । यी दुईको बिहे त्यतिवेलाका क्याविनेट मन्त्री कमलनाथको बंगलामा भएको थियो ।
शिव नादर एजुकेशन प्रोजेक्टले उत्तर प्रदेशको बुलंदशहरमा विद्या ज्ञान स्कुल सञ्चालन गर्दछ । यो स्कुलले पाँच कक्षामा प्रथम हुने विद्यार्थीहरुलाई जम्मा गरेर शिक्षा दिन्छ, उनीहरुले त्यही स्कुलकै होस्टेलमा निशुल्क राखिन्छ । शिव नादरले यस्तै परियोजना नोयडा र गुडगावँमा सञ्चालन गरेको छ भने चेन्नईमा एसएसएन कलेज अफ इन्जिनियरिंग चलाइरहेको छ ।